लण्डन – शनिवार, १० मई २०१४को दिन लण्डन, विलविच कमन स्थित कम्युनिटी सेन्टरमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले बडो भव्यताका साथ बुद्ध जयन्ती सम्पन्न गरेको छ । यसवर्ष १४ मई २०१४को दिनमा बुद्ध पूर्णिमाको दिन परेको छ । तर, बेलायतमा बुद्धपूर्णिमाको दिन सरकारी विदा नहुनाले चारदिन अघि साप्ताहिक विदाको दिन पारेर यसवर्षको बुद्ध जयन्ती मनाईएको थियो । दक्षिणपूर्व लण्डन क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्म अवलम्बिहरुको ठुलो सहभागिता रहेको यस कार्यक्रमलाई औपचारिक रुपमा समाजका महासचिव सुमन गुरुङले सबैलाई सुरक्षा र स्वास्थ्य सम्बन्धि तथा कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै सञ्चालन गरेका थिए । यस कार्यक्रममा यस क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपसस्थिति रहेको थियो । महासचिवले हालसम्म समाज च्यारिटीमा दर्ता भएको थिएन तर गत २४ अप्रिल २०१४को दिनमा समाज च्यारिटीमा दर्ता भएको सूचनापनि कार्यक्रमका सबै सहभागीहरुलाई सुनाएका थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङले गरेका थिए । विशेषगरि दक्षिणपूर्व लण्डन क्षेत्रमा बसोबासगर्ने नेपालीहरुका लागि सामुदायिक भवन खरिद गर्ने उद्धेश्यमाथि लक्षित गरि सम्पन्न गरेको तथा भगवान बुद्धलाई श्रद्धा अर्पण र विश्वशान्तिका लागि बुद्ध भगवानले प्रतिपादन गरेका बाटोलाई पहिल्याउँदै आपसी सद्भाव राख्ने उद्धेश्यले सम्पन्न गरिएको कार्यक्रमलाई स्वागत मन्तव्य हाउजिङ संयोजक श्रीचन्द्र गुरुङले प्रकट गरेका थिए । समाजका सल्लाहकार सुमल कुमार गुरुङले बुद्ध दर्शनबारे छोटो मन्तव्य प्रकट गरेका थिए तथा उनले गतमहिना सम्पन्न गरेको हरिततारा देवी र ग्रहशान्ति पूजामा गरिएको आर्थिक विवरण त्यस कार्यक्रमको संयोजकको हैसियतले पुनः आर्थिक विवरण प्रस्तुत गरेका थिए । समाजका अध्यक्षले धन्यवाद ज्ञापन गरे पश्चात प्रथम चरणको औपचारिक कार्यक्रम समापन लगत्तै धर्मगुरु लामा धरम गुरुङले पूजा प्रारम्भ गरेका थिए । पूजाको दौरान प्रवचन तथा पूजाको विधि अनुसार श्रद्धालुहरुले धूप, बत्ती बालेर श्रद्धाका साथ सम्पन्न गरेको पूजा पाँच बजेतिर समापान भएको थियो । तर, लगत्तै फेरी हाउजिङ संयोजक श्रीचन्द्र गुरुङले च्यारिटी दर्ता भईसकेको समाजको भावी योजनाहरु र सामुदायिक भवनको योजनाबारे छोटो अन्तरक्रिया कार्यक्रम राखेका थिए । औपचारिक कार्यक्रम पछिको कार्यक्रमलाई समाजका उद्घोषक्द्वय सुर्य गुरुङ र योगेश गुरुङले सञ्चालन गरेका थिए । सामुदायिक भवन खरिदको छलफलका लागि समाजका पदाधिकारीहरु, प्रमुख सल्लाहकार मोहन गुरुङ तथा पूर्वअध्यक्षहरुलाई डायसमा निम्त्याएर हलमा उपस्थित सम्पूर्ण सहभागी सहित अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियाका बूँदाहरु सल्लाहकार सुमल कुमार गुरुङले टिपोट गरेका थिए । झण्डै एकघन्टाको बृहत अन्तरक्रिया पश्चात समाजको कोषलाई सहि उपयोग र कोषको अभिवृद्धि सुनिश्चित गरेर सामुदायिक भवन खरिद गर्ने छलफलको निकर्ष रहेको थियो । यस कार्यक्रमका लागि भोजन तथा पेयपदार्थहरु समाजले निःशुल्क उपलब्ध गरेको थियो । अन्तमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर सबैले खुशीयाली मनाएका थिए ।


प्रतिक्रिया