यी पात्र हुन् अधिनायकवादका अगुवा !

यी पात्र हुन् अधिनायकवादका अगुवा !


■ देवप्रकाश त्रिपाठी

सामान्यत: तानाशाह भन्नेबित्तिकै विधिविधान, प्रक्रिया र प्रणालीलाई भत्काएर कुनै शक्तिका आडमा अचानक राज्यसत्ताको केन्द्रबिन्दुमा प्रकट हुने पात्रलाई बुझिन्छ । सत्तालाई गन्तव्य ठान्ने र सत्तामा रहिरहनका लागि जस्तोसुकै हथकण्डा अपनाउन पनि तत्पर प्रवृत्तिलाई तानाशाही प्रवृत्ति भनिन्छ । तानाशाहको उदय अपर्झ र अनियमित किसिमबाट मात्र हुने गर्दैन, विधि, प्रक्रिया र प्रणालीकै सहारा लिएर पनि संसारमा कैयन मानिसले कुख्यात तानाशाहको परिचय बनाएका छन् । हिटलरदेखि मार्कोस हुँदै रोबर्ट मुगाबेसम्मका शासकहरूलाई विधि-प्रक्रियाभित्रैबाट जन्मिएका तानाशाहका रूपमा लिइन्छ । श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्षे पनि त्यस्तै कोटिका एक नयाँ तानाशाहका रूपमा अघि बढ्नसक्ने सम्भावनाका सङ्केतहरू देखिएका छन् ।

कुनै पनि व्यक्ति तानाशाह बन्ने या नबन्ने भन्ने कुराको निर्धारण तीन कुराहरूले गर्छन् । व्यक्तिमा निहित सत्ता र शक्तिप्रतिको मोह र महत्वाकाङ्क्षाको मात्राले ऊ तानाशाह बन्ने खालको हो या होइन भन्ने कुराको स्पष्ट सङ्केत गर्दछ । जो मानिस सत्ताका प्रति ‘क्रेजी’ हुन्छ र सत्तामा पुगेपछि टिकिरहन नैतिक-अनैतिक सबै किसिमका हथकण्डा अपनाउन तत्पर रहन्छ, त्यो पात्रमा तानाशाह बन्न सक्ने गुण (कि अवगुण ?) छ भनेर बुझनुपर्दछ, तानाशाह बन्ने या नबन्ने भन्ने कुराको पहिलो सङ्केत यसैले गर्दछ । दोस्रो, त्यस पात्रमा विशिष्ट प्रतिभा र क्षमता हुनुपर्छ, जसका कारण दुनियाँलाई प्रभावित गर्न या ‘बेवकुफ’ बनाउने सामर्थ्य प्रस्तुत गर्न सकियोस् । गलतलाई सही र सहीलाई गलत देखाउन सक्ने जादुगरी क्षमता हुने मानिस मात्र तानाशाहका रूपमा एउटा सफल पात्र बन्न सक्दछ । तेस्रो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हो, व्यक्ति जतिसुकै महत्वाकाङ्क्षी एवम् प्रतिभाशाली भए पनि यदि देशभित्र र बाहिरको परिस्थिति अनुकूल छैन भने उसलाई तानाशाह बन्ने अवसर प्राप्त नहुन सक्छ । परिस्थिति प्रतिकूल रहेका अवस्थामा शासक बन्न खोज्ने व्यक्तिको हालत लखन थापाकै जस्तो हुनसक्छ । परिस्थिति अनुकूल या उपयुक्त भएको अवस्थामा मात्र व्यक्तिले मौकाको लाभ उठाउँदै आफूलाई सत्ता केन्द्रमा पुर्‍याउन र टिकाउन सक्छ ।

