भुकम्पपीडित विद्यार्थीलाई सोलार वितरण

भुकम्पपीडित विद्यार्थीलाई सोलार वितरण


दाङस्थित तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत जाजरकोट र पश्चिम रुकुमका विद्यार्थीहरुलाई सोलार वितरण गरिएको छ । भुकम्पले घरमा क्षति गरेर बत्ति नभएका विद्यार्थीलाई लक्षित गरेर सोलार वितरण गरिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । सो कलेजमा अध्ययनरत २३ जना विद्यार्थीलाई सोलार वितरण गरिएको हो ।

‘भुकम्पमा परेर घरमा बिजुली नभएका विद्यार्थीहरुलाई अध्ययन गर्नमा असहजता नहोस् भन्नका लागि सहयोग गरिएको हो’, कलेज प्रमुख आचार्यले भने ।

सोलार वितरण कार्यक्रममा बोल्दै आर्ट अफ लिभिङका प्रोजेक्ट म्यानेजर किशोर कुमार झाले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई मध्यनजर गरेर सोलार वितरणमा सहयोग गरिएको जानकारी दिए । उनले प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालयहरुलाई प्रोजेक्टमार्फत सहयोग गरिएको पनि बताए ।

कार्यक्रममा माध्यमिक विद्यालय सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, गोरखा मावि तुलसीपुरका प्रधानाध्यापक विजय जिएम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।