जनप्रदर्शनबाट सरकार हटाउने अभियान कस्तो ?

जनप्रदर्शनबाट सरकार हटाउने अभियान कस्तो ?


w अर्पणा गुरुङ
माओवादी पार्टीले यसरी जनप्रदर्शन गर्नु कुनै अनौठो कुरा होइन । यसअघि पनि कैयनपटक माओवादीको विरोध र आमसभाहरू देखिएकै हो । आकारप्रकारका हिसाबले यसपटकको विरोधसभा अलिक ठूलोचाहिँ देखिएकै हो । तर, सत्ता पाउनका निम्ति आजसम्म गरिएका प्रयत्नहरू सबै फेल भएपछि माओवादी पार्टी जुन रूपमा प्रकट हुन पुग्यो यसले चाहिँ माओवादी पार्टी कतिसम्म सत्ताको प्यासी बन्न पुगेको रहेछ भन्ने र्छलङ्ग पारेको छ । सडकमा जबर्जस्ती कार्यकर्ता उतारेर सरकार बदल्ने जुन कसरत माओवादी पार्टीले गर्‍यो, यसले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाकै खिल्ली उडाएको छ भन्नैपर्छ । आफूलाई लोकतान्त्रिक धारमा समावेश भइसकेको भन्ने माओवादी दाबी फगत ढोंग रहेछ भन्ने पनि यसपटकको माओवादी जनप्रदर्शनले दर्शाएको छ । यसो भनेर म वर्तमान सरकार ठीक छ या यसले राम्रो काम गरिरहेको छ भनिरहेको छैन । निश्चय पनि यो सरकार विरोध गर्न लायकको छ, तर कोही गल्ती गरिरहेको छ भने त्यसलाई सच्याउने नाममा अर्कोले झन् ठूलो गल्ती गर्नु बुद्धिमानी होइन, जो यतिबेला माओवादीले गरिरहेको छ ।

w सफल बिक
जनतालाई सडकमा उतारेर असफल र नालायक सरकारलाई अपदस्त गर्ने जुन कदम एनेकपा माओवादीले चाल्यो यो एकदम जायज र प्रशंसनीय छ भन्ने मलाई लाग्छ । वास्तवमा जो-जो देश र जनताप्रति इमानदार तथा संवेदनशील छन् त्यस्ता प्रत्येक नागरिकले माओवादीको यस कदमको स्वागत गर्छन्, साथ दिन्छन् भन्नेमा म पूर्ण विश्वस्त छु । जुन सरकार जनताको पुकार सुन्न सक्दैन, जनप्रतिनिधिहरूको बहुमतले उठाएको न्यायसङ्गत आवाज जो आत्मसात् गर्न जान्दैन, जो देशघात गर्दै विदेशीको कठपुतली बन्नुमा गौरव गर्छ, यस्तो सरकारलाई सडकबाट नढाले कहाँबाट ढाल्ने त ? मलाई त लाग्छ माओवादी पार्टीले धेरै संयमता देखायो । यो सरकार या यसका मतियारहरूप्रति त अराजक ढङ्गमा प्रस्तुत हुनुपर्ने थियो । शान्त जनप्रदर्शनको लायक नै थिएन यतिखेरको सरकार भनाउँदो जमात । तर्सथ, म भन्न चाहन्छु कि जनप्रदर्शनको यस्तो अभियान सञ्चालन गरेर माओवादीले एउटा अनुपम नमुना स्थापित गरेको छ, जो इतिहासमा पनि स्वर्णाक्षरले लेखिनेछ ।

w सानु रिजाल
लातको भूत बातले मान्दैन भन्ने एउटा उखान प्रचलनमा छ, हो यही उखान मलाई यतिबेला याद आइरहेछ । आमजनतामा अत्यन्त आशा-अपेक्षा बढेको अवस्थामा निर्माण भएको यो सरकारले जनताको त्यो चाहनालाई रत्तिभर सम्बोधन गर्न सकेन । आफ्ना नातागोता र आसेपासेहरूलाई लाभ दिलाउने काममा प्रधानमन्त्रीको जिम्मेवारी पाएका माधव नेपालले जति ध्यान पुर्‍याएको देखियो जनता र देशसँग जोडिएका सवालहरूमा त्यत्तिकै उपेक्षा गरेको पाइयो । नयाँ संविधान बनाउने कुरामा त्यत्तिकै लापरबाही गरेको अनुभूति गरियो । विपक्षीतर्फको कुनै सुझाव नसुनेर आफ्नै मात्र एकोहोरो प्रलाप गरेर आज संविधान नै नबन्ने हालतमा मुलुक पुग्नुमा माधव नेपाल एण्ड कम्पनी नै प्रमुख दोषी छ । यस्तो निर्लज्ज र अक्षम कठपुतली सरकारको विरुद्धमा बल, शक्ति वा तागत देखाउनुबाहेक अरू के गर्न सकिन्छ र ? जनताले प्रमुख राजनीतिक शक्ति बनाएको दललाई के पेलेरै मात्र अघि बढ्न खोज्ने ? यस्तो कहीँ चल्छ ? माओवादीले जे गरेको छ यो सतप्रतिशत नै जायज र अपरिहार्य हो भन्ने मेरो ठहर छ ।

