लण्डन / यही ०४ मे २०१४, साउथ इस्ट लण्डनको चार्ल्टनमा संचालन भएको नेपाली भाषाकक्षा कार्यक्रम संचालनमा आएको एक बर्ष पुगेको छ | स्थानीय नेपालीहरुको संस्था चार्ल्टन नेपाली समाजको अगुवाईमा संचालनमा ल्याइएको लर्न नेपाली प्रोग्रामको बर्ष गांठको उपलक्ष्यमा आज एक समारोहको आयोजना गरिएको थियो | भाषा कक्षा संचालन भई रहेकै स्थान चार्ल्टन भ्याली फुटवल क्लबको नेप्लिज हब सेन्टरको कार्यकक्षमा गरिएको उक्त कार्यक्रमको संचालन चार्ल्टन नेपाली समाजका सचिब रेशम अर्याल ले गर्नु भएको थियो भने भाषा कक्षाका संयोजक फत्त थापाले गत एक बर्षको प्रगति बिवरण पेश गर्दै बिध्यार्थीहरुले नेपाली भाषा मात्र नभएर नेपालको संस्कृति, इतिहास, कला तथा बिबिध बिषयमा जानकारी लिन सफल भएको कुरा बताउनु भयो | चर्ल्टन नेपाली समाजका अध्यक्ष सुरज केसीले भाषा कक्षालाई यहासम्म ल्याई पुर्याउन सहयोग गर्ने शिक्षक-शिक्षिका, अविभावक तथा बिद्यार्थी सबै प्रति आभार ब्यक्त गर्नु भएको थियो | सरस्वतीको तस्विरमा माल्यार्पण गरेर शुरु गरिएको कार्यक्रममा नेपाली भाषाको महत्वमाथि प्रकाश पार्दै बिद्यार्थीहरु बिजय पाण्डे,शुभम अर्याल, अभिनव पाण्डे, दिपा ओझा लगायतले आफ्ना रचना तथा आलेखहरु प्रस्तुत गरेका थिए भने साहित्यकार गोकुल भण्डारीले कविता वाचन गर्नु भएको थियो | कार्यक्रममा नेपाली वर्णका अक्षर तथा पशुपति नाथ मन्दिरको आकृतिमा सजिएको आकर्षित केक काटिएको थियो | कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, नेपाली व्यवसायी, केटाकेटी, महिला तथा सर्वसाधारणहरुको को उल्लेख्य उपस्थिति थियो भने खाजा नास्ताको व्यवस्थामा महिलाहरुको बिशेष सकृयता देखिन्थ्यो |
स्थानीय नेपाली मूलका केटा केटीहरुलाई नेपाली भाषा पढन-लेख्न सिकाउने उद्देश्यले स्थापना भएर सफलतापूर्वक संचालनमा आएको उक्त प्रोग्राममा हाल ४४ जना बिद्यार्थीहरुले अध्ययन गरिराखेका छन् भने ६ जना अनुभवी स्वयं सेवी शिक्षक शिक्षिकाहरु अध्यापनमा खटिएका छन| दुई उमेर समूहमा बिभाजन गरेर संचालन गरिएको यो भाषा कक्षालाई एक उदाहरणिय कामको रुपमा लिईएको छ |
-फडिन्द्र भट्टराई
प्रतिक्रिया