लाखौँ प्यालेस्टिनीका लागि रोजगारी दिने अमेरिकी प्रस्ताव

लाखौँ प्यालेस्टिनीका लागि रोजगारी दिने अमेरिकी प्रस्ताव


संयुक्त राज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलरभन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ । यही साता बहराइनमा आयोजना गरिने सम्मेलनमा सार्वजनिक गरिने उक्त योजनाबाट एक दशकभित्र दश लाखभन्दा बढी रोजगारी सिर्जना गरिने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्यालेस्टिनीका लागि अभूतपूर्व लगानी जुट्ने विश्वास गरेको छ । साथै, पश्चिमी किनारा र गाजापट्टीको पूर्वाधार, शिक्षा र आन्तरिक सुशासनमा नाटकीय रूपमा सुधार आउने अपेक्षा पनि गरिएको छ । राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुश्नरको नेतृत्वमा खासगरी प्यालेस्टाइन समस्याको दीर्घकालीन समाधान खोज्न अमेरिकी नीति तय गर्ने जिम्मेवारी दिइएको थियो । सोचेभन्दा निकै ढिलो सार्वजनिक गर्न लागिएको यस नीतिमा राजनीतिक विषयलाई भने थाँती राखिएको छ ।

तर, प्यालेस्टिनी सरकारले भने बहराइनको कार्यशालामा सहभागिता नजनाउने घोषणा गरेको छ । प्यालेस्टिनीहरूले कुश्नरको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । उनीहरूले राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीलाई पैसाको लोभ देखाएर खरिद गर्न खोजेको आरोप लगाएका छन् । प्यालेस्टिनीहरूले स्वतन्त्र राज्यबाहेक अन्य कुनै पनि कुरा अमेरिका वा इजरायलसँग सौदाबाजी नगर्ने जनाएका छन् । ह्वाइटहाउसले भने हाल अघि सारिएको योजना प्यालेस्टिनी जनताका लागि आजसम्मकै सबैभन्दा महत्वाकांक्षी र ठोस अन्तर्राष्ट्रिय प्रयत्न भएको बताएको छ । उक्त योजनाबारे बहराइनमा खाडी क्षेत्रका सम्पन्न मुलुकका अर्थमन्त्रीहरूबीच अझ विस्तारमा छलफल हुँदै छ । संयोजक कुश्नरले जारी गरेको वक्तव्यमा ‘समृद्धिका लागि शान्ति’ नारा दिइएको यो योजना प्यालेस्टिनी जनताको उज्ज्वल र समृद्ध भविष्यका निम्ति महत्वपूर्ण रहेको उल्लेख छ ।

ह्वाइटहाउसले प्यालेस्टिनी जनताका निम्ति एक दशकभित्र ५० अर्ब अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिने जनाएको छ । यसबाट प्यालेस्टाइनको खुद गार्हस्थ्य उत्पादन दोब्बर हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय दाताबाट संकलन गरिने रकमको व्यवस्थापन बहुराष्ट्रिय विकास बैंकमार्फत गरिने छ र यो रकम प्यालेस्टिनी सरकारलाई सोझै दिइनेछैन ।

वरिष्ठ प्यालेस्टिनी अधिकारी हनान अश्रावीले उक्त योजना अस्वीकार्य रहेको बताए । उनले संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीको भलाइका लागि बरु इजरायलमाथि दबाब दिनु उचित हुने बताए । उनले भने, ‘गाजाको घेराबन्दी इजरायलले हटाओस्, हाम्रो जमिन, स्रोतसाधन र रकम खोस्ने काम इजरायलले बन्द गरोस्, हामीलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अवसर देओस् । यति गरिए प्यालेस्टाइन आफैँ सक्षम हुनेछ ।’