सिङ्गापुरका ली क्वान यू सर्वस्वीकृत एउटा प्रक्रियाद्वारा शासनारुढ भएका हुन् र उनले आफ्नो कार्यकालमा देशका निम्ति उदाहरणीय योगदान पुर्‍याएका थिए । तर, ली क्वानको आचरण र कार्यशैली प्रजातान्त्रिक नभएको, बरु उनी एक तानाशाह नै भएको ठानिन्छ । फिलिपिन्सका मार्कोसले पनि विधिसम्मत ढङ्गले सत्ता प्राप्त गरेका हुन्, फिलिपिन्समा उनी चुनाव गराइरहन्थे, तर आफैं जितिरहन्थे । विधि र स्वीकृत प्रक्रियाद्वारा सत्तामा पुगेका मानिस पनि तानाशाह बन्न सक्छन् भन्ने कुराको एउटा उदाहरण मार्कोस बनेका छन् । जिम्बाबेका रोबर्ट मुगाबे अर्का त्यस्ता पात्र हुन् जो विधिसम्मत प्रक्रियाहरूलाई पछ्याउँदै एउटा खतरनाक तानाशाह बन्न पुगेका हुन् । श्रीलङ्कामा पनि वैधानिक आवरणमा अधिनायकवादी शासन सुरुवात भइसकेका सङ्केतहरू प्राप्त हुँदै छन् ।

विश्वको धेरै ठूलो हिस्साले अस्वीकृत गरेको व्यक्तित्व हिटलर पनि विधिसम्मत ढङ्गले सत्तामा पुगेपछि खतरनाक तानाशाहमा रूपान्तरित भएका हुन् । कम्युनिस्टहरूचाहिँ विचारले नै अधिनायकवादी हुन् । सर्वहारावर्गको अधिनायकवादी शासन उनीहरूको विचार-दर्शन हो, सर्वहाराको नाममा कम्युनिस्ट पार्टीको (एकदलीय) र पार्टीको नाममा एउटा व्यक्तिविशेषको अधिनायकवादलाई स्वीकार गर्ने विचारर्-दर्शनलाई समेट्न सक्ने मान्छे मात्र कम्युनिस्ट बन्ने हो । माओत्से तुङदेखि फिडेल क्यास्त्रो र स्तालिनदेखि किम जोङ इलसम्मका तानाशाहहरू एउटा विचार-दर्शनलाई साधन बनाएर शासक बन्न सफल भएका हुन् । एकपटक धक्का दिएर स्थापित शासन प्रणाली भत्काउने र आफू सत्तामा पुगिसकेपछि क्रमश: राज्य सञ्चालन प्रक्रियाका सबै संयन्त्रबाट विपरीत विचारलाई निषेध गर्दै जाने र अन्तत: देशबाट अन्य विचार-अस्तित्वलाई सम्पूर्ण रूपले निर्मूल गर्ने अवधारणा कम्युनिस्टहरूको हुन्छ ।

फ्रेन्च मोडलको ‘क्रान्ति प्रक्रिया’लाई रसियाले अपनाएन, लेनिनले सहरी विद्रोहमा मुख्य जोड दिएका थिए भने माओत्से तुङले सशस्त्र युद्ध र गाउँले सहर घेर्ने नीति अवलम्बन गरेर राज्यसत्ता हात पारेका थिए । सशस्त्र युद्धको जगमा उभिएर गाउँले सहर घेर्ने र क्रान्ति सम्पन्न गर्ने पेरूका गोञ्जालोको सपना कहिल्यै विपना बन्न नसक्ने गरी विर्सजन भयो । उनी नराम्रोसँग असफल भए । गोञ्जालोको असफलतासँगै नेपालका माओवादीले उनलाई हुबहु अनुशरण गर्ने सोच बदले । पहिले माक्र्सवाद, लेनिनवाद, माओवाद र गोञ्जालो विचारधारालाई मार्गदर्शक सिद्धान्त बनाएका नेपाली माओवादीहरूले गोञ्जालोको गिरफ्तारीसँगै गोञ्जालो विचारधाराको अवधारणालाई तिलाञ्जली दियो र ‘प्रचण्डपथ’ भन्ने नयाँ मार्गदर्शनको आविष्कार गर्‍यो । अहिले ‘प्रचण्डपथ’ नामक नीतिको औपचारिक रूपमा अन्त्येष्टि भइसकेको छ, तर सबैलाई उपयोग गर्दै वैधानिक प्रक्रियाहरूलाई पछ्याएर ‘क्रान्ति’ सम्पन्न गर्ने सोच भने यथावत् राखिएको छ ।