w प्रतिभा अर्याल
माओवादी पार्टीबाट हामीजस्ता सर्वसाधारण जनताले धेरै ठूलो आशा राखेका थियौँ । वर्षौं युद्धमा रहेको विद्रोही शक्ति भए पनि शान्तिप्रक्रियामा आएपछि माओवादी बिस्तारै लोकतान्त्रिक पद्धतिमा आउने, लोकतान्त्रिक विधिबाटै आफ्ना व्यवहार प्रदर्शन गर्ने, हिंसा र बन्द-हडताललाई बढावा नदिने, नयाँ संविधान निर्माण कार्यमा गम्भीर भएर लाग्ने र समग्रमा नेपाल र नेपालीको समृद्धिका निम्ति अगुवाको भूमिका खेल्ने अपेक्षा र विश्वास हामीले गरेका थियौँ । तर, यो आशा पानीको फोकाझैँ फुट्न पुगेको छ । सरकार छोडेर प्रतिपक्षी बनेको माओवादीले प्रतिपक्षमै बसेर पनि धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दथ्यो, तर त्यसको विपरीत गएर उसले सत्तालाई नै प्राथमिकता दियो र उसको यही सत्तामुखी व्यवहारले आज देशमा गम्भीर सङ्कट निम्तिएको छ । अहिले यसरी सरकार हटाउनकै निम्ति जनप्रदर्शन र आमहडताल आवश्यक थिएन । सहमतिबाट पनि धेरै कुरा हासिल हुन सक्दथ्यो । सहमतिका निम्ति कतिपय आफ्ना अडान त्याग्नुचाहिँ जरुरी हुन्छ ।

w बुद्धिसिंह तामाङ
माओवादीले जनप्रदर्शन र आमहडतालको बाटो अपनाएरै भए पनि वर्तमान अक्षम सरकारलाई डाँडो कटाउने प्रयत्न गरेकोमा साधुवाद छ । हुन त यसरी आन्दोलन गर्दा सर्वत्र असुविधा र नकारात्मक असर परिरहेको छ, तर केही पाउन केही त गुमाउनैपर्ने हुन्छ । माधव नेपाल नेतृत्वको सरकार कति संवेदनहीन छ भन्ने कुरा त जनताले यसरी दु:ख पाउँदा पनि टसको मस नगरी राजीनामा नदिई बसेको अवस्थाबाटै प्रस्टिएको छ । यत्तिका जनता सडकमा ओर्लिसक्दा पनि आफ्नो कमजोरी नियाल्नेतर्फ नलागी अझै दमनको कुरा गरेर माधव सरकारले नेपाली जनताप्रति थप ज्यादति गरेको छ । यर्सथ पनि माओवादीले गरेको शान्तिपूर्ण जनप्रदर्शन तारिफयोग्य बन्न पुगेको छ ।

w सन्तोष तामाङ
बेला न कुबेला बजी मेला भनेझैँ माओवादीले जनप्रदर्शन गरेको छ । यसबाट देशमा मुठभेड र गृहयुद्ध नै सुरु हुने खतरा पनि पैदा भएको छ । लोकतान्त्रिक पद्धति मानेर शान्तिप्रक्रियामा सरिक भएको एउटा ठूलो र जिम्मेवार पार्टी हुनुको नाताले माओवादीले सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुपथ्र्यो । जनताले माओवादीको यस अभियानका कारण धेरै सास्ती खेपेका छन् । स्वयम् माओवादीका कार्यकर्ताले पनि निकै दु:ख खेपेको देखियो । यसो भएर पनि एउटा कुराचाहिँ तारिफयोग्य नै छ कि माओवादी नेतृत्वले दाबी गरेअनुरूप जनप्रदर्शन शान्तिपूर्ण नै रहेको हो ।