नेता-कर्मचारी-व्यापारी देश लुट्ने, जनता फगत विरोधमा उफ्रिने !

नेता-कर्मचारी-व्यापारी देश लुट्ने, जनता फगत विरोधमा उफ्रिने !


हाम्रो समाजमा ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने टुक्का या लोकोक्ति प्रचलनमा छ । यस लोकोक्तिलाई विभिन्न सन्दर्भसँग जोडेर हेरौँ ।

२०६६ जेठ ११ गते माधवकुमार नेपाल प्रधानमन्त्री बने । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय उनकै मन्त्रिपरिषद्ले गरेको थियो । कालोपुल र काभ्रेको रोपनीका रोपनी जग्गा व्यक्ति तथा व्यवसायीलाई दिने निर्णय पनि गरियो ।

त्यस्तै, बाबुराम भट्टराई ०६८ भदौ १२ गते प्रधानमन्त्री भए । उनले पनि ललिता निवासको सरकारी जग्ग व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे । यससँगै थानकोट र मातातीर्थको रोपनीका रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ०७८ वैशाख ७ र १३ गते मन्त्रिपरिषद् बैठकमार्फत झापाको गिरिबन्धु टी स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गराए । यी तीनै व्यक्ति अहिले पनि राजनीतिमा सक्रिय छन् । केपी शर्मा ओली त वर्तमान सरकारमा प्रधानमन्त्री नै छन् ।

स्वर्गबासी भइसकेका कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले पनि आफू प्रधानमन्त्री हुँदा सरकारी तथा गुठीका जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरेका थिए । नक्सालस्थित बालमन्दिरको सरकारी जग्गा पनि व्यक्तिको नाममा दर्ता गराइयो ।

ललिता निवासको सरकारी जग्गा दर्ता गराउने वा गर्ने सबै व्यक्तिलाई अझै पनि सरकारले पक्राउ गर्न सकेको छैन । जबकि, अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय सुनाइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसनेतृ डा. आरजु राणा देउवाको नाम छरप्रष्ट हुनेगरी सार्वजनिक भएपनि पक्राउ परिनन् ।

सहकारी ठगीको आरोप लागेका माओवादी नेता शक्तिबहादुर बस्नेत र रास्वपा नेता डिपी अर्याललाई पनि प्रहरीले समात्न सकेको छैन । कांग्रेस नेता धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलमाथि पनि सहकारी ठगीको अभियोग छ । यद्यपि, उनीहरू समातिन सकेका छैनन् । राप्रपानेतृ गीता बस्नेतविरुद्ध पनि सहकारी ठगीमा पक्राउ पुर्जी नै जारी भइसक्यो । तैपनि उनी पक्राउ परेकी छैनन् ।

राजनीतिक दलका उच्च पदस्थमा रहेका यी व्यक्ति-व्यक्तित्वहरूलाई गृहमन्त्री रमेश लेखकले पक्राउ गर्न हालसम्म प्रहरीलाई निर्देशन दिएका छैनन् । कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा करोडौँ भ्रष्टाचार गरेको आरोप छ । बाख्रा पाल्ने बहानामा उनले जनताले तिरेको लाखौँ रकम झ्वाम बनाएको बताइन्छ । यद्यपि, उनीमाथि पनि अनुसन्धान भएको छैन । एमाले नेता महेश बस्नेतसँग स्रोत नखुलेको खर्बौंको सम्पत्ति रहेको सुनिन्छ । मन्त्री वा सांसद हुँदा उनले भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोडेको आरोप छ । त्यस्तै, कांग्रेस, माओवादीलगायत राजनीतिक दलका नेताहरूसँग अकुत सम्पत्ति रहेको बताइन्छ ।

अहिले जुनसुकै पार्टीका नेताहरूको सम्पत्ति छानबिन गरेमा सबैजसो नै भ्रष्टाचारमा पर्नेछन् । किनकि, यिनीहरूले आफ्नो दश पुस्तालाई पुग्ने सम्पत्ति अवैधरूपले आर्जन गरेका÷गरिरहेका छन् । उनीहरू त्यसको स्रोत भने खुलाउन सक्दैनन् ।

केही दिनअघि माओवादीले सरकारको खबरदारी गऱ्यो । सो पार्टीका अध्यक्ष प्रचण्डको हातमा ७८ लाख पर्ने घडी छ भनिन्छ । यस्ता सम्पत्ति उनका कति-कति ! आफूलाई सर्बहारा वर्गको नेता दाबी गर्ने अनि आफैं भ्रष्टाचारी भएको व्यक्तिले अरुको खबरदारी गरेको सुहाउँछ ? यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भन्छन् । तर, अहिले उनको सम्पत्ति छानबिन गरेमा उनी पनि भ्रष्टाचारीकै लहरमा आउने छन् । गज्जबै लाग्छ…! चित्रबहादुर केसी र प्रेम सुवाल जस्ता नेताले पनि आफ्नो सम्पत्ति सार्वजनिक गर्दैनन् । जसका कारण उनीहरू पनि भ्रष्टाचारी नै रहेको जनता आरोप लगाउँछन् ।