प्रचण्डहरूले वि.सं. २०५२ सालमा हिंसात्मक युद्ध सुरु गर्दा नेपालमा कुनै अधिनायकवादी शासन-सत्ता थिएन, बरु भर्खरै प्राप्त प्रजातन्त्र छैटौँ वर्ष पूरा गर्ने क्रममा थियो । प्रजातन्त्रका विरुद्ध युद्धको अगुवाइ गर्नेबाट प्रजातन्त्रको संरक्षण हुन्छ कि अधिनायकवादको भन्ने विषयमा नेपाली जनता भ्रमित देखिए । चितुवाले खरायोको रक्षा गर्छ भन्ने सोच्नु र प्रचण्डले लोकतन्त्र संस्थागत एवम् सुदृढ तुल्याउँछन् भनेर आशा गर्नुका बीच तात्विक अन्तर नरहेको सत्य बुझन नेपाली जनताले सकिरहेका छैनन् ।

प्रचण्डले नेपाली मोडलको क्रान्ति भनेको अरू केही नभएर राज्यसंयन्त्रको उपयोग, विपरीत विचारका पात्रहरूलाई विभिन्न ढङ्गले प्रयोग र संवैधानिक प्रक्रियाहरूलाई पछ्याउँदै राज्यसत्तामा आफ्नो सम्पूर्ण नियन्त्रण कायम गर्ने भन्ने नै हो । विभिन्न चरणमा भएका सम्झौताहरूको कार्यान्वयनमा उदासीनता दर्शाउनु, लडाकु र हतियार व्यवस्थापन गर्न आनाकानी गर्नु, अन्य दलका नेता आकारका पात्रमध्ये कहिले कसलाई त कहिले कसलाई प्रयोग गर्ने खेल खेलिरहनु, राज्यसत्तामा पकड मजबुत बनाउँदै लैजान प्रयास गर्नु, द्वन्द्वकालमा लुटिएका सम्पत्ति सम्बन्धित पक्षलाई फिर्ता गर्न नचाहनु र क्रान्ति सम्पन्न हुन त बाँकी नै छ भनी नेताहरूबाट सार्वजनिक अभिव्यक्ति आउनुले माओवादीको नियतमाथि प्रश्न उठाउने ठाउँ दिएको छ । तर, देशमा तानाशाही अधिनायकवादी शासन सत्ता स्थापना हुन सहज देखिँदैन । खासगरी माओवादी पार्टीको अधिनायकवाद स्थापना हुन मुस्किल छ, तर प्रचण्डको अधिनायकवाद भने अहिले पनि असम्भव भन्न सकिँदैन । किनभने प्रचण्डमा एउटा तानाशाहमा हुने सबै प्रकारका गुण या अवगुणहरू देखिन्छन् । परिस्थिति मात्र उनको प्रतिकूल भइदिएको हुनाले उनलाई सफलता प्राप्त हुन सकिरहेको छैन ।

नेपाली राजनीतिका शीर्ष तहमा क्रियाशील नेताहरूको व्यक्तिगत चरित्र, सोच, कार्यशैली महत्वाकाङ्क्षा र अन्य क्षमताहरूको विश्लेषण गर्दा सुशील कोइराला, रामचन्द्र पौडेल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालमा तानाशाह बन्ने ‘क्षमता’ देखिँदैन । उनीहरूमा त्यस्तो प्रकारको चाहना भएजस्तो पनि लाग्दैन । झलनाथ खनालमा अधिनायकवादलाई सहयोग पुर्‍याउन सक्ने योग्यता देखिए पनि आफैं तानाशाह बन्नसक्ने क्षमता भने उनमा देखिँदैन । माओवादी अध्यक्ष प्रचण्ड र काङ्ग्रेसका शेरबहादुर देउवामा देखिने सत्ताप्रतिको मोह र अति महत्वाकाङ्क्षा तथा सत्ता र शक्तिका निम्ति जस्तोसुकै पात्र र विषयसँग पनि सम्झौता गर्न सक्ने प्रवृत्तिले उनीहरू सदासर्वदा सत्ता पाउन र सत्तामा टिकिरहन चाहन्छन् भन्ने देखाउँछ । प्रचण्डमा जस्तो देउवामा ‘हो’ लाई ‘होइन’ या ‘होइन’ लाई ‘हो’ बनाउनसक्ने क्षमता नरहेको सबैमा जाहेर छ ।

