ऱ्याकेट बलमा धनबहादुर निर्विरोध

ऱ्याकेट बलमा धनबहादुर निर्विरोध


नेपाल ऱ्याकेट बल संघको अध्यक्षमा धनबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो चुनावी साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

संघको उपाध्यक्षत्रयमा मन्जु कोइराला, गोपाल श्रेष्ठ र झपिन्द्रकुमार कार्की, महासचिवमा निरज सापकोटा, सचिवमा हरिशरण तिमल्सिना तथा कोषाध्यक्षमा सर्मिला सिलवाल रहेका छन् । त्यस्तै सदस्यमा गोविन्द श्रेष्ठ, प्रकाश सापकोटा, उमेश राउत, शिभम् पौडेल र सोमलाल श्रेष्ठ चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठले प्रमाणपत्र प्रदान गरे भने राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

त्यसअघि साधारण सभाको राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्यालले उद्घाटन गरेका थिए । साधारण सभामा केन्द्र र १६ जिल्लाका जम्मा ३२ प्रतिनिधि सहभागी थिए ।