देश र जनताको गीत गाउँदै राजनीतिक दलको खोल ओढेर नेताहरूले देश नै बेचिसकेका छन् । जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन् । सरकारी कर्मचारी त झनै भ्रष्टाचारी भइहाले । कसरी भ्रष्टाचार गर्ने वा घुस खाने भन्नेमात्र उनीहरूको मतलबको विषय हो । हामीकहाँ सरकारी कर्मचारीलाई ‘राष्ट्रसेवक’ भनिने गरिएको छ । तर, कर्मचारी देश र जनताका लागि विषालु सर्प बनेका छन् । अहिले बहालवाला होस् या पेन्सनवाला कर्मचारी भन्छन्- ‘नेताले देश बिगारे ।’ आफू घुस खाने, भ्रष्टाचार गर्ने अनि दोषचाहिँ नेतामाथि मात्र थोपर्ने उनीहरूको नियत देखिन्छ । वास्तवमा देश बिगार्नुमा कर्मचारी र नेता दुवैको बराबरी हात छ ।

नेताहरू अहिले पनि हामी देश बनाउँछौँ भनेर जनतालाई भ्रममा पारिरहेका छन् । तर, देश नै नरहेपछि कुन देश बनाउँछन् कुन्नि ! देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसके । अझै लिने क्रम जारी छ । अहिले सरकार एउटासँग ऋण लिएर अर्काको साँवाब्याज तिरिरहेको छ । तर, कतिञ्जेल यस्तो चल्छ ? विदेशीले ऋण दिन छोड्नासाथ देश तहसनहस हुनेछ ।

अहिले ऋण दिएका देशहरू नै नेपाल आफ्नो स्वामित्वमा राख्न हानाथाप गर्नेछन् । अब त कसैले हामीलाई हाम्रो राष्ट्रियता सोधेमा नेपाली भन्नसमेत नसकिने अवस्था निम्तिएको छ । सयौं वर्षअघि मुलुकको भूभाग ब्यापक थियो । तर, भारत र चीनले नेपालको अधिकांश भूभाग कब्जा गरिसके । बाँकी भूभाग पनि सरकारी कर्मचारी र नेता मिलेर बेच्दैछन् ।

अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकमा रहेका नेपाली सामाजिक सञ्जालमार्फत नेपालमा विकास नभएको गुनासो गर्छन् । आफू प्लस टु पढ्नेबित्तिकै विदेश पलायन हुने अनि त्यता बसेर मातृभूमिलाई गालीगलौज गर्ने !? यदि उनीहरू साँच्चिकै देशको माया गर्ने नेपाली भएको भए आफ्नै देशमा बसेर कर्म गर्थे ! आफ्नै देशमा ठुलोसानो रोजगारी गर्थे । राज्यलाई कर तिर्दथे । भ्रष्टाचारविरोधी अभियान चलाउँथे । तर, आफ्नो कर्तव्य र दायित्व पूरा नगर्ने अनि अधिकारमात्र खोजेर हुन्छ !? जनतालाई विकसित मुलुक जान पाए पुग्ने अनि कर्मचारी र नेतालाई भ्रष्टाचार, मोजमस्ती गर्न पाए पुग्ने ! यति भएपछि देश कसरी अघि बढ्छ ?

मुलुकमा राजनीतिक परिवर्तनका निम्ति विभिन्न मितिमा धेरैचोटि आन्दोलन भयो । जनताको बलमा राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तन त भयो तर देश झनै खोक्रो भयो । कर्मचारी र नेताले भ्रष्टाचार गरे अनि व्यापारीले कालोबजारी गरे, राजस्व छले । यसरी नेता, कर्मचारी र व्यापारीले मिलेर देश टाट पल्टाइसकेका छन् ।

मुलुकको अर्थतन्त्र धरायसी अवस्थामा पुगिसकेको विज्ञजन बताउँछन् । सरकारी तथ्यांकअनुसार नै भन्नुपर्दा, राजस्व उठ्न छोडेको छ भने खर्च दिनानुदिन बढ्दो छ । मुलुकमा उद्योग, कलकारखाना खासै छैन । राज्यसँग राजस्व उठाउने स्रोत छैन । जनताको लगानी घरजग्गा र गाडीमा मात्र छ । यसमा करोडदेखि अर्बसम्म लगानी गरिएको छ । यद्यपि, यसको राजस्व राज्यले पाएको छैन । राज्यको ढुकुटी रित्तिँदै गएको छ । नेताहरू अहिले पनि हामी देश विकास गर्छौं भन्छौँ । यसलाई कसरी लिने ? जनताले देश खोक्रो भएको नबुझेका कि नेताले जनतालाई उल्लु सोचेको ?