अन्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

अन्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि


अन्डा उत्पादक संघले अन्डाको मूल्य बढाएको छ । हिजो शनिबारबाट लागू हुने संघले प्रतिक्रेट ५५ रुपैयाँले अन्डाको मूल्यमा वृद्धि गरेको हो ।

अब अन्डा उत्पादक व्यवसायीले प्रतिक्रेट मध्यमको १७० र ठूलो अन्डाको २५५ रुपैयाँ पाउने भएका छन् । यसअघि मध्यम अन्डाको कृषकले प्रतिक्रेट ११५ र ठूलो अन्डाको दुई सय रुपैयाँ पाउँदै आएका थिए ।

उत्पादन बढेसँगै लागतको तुलनामा अन्डाको मोल नपाएकाले मूल्य बढाएको अन्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । उनले प्रतिअन्डा लागत १० रुपैयाँ भए पनि किसान प्रतिगोटा सात रुपैयाँमा बिक्री गर्न बाध्य भएको बताउँछन् । मूल्य बढाएपछि अब किसानले एउटा अन्डाको साढे ८ रुपैयाँसम्म पाउने उनको भनाइ छ । अब कृषकले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि सोही अनुपातमा बढ्ने संघले जनाएको छ ।

नेपालमा अहिले करिब १६ सय अन्डा फार्मबाट दैनिक २५ लाख अन्डा उत्पादन हुँदै आएको अन्डा उत्पादक संघले जनाएको छ ।