कानुनी राज नहुँदा… -बबिता बस्नेत

कानुनी राज नहुँदा… -बबिता बस्नेत


ड्ड माइक्रोबसको ड्राइभरले बद्मासी गर्दा जब ट्राफिक प्रहरीले लाइसेन्स लिए उसले सोही माइक्रोबसले किचेर मार्ने उद्देश्यले ती प्रहरीलाई लखेट्यो, अनेक प्रयासपछि उनी बाँच्न सफल भए ।
ड्ड बुटवलमा केही महिलाको समूहले अर्की एक महिलालाई रक्सी खाएको र परपुरुषसँग लागेको आरोपमा मोसो दलेर अपमानपूर्वक व्यवहार गरे, परिणामत: उनले आत्महत्या गरिन् ।
ड्ड धरानबाट संखुवासभा जाँदै गर्दा एकजना आनीको बसभित्रै सामूहिक बलात्कार भयो, बलात्कारीलाई छुटाउन कसले को कसरी लाग्ने हो यसै भन्न सकिने अवस्था छैन ।
ड्ड सानातिना घटनामै कहिलेकाहीँ दिनभरि राजमार्ग बन्द गरिन्छ, बिरामी बोकेर हिँडेका एम्बुलेन्सहरू बाटामै थुनिन्छन्, बचाउनका लागि घरबाट हिँडाइएको बिरामीको बाटोमै देहान्त हुन्छ । मानिसको ज्यान नै गएपछि जिम्मेवार को हो भन्ने कुराले के अर्थ राख्छ र ?
ड्ड गाउँमा धाक, धम्की र कुटपिटका अनेक घटना हुन्छन्, त्यसप्रकारका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्छ तर कारबाही गर्न सक्दैन, कारण राजनीतिक दबाब । पक्राउ पर्ने व्यक्ति कुनै न कुनै राजनीतिक दलको कार्यकर्ता हुन्छ, व्यापक दबाब आएपछि त्यस्ता व्यक्तिलाई बिनाकारबाही छोड्नका लागि प्रहरी बाध्य हुन्छ ।
यी यस्ता केही ससाना प्रतिनिधि घटना हुन्, जसले यो मुलुकमा कानुनको पालना नहुँदा भइरहेका कुरालाई इङ्गित गर्छ । यीभन्दा धेरै ठूला-ठूला घटना छन्, जहाँ दण्डहीनताले मात्रै प्रश्रय पाएका छन् । मुलुकमा सङ्क्रमणकाल बढ्दै जाँदा कानुनको पालना अत्यन्त फितलो हुँदै गएको छ । जसले जे गरे पनि हुन्छ भन्ने मानसिकता बन्दै जानु भनेको असफल राष्ट्रका लागि पूर्वतयारी हो ।
कुटपिट र मौखिक दर्ुर्व्यवहारको त कुरै नगरौँ, कसैको हत्या गर्दा पनि हत्यारालाई कारबाही गर भनेर यहाँ नारा जुलुस नै गर्नुपर्ने अवस्था छ । बाटोमा कोसँग के भएको हुन्छ, विषय र सर्न्दर्भ के हो सम्बन्धित मान्छेलाई थाहा पनि हुँदैन तर उसको गाडी जलिसकेको हुन्छ । हरेक कुरामा मुढेबलको संस्कृति मौलाउँदै जाँदा कानुनी शासनका कुराहरू गौण बन्दै गएका छन् । बुटवलको घटनालाई लिऔँ, जनजागरण महिला समूहमा भएका महिलाले समाज सुधारका नाममा अर्की महिलालाई यति अपमान गरे कि उनले आत्महत्याको बाटो रोजिन् । यदि यो मुलुकमा कानुनी शासनको अलिकति पनि आभास पाएकी भए उनले आत्महत्या होइन, आफ्नो अपमान गर्ने ती परपीडकविरुद्ध कानुनी लडाइँ लड्ने थिइन् । यो घटनाले गाउँ-गाउँमा गठन भएका र हुँदै गरेका महिला समूह महिलाका हितका निम्ति हुन्छन् भन्ने मान्यतालाई तोडिदिएको छ । थापामगर परिवारकी ती महिलाको संस्कृतिमा जाँड-रक्सी खानुलाई त्यति धेरै आपत्तिजनक मानिँदैन । यदि उनले खाएर समाजमा आपत्तिजनक कार्य नै गरेकी भए पनि सुधारका निम्ति सो महिला समूहले दुईवटा कार्य गर्न सक्थ्यो, जनजागरण नामको त्यो महिला समूह ती महिलाको अवस्थाप्रति अलिकति मात्रै पनि संवेदनशील बनेको भए उनलाई सम्झाइबुझाई सुधारगृहमा लगेर राख्न सक्थ्यो । र, अर्को ती ‘समाज सुधारक’हरूलाई रक्सीको कुलतको सिकार भइसकेकी ती महिलामाथि कारबाही नै हुनुपर्छ भन्ने लागेको भए प्रहरीलाई उजुर गर्न सक्थे । कानुनी राजमा कुनै पनि नाममा कसैलाई अपमान गर्ने र