नगरप्रमुख भ्रष्टाचारमा लिप्त रहेको नगरसभापतिको आरोप

नगरप्रमुख भ्रष्टाचारमा लिप्त रहेको नगरसभापतिको आरोप


नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोज साहले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । नगरप्रमुख साहले विकासको नाममा नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरेको अभियोग लगाउँदै उनले बहुमतको दम्भमा लोकतान्त्रिक प्रक्रिया र विधि मिचेर एकलौटी रुपमा अगाडि बढेको बताए ।

नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नगरप्रमुख साह नगर विकासविरोधी रहेको ठोकुवा गरे । नगरप्रमुखमा निर्वाचित भएदेखि नगरपालिकाले देखिने एउटा पनि काम गर्न नसकेको उनको दाबी छ ।

पत्रकार सम्मेलनमा आफ्नो कुरा राख्दै जउनपा वडा नं.९ का अध्यक्ष परमेश्वर साहले नगरसभामा ‘असहमति’ राख्न समेत नदिने गरेको गुनासो पोखे । हतार–हतारमा ल्याइएको नगर–बजेटमा त्रुटि नै त्रुटि रहेको उनको तर्क छ ।

बजेट योजनामा तर्जुमा समितिको संयोजक समेत रहेकी उपमेयर रीता मिश्रलाई पनि बजेटको विषयमा केही जानकारी नदिइएको गम्भीर अरोप समेत परमेश्वरले लगाए । जनकपुरधाम उपमहानगरपालिकाले गत शुक्रबार आ.व. २०७५–७६ को लागि १ अर्ब ६९ करोड ५५ लाख ७२ हजार २ सयको आय व्यय प्रस्तुत गरेको थियो ।

जनताले तिरेको करबाट निर्माण हुने बजेटमा नगरसभा सञ्चालन खर्चमा ३० लाख विनियोजन गरिएकोमा आश्चर्य व्यक्त गर्दै उनले लामखुट्टे नियन्त्रणको नाममा ५० लाख खर्चिएको तर लामखुट्टेको समस्याचाहिँ जस्ताको तस्तै रहेकोमा आक्रोश पोखे । वडाध्यक्ष साहले सवारी खरिदमा ३ करोड १९ लाख रुपैयाँ खर्चिएर कमिशनको मोटो रकम मेयर साहले कुम्ल्याएको दाबी पनि गरे ।

नगर सभापति मनोज साहको अध्यक्षता तथा नेपाली कांग्रेस धनुषा उपसभापति सन्तोष यादवको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा जिल्ला सचिव विश्वेस्वर यादव, क्षेत्रिय सभापति कन्हैया कर्ण, जिल्ला सदस्य गणेश झा, अर्जुन चौधरी, जउनपा वडा नं. ५ का अध्यक्ष मनोज साह, १० का मिथिलेशलाल कर्ण, १२ का सत्रुघन यादव र १५ का अशोक चौधरी, सम्झना वर्मासहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।