अस्पष्ट बोली र अप्रभावी प्रस्तुतिले देउवालाई सोझो र सरल व्यक्ति भन्ने सङ्केत दिन्छ, तर देउवाले आफ्नो यही अप्रभावी चरित्रलाई प्रभावकारी ढङ्गले उपयोग गर्दै सदा सत्तामा रहिरहन प्रयास गर्ने गरेका छन् । त्यसैले देउवामा सतप्रतिशत सत्तालिप्सा भए पनि उनी चाँडै नै अलोकप्रिय हुने र सत्ताबाट खेदिन सक्ने सम्भावना रहिरहन्छ । तर, प्रचण्डले अब सत्ता पाए भने उनलाई सत्ताबाट बाहिर पुर्‍याउन देशले धेरै ठूलो सङ्घर्ष र दबाब सिर्जना गर्नुपर्ने हुन्छ । तेइस वर्षदेखि पार्टीको सम्पूर्ण सत्ता र शक्ति प्रयोग गर्दै आएका प्रचण्डसँग पार्टी सत्ताको अंश खोज्न मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलहरूले यसपालि धेरै ठूलो सङ्घर्ष गर्नुपर्‍यो । किरणको निगाहमा प्राप्त गरेको पार्टीको मुखिया पद जोगाउन प्रचण्डले जुन ड्रि्रीको तिकडम गरे, भविष्यमा राज्यसत्ताकै मुखिया हुने मौका पुन: पाएछन् भने उनले सबैलाई कसरी सताउन सक्छन् भन्ने कुराको सङ्केत त्यसैबाट मिलेको छ । त्यसमाथि उनले माओवाद र हिंसात्मक सङ्घर्षको जुन आड पाएका छन् त्यसले उनलाई अधिनायकवादी बन्न थप प्रेरित गरेको छ ।

माओवादी कम्युनिस्ट बलियो भएको मुलुकमा मानिस बेग्लै चेतनास्तरका हुन्छन् । त्यस्ता देशका बासिन्दा एकोहोरो स्वभावका हुन्छन्, खुब बोल्न सक्छन्, कम्युनिस्ट विचारको पक्षपोषण गर्दै तर्क गर्ने क्षमता पनि उनीहरूमा विकास भएको हुन्छ, जतिसुकै असन्तुष्टि भए पनि कुरा लुकाउन सक्ने क्षमतामा त उनीहरू अब्बल नै मानिन्छन् । भोकै बस्नुपर्दा देशका लागि, पार्टी र परिवर्तनका लागि भन्ने ठान्छन्, केही प्राप्त हुँदा त्यसको सम्पूर्ण जस (यश) पार्टीलाई दिन्छन् । पार्टी र त्यसको विचारका पक्षमा बोल्न सक्नुलाई चेतनास्तर वृद्धि भएको मानिन्छ, साम्यवादी विचारबाहिरको विश्वप्रति घृणा र आक्रोशको मात्रामा वृद्धि हुँदै जानुलाई व्यक्तिमा निखार आएको रूपमा लिइन्छ । पार्टी र क्रान्तिका नाममा जुनसुकै स्तरको अपराध गर्न पनि छुट दिइने हुँदा कम्युनिस्ट समाजका मानिसमा कुन अपराध हो र कुन राजनीति हो- छुट्याउन सक्ने वास्तविक क्षमताको अभाव हुन्छ । पार्टी र क्रान्तिका लागि गरिनेबाहेक बाँकी सबै कर्म नाजायज या कम महत्वका हुन् भन्ने बुझाइ उनीहरूमा हुन्छ । यसप्रकारको ‘अवस्था-व्यवस्थाको रक्षा’ अधीनायकवादले मात्र गर्न सक्छ, जुन क्षमता प्रचण्डमा देखिएको छ ।