कुटपिट गर्ने अधिकार कसैलाई पनि हुँदैन, चाहे तिनीहरू जेसुकै उद्देश्यले खुलेका समूह हुन् या गठन भएका जत्था । यदि सार्वजनिक रूपमा कुनै असर परेको छैन भने जसले जे खाए पनि, जे गरे पनि उसको व्यक्तिगत जीवनमा दख्खल दिने अधिकार पनि कसैलाई छैन । प्रत्येक दिनजस्तै सडकमा कति मानिस रक्सीले मातेर कराउँदै सुत्नेहरूको न्रि्रा खल्बल्याइरहेका हुन्छन्, प्रत्येक साँझजस्तै कति लोग्नेले रक्सी खाएर स्वास्नी पिटिरहेका हुन्छन्, रक्सी खाएको के कुरा नखाइकनै पनि कति पुरुष परस्त्रीसँग छन्, त्यस्ता कुराहरूमा ध्यान नदिएको यो महिला समूहले कुलतमा फसेकी महिलालाई निशाना बनायो । आफ्नो अपमान सहन नसकेर उनले आत्महत्या गरिन्, नेपालको महिला आन्दोलनको इतिहासमा यो कहिल्यै मेट्न नसकिने कलङ्क हो ।
यस्तै आनीमाथि भएको सामूहिक बलात्कार अर्को कलङ्क हो जुन घटनाका कारण एउटी भिक्षुणी शारीरिक मात्र नभएर मानसिक रूपमै विक्षिप्त हुन पुगिन् । बद्नामीका अनेक पाटाहरू त छँदै थिए, यो घटनापछि नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा भिक्षुणीसमेत बलात्कृत हुने देशमा गनिएको छ । बसभित्र भएको बलात्कारका कारण बसलाई नियन्त्रणमा लिनु स्वाभाविक थिथो, बसलाई प्रहरीले नियन्त्रणमा लिएको भनी यस्तो जघन्य अपराधमा पनि अपराधीलाई छायामा पार्नेगरी यातायात व्यवसायीहरूले यातायात सेवा ठप्प पारे, बन्द-हड्ताल गरे । यो मुलुकमा अलिकति मात्रै कानुनी राज र मानवीय मूल्य-मान्यता हुँदो हो त व्यवसायीहरूले अपराधी पक्राउ गर्नका लागि मद्दत गर्नुपथ्र्यो न कि बस छोड्नका लागि दबाब । दण्डहीनतालाई प्रश्रय दिने यस्ता घटनामा वृद्धि भइरहेका कारण अराजकता बढ्दै गएको छ ।
भ्रष्टाचारमा अराजकता हाम्रो मुलुकको अर्को समस्या हो । सुडान काण्डमा भ्रष्टाचारीमाथि कारबाही भएकोजस्तो देखिए पनि मुख्य पात्रहरूलाई पन्छाएर सहायक या निमित्त पात्रहरूलाई मात्र सजायको भागीदार बनाइएको छ । यो देशमा सबैभन्दा ठूलो भ्रष्टाचारी त कर्मचारीहरू नै हुन्, सरकारी काम पैसाबिना हुनै छोडेको छ । चालीस रुपैयाँ लाग्ने जग्गाको तिरो तिर्न दुई सय रुपैयाँ घुस खुवाउनेहरू धेरै छन्, पैसा नतिरी कामै नहुने भएपछि पटक-पटक धाउनुभन्दा बरु पैसा दिएर चाँडै गरूँ भन्ने संस्कृति स्थापित हुँदै गएको छ । बिजुलीको अभावमा लोडसेडिङ खपिरहँदा विद्युत् उत्पादनसँग सम्बन्धित कतिपय पदाधिकारीहरू भने घुस थोरै भएकाले परियोजना लागू गर्न नसकिने तर्क गरिरहेका हुन्छन् । कुनै पनि सरकारी काम गर्नका लागि घुस खुवाउनुपर्ने अवस्था छ, अन्यथा नलिइयोस् मधेसी समुदायका कर्मचारी भएको ठाउँमा त झन् पैसाबिना कुनै पनि काम नहुने अनुभव मधेसी समुदायकै मानिसहरूमा छ । यदि कानुनी शासन हुँदो हो त यस प्रकारको अराजकताले ठाउँ पाउने थिएन । नेतृत्व वर्गको ध्यानदृष्टि केवल सत्ता प्राप्तिमा सीमित भइदिँदा कानुनको शासन विस्थापित हुँदै गएको छ । राजनीतिका नाममा नेतृत्वले जे पनि गरिदिँदा यो अवस्थाको सिर्जना भएको हो । नीति, नियम र कानुनको पालना गर्नु नागरिक कर्तव्य पनि हो, देशलाई असफल राष्ट्र हुनबाट बचाउन कानुनी शासन पालनाका लागि नेतृत्व वर्ग र नागरिक सबै उत्तरदायी बन्न आवश्यक छ । व्यक्ति या दल असफल भए सफलताका लागि अन्य रोजाइहरू हुन सक्छन् तर मुलुक नै असफल भए कहाँ जाने ?