थाई प्रहरीद्वारा एक टन क्रिस्टल मेट बरामद

थाई प्रहरीद्वारा एक टन क्रिस्टल मेट बरामद


थाई अधिकारीहरूले मुलुकमा अहिलेसम्मको सबैभन्दा ठूलो अवैध लागुऔषध बरामदमा एक टन क्रिस्टर मेथामफेटामाइन फेला पारेको प्रहरीले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा दुई करोड ५० लाख डलरभन्दा धेरैको अनुमानित मूल्यको उक्त सामान अधिकारीहरूले शुक्रबार मध्य नाखोन नायोक प्रान्तमा एउटा पिकअप ट्रकलाई रोक्दा फेला पारेका थिए ।

कार्यवाहक राष्ट्रिय प्रहरी प्रमुख किथारथ पुनपेचका अनुसार प्रहरी, सेना र स्थानीय अधिकारीले धेरै तस्करी गिरोहको निगरानी गरिरहेको र ठूलो मात्रामा लागुऔषध स्थानान्तरण गर्ने योजना थाहा पाएका थिए । उक्त लागुऔषधलाई सामान्यतया सडक नाम ‘आइस’ भनिन्छ ।

ट्रकमा लागुऔषधको ४० वटा ब्याग पाइएको र तिनीहरूको तौल कूल एक टन रहेको किथारथले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । ट्रकचालकलाई पक्राउ गरिएको छ, तर अनुसन्धानकर्ताहरूका अनुसार तस्करीको नेटवर्कका प्रमुख छिमेकी मुलुकमा बस्ने थाई नागरिक हुन् ।

उत्तरी थाइल्यान्ड, लाओस र म्यान्मा जोडिएको कथित ‘गोल्डेन ट्र्याङ्गल’ क्षेत्रमा उत्पादित अवैध लागुऔषधका लागि उक्त प्रान्त प्रमुख ट्रान्जिट मार्ग हो । म्यान्मा एम्फाटामाइनको प्रमुख स्रोत हो । यसको अधिकांश उत्पादन जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले नियन्त्रण गरेको सीमावर्ती क्षेत्रहरूमा अवैध प्रयोगशालाहरूमा गरिन्छ ।