मानिसमा विद्यमान तानाशाही या अधिनायकवादी प्रवृत्ति विभिन्न ढङ्गले प्रकट हुन्छन् । विधिअनुसार चल्न नखोज्नु, आफूअनुकूल विधि निर्माण गर्न खोज्नु हरेक तानाशाहका विशेषता हुन् । २०६३ सालयताका पाँच वर्षभित्र प्रचण्डसहितको सहभागिता र विशेष अग्रसरतामा अन्तरिम संविधानमा दशपटक संशोधन गरेर आफूअनुकूल तुल्याउन प्रयास गरियो । हातमा शक्ति भयो भन्दैमा कोही विधिलाई नै तोडमरोड गर्न चाहन्छ भने त्यसलाई लोकतान्त्रिक आचरणका रूपमा कहिल्यै स्वीकार गर्न सकिँदैन । रसियाका नेता भ्लादिभिर पुटिन त्यहाँ अत्यन्त लोकप्रिय र शक्तिशाली मानिन्छन् । उनी दुई कार्यकाल राष्ट्रपति भइसकेपछि जनता फेरि पनि उनैलाई राष्ट्रपतिका रूपमा हेर्न चाहन्थे र पुटिनले चाहेका भए उनमा संविधान संशोधन गराउन सक्ने तागत पनि थियो, तर पुटिनले प्रजातान्त्रिक प्रक्रिया र विधिको उच्च सम्मान गर्दै आफू राष्ट्रपतिभन्दा तल्लो तहमा ओर्लिएर प्रधानमन्त्री बन्न तयार भए, विधि र प्रक्रियाको सम्मान र संरक्षण गर्नु नै सर्वथा उपयुक्त हो भन्ने सन्देश उनले दिए । शक्ति प्राप्त भएकै आधारमा संविधान संशोधन गरेर आफूअनुकूल बनाउनेतिर लागेका भए उनी विवादमा त पर्न सक्थे नै, उनको लोकप्रियतामा पनि ह्रास आउन सक्थ्यो र त्योभन्दा मुख्य कुरा रसियाको लोकतन्त्र अस्थिर तथा असंस्थागत हुन सक्थ्यो ।

त्यस्तै रोनाल्ड रेगन अमेरिकाका सर्वाधिक लोकप्रिय राष्ट्रपतिहरूको कोटिमा पर्छन् । रेगनले संविधानअनुसारको दुईवर्षो कार्यकाल पूरा गरेपछि पनि अमेरिकी जनताको धित मरेको थिएन, जनता फेरि पनि राष्ट्रपतिका रूपमा रेगनलाई नै हेर्न चाहन्थे । रेगनले अमेरिकी संविधानमा संशोधन चाहेका भए उनका निम्ति त्यो त्यति मुस्किल कार्य नहुन पनि सक्थ्यो । तर, रेगनले त्यतातिर सोच्न पनि आवश्यक र उचित ठानेनन् । विधि र प्रक्रियाको उच्च सम्मान गर्दै उनी बाहिरिए । नेपाली नेताहरूलाई पुटिन र रेगनलाई जस्तो मौका प्राप्त हुन्थ्यो भने यिनले के गर्थे भन्ने कुरा व्यवहारसिद्ध भइसकेको छ- कदापि सत्ता छोड्दैनथे । विधिअनुसार आफू चल्नु प्रजातन्त्र हो भने आफूअनुरूप विधि परिवर्तन गर्नु-गराउनु अधिनायकवाद हो ।

नेपाली नेताहरूले आफूमा निहित अधिनायकवादी चरित्र बारम्बार प्रस्तुत गर्दै आएका छन् । संविधानसभामा सबैभन्दा ठूलो दलको मुख्य नेताका रूपमा प्रचण्डले पनि शेरबहादुर देउवाले झैं सत्ताका लागि जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने प्रवृत्ति देखाउनुभएको छ । त्यसैले यो देशमा अब प्रचण्ड या शेरबहादुर सत्तामा पुग्नु भनेको लोकतन्त्रको विर्सजन र अधिनायकवादको प्रारम्भ हो भन्ने वास्तविकतालाई अहिले नै आत्मसात् गर्न सक्नुपर्छ । देउवाभन्दा प्रचण्ड प्रभावकारी तानाशाह बन्न सक्ने सङ्केत उनको अभिव्यक्ति, चरित्र र हाउभाउले नै गरिसकेको छ । प्रचण्ड र देउवा प्रवृत्तिलाई सत्तामा पुग्नबाट रोकेर मात्र मुलुकलाई अधिनायकवादी शासन-सत्ताबाट जोगाउन सकिन्छ भन्ने यथार्थलाई सबैले बुझ्न आवश्यक छ ।