खेलकुदका विकृत तत्वलाई सामाजिक वहिष्कार गर्नुपर्ने सदस्यसचिवको धारणा

खेलकुदका विकृत तत्वलाई सामाजिक वहिष्कार गर्नुपर्ने सदस्यसचिवको धारणा


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदलाई विवादको थलो बनाउन खोज्ने विकृत तत्वलाई सबै मिलेर सामाजिक बाहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । राखेप कर्मचारी संघले आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रमका अवसरमा नवनियुक्त सदस्यसचिव सिलवालले सो धारणा राखेका हुन् ।

बिमा विनाको प्रतियोगिता नहुने जानकारी दिँदै सदस्यसचिव सिलवालले भने, ‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन । चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता । विमा गर्नैपर्छ ।’

उनले बाहिरबाट हायर गरिएका व्यक्तिले नभई परिषद्का कर्मचारी स्वयंले आफ्नो संस्थालाई मजबुत बनाउनुपर्ने सुझाव दिँदै आफ्नो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुने बताए । ‘यहाँ धेरै कर्मचारीसँग लामो समय काम गरेको अनुभव छ । हायर गरेको व्यक्तिले होइन तपाईंहरूले नै परिषद्लाई मजबुत बनाउने हो ।’ सदस्यसचिव सिलवालले भने– ‘मेरो कार्यकाल यस्तो हुन्छ भनेर भन्दिनँ, तर मेरो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ, अनुशासित हुने विश्वास छ ।’

सोही अवसरमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो सिङ्गो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताउँदै वर्तमान सदस्यसचिवलाई खेलकुदको हितका निम्ति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । निवर्तमान सदस्यसचिव विष्टले १३औँ दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासँग जोडिएको विषय भएकाले समयमै हुनुपर्नेमा जोड दिँदै यस विषयमा वर्तमान सदस्यसचिव पनि सचेत रहेको बताए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई सदस्यसचिव बनाएर पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले निवर्तमान सदस्यसचिव विष्टको कार्यकालमा पनि धेरै राम्रा कामहरू भएको बताए ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले लामो समयदेखि रोकिएको कर्मचारीहरुको बढुवाका लागि वर्तमान सदस्य–सचिवलाई पहल गरिदिन आग्रह गर्दै करार कर्मचारीहरुलाई स्थायी गर्ने विषयमा पनि गम्भीर हुन आवश्यक रहेको भनाई राखे ।

कार्यक्रममा कर्मचारी संघले निवर्तमान सदस्य–सचिव विष्टलाई खेलकुदको विकास र विस्तारमा योगदान पुऱ्याएवापत प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो ।