८० नाघेका ८० लाई लौरी वितरण

८० नाघेका ८० लाई लौरी वितरण


तनहुँको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ । वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो ।

ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँडडुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले जानकारी दिए । उनका अनुसार लौरीको सहायताले हिँडडुल गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त लौरी पोखराबाट प्रतिथान रु. एक हजार दुई सयमामा खरिद गरिएको हो । उक्त लौरी हिँडडुल नगर्दाको समयमा फोल्डिङ गरेर झोलामा राख्न मिल्छ । वडा सदस्य निर्मला वाग्लेका अनुसार ज्येष्ठ नागरिकको सम्मानस्वरूप गत वर्ष चरेसको थाल वितरण गरिएकामा यस वर्ष लौरी वितरण गरिएको हो ।

लौरी पाएपछि ८२ वर्षीय बुद्धिबहादुर थापाले लौरीको सहयोगमा हिँडडुलमा सहज हुने बताए । लौरी नहुँदा घर वरपर हिँड्न पनि समस्या हुने गरेको सुनाउँदै उनले लौरीको सहायताले बैंकसम्म पुग्न सहज हुने बताए । अधिकांश ज्येष्ठ नागरिक काठको लौरी प्रयोग गर्न बाध्य छन् । काठको लौरी केही महिनापछि भाँच्चिने र अर्काे लौरी खोज्न वा बनाउन पनि समस्या पर्ने हुँदा दुःख पाउने गरेको उनीहरूको गुनासो छ ।