प्रचण्डजीलाई मैले रोकेको होइन,

प्रचण्डजीलाई मैले रोकेको होइन,


..आफैं भाग्नुभएको हो-विजयकुमार गच्छदार (अध्यक्ष, मजफो-लोकतान्त्रिक)
० अबको प्रधानमन्त्री को ? देउवा कि भट्टराई ?
– दुईमध्ये एक ! अझै भन्न सकिन्न यीमध्ये कोचाहिँ प्रधानमन्त्री बन्ने हुन् ।
० तपाईंको पार्टीको च्वाइसचाहिँ को हो त ?
– राष्ट्रिय सरकारको नेतृत्व गर्ने व्यक्ति नै हाम्रो च्वाइस हो ।
० सहमतिको सरकारको नेतृत्व माओवादीले गर्न सक्छ कि काङ्ग्रेसले, यतिबेला ?
– ठूलो दलको नाताले माओवादीले जुन दाबी प्रस्तुत गर्दै आइरहेको छ- यो स्वाभाविक नै छ । तर, शान्तिप्रक्रियामा विश्वास जगाउने केही आधारहरू माओवादीले प्रस्तुत गर्न सकिरहेको छैन, त्यो प्रस्तुत गरेमा निश्चित रूपमा माओवादीले नै नेतृत्व गर्नेछ । उता, अबको पालो नेपाली काङ्ग्रेसको भनेर काङ्ग्रेसले जो भनिरहेको छ- यो दाबी पनि अस्वाभाविक छैन । तर, उसले पनि सबैको विश्वास जित्न सक्नैपर्छ । हाम्रो त दुवैलाई शुभकामना छ कि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिन सक्नुहोस् ।
० संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रिय सहमतिको सरकार नै चाहेको छ भन्ने कुराको आधार के ?
– सहमतिको सरकारबिना शान्ति र संविधानको निर्माण सम्भव छैन भन्नेमा हामी विश्वस्त छौँ, त्यही नै हामी हृदयदेखि नै सहमतिको सरकार चाहन्छौँ भन्ने कुराको प्रमाण हो ।
० राष्ट्रिय सहमति बन्न सकेन भने कस्तो प्रकारको गठबन्धन बन्ला –
– अहिले नै हामीले त्यस्तो अन्य गठबन्धनको परिकल्पना गरेका छैनौँ । सहमतिबेगरको सरकारले अहिलेका समस्या समाधान गर्न सक्दैन भन्नेमै हामी अगडि छौैँ । आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका दलहरूले मुखले सहमतिको कुरा गरे पनि व्यवहारमा आ-आफ्ना ढिपी नछोडेको देख्दा हामी दुःखित र आश्चर्यचकित छौँ । हामी त इमानदारीका साथ सहमतिलाई सघाउन दृढ छौँ ।
० यसपटक प्रधानमन्त्रीमा उम्मेदवारी दिने सोच छ कि छैन तपाईंको –
– सहमतिको कुरा गरिरहँदा प्रधानमन्त्रीको कुर्सीमाे कल्पना गरेका छैनौँ हामीले । अहिलेसम्मको परिस्थितिका आधारमा भन्नुपर्दा हामी ठूलो दलका उम्मेदवारबीच नै सहमति बनोस् भनेर लागिपरिरहेका छौँ ।
० यत्तिका दिन कसरत भइसक्यो, सहमतिका लागि, साँच्चै तपार्इंलाई के लाग्छ- सहमति होला –
– सहमति जुटाउन मैदानमा उत्रिएका दुवै उम्मेदवार सफल हुन्छन् जस्तोचाहिँ देखिएन । अहिलेसम्मको कसरतले त यही दर्शाउँछ । तथापि, मेरो अन्तरहृदयको पुकार त यही नै छ कि राष्ट्रिय सहमतिको सरकार बनोस् । सहमतिलाई बाधा पुर्‍याउने कुनै पनि छलकपट, बाधा-विरोध, प्रपञ्च हाम्रोतर्फबाट हुँदैन । यदि सहमतिको वातावरण बिग्रन्छ भने त्यो प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गरिरहेका दलहरूबाटै बिग्रन्छ ।
० बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चुन्नुपर्‍यो भने तपाईं शेरबहादुर देउवाकै पक्षमा उभिनुहुन्छ, होइन ?
– बहुमतीयको कल्पना अहिले नै नगरौँ । अर्को कुरा, दुवै उम्मेदवार मेरा लागि बराबर र योग्य हुनुहुन्छ । एउटा योग्य उम्मेदवारले अर्कोलाई समर्थन गरिदिए सहजरूपमा सहमतिको सरकार बन्ने थियो भन्ने मलाई लाग्छ ।
० गरिदिए त हो, तर गर्दैनन् र सहमतिको वातावरण बिग्रने नै देखिएको छ नि !
– त्यस्तै लाग्छ ! एक प्रतिशत पनि सम्भावना देखिँदैन सहमतिको । दुःखको विषय छ यो ।
० हो, यस्तो परिस्थितिमा त बहुमतीयमा जानैपर्छ, यतिबेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हातमा सत्ताको शक्तिशाली र महत्त्वपूर्ण चाबी हुनेछ । त्यो चाबी तपाईं कसको पक्षमा प्रयोग गर्न चाहनुहुन्छ –
– दुर्भाग्यले बहुमतीय प्रणालीबाटै प्रधानमन्त्री चुन्नुपर्ने अवस्था आएछ भने यतिबेला नै जवाफ दिउँला म । अहिले त डा. भट्टराई या देउवाजीमध्ये एककै लागि हाम्रो शुभकामना छ । बहुमतीयमा जाँदा त हाम्रो पार्टीका लागि पनि ढोका खुल्छ, जे पनि हुनसक्छ ।
० तपाईं पनि हुन सक्नुहुन्छ !
– नसक्ने र नहुने भन्ने त कुरा भएन तर दल ठूला भए पनि ठूला भनाउँदा दलको नेतृत्वको छाती अत्यन्त सङ्कुचित छ । उनीहरू मधेसी समुदायबाट पनि प्रधानमन्त्री बन्नुपर्छ र बन्नसक्छ भन्ने कल्पना नै गर्न चाहँदैनन् । यस्तो साँघुरो सोच राख्नेहरूसँग पदको भीख माग्न हामी पनि जाँदैनौँ । जे हासिल हुने हो त्यो अधिकार प्राप्तिको लडाइँबाट समय आएपछि हासिल भइहाल्छ भन्ने मेरो विश्वास छ ।
० एमालेबारे त केही बोल्नुभएन नि –
– ऊ प्रधानमन्त्रीको मैदानमा छैन तर सहमतिको निर्माणका सवालमा उसको भूमिका पनि त्यत्तिकै अहम् छ । त्यसैले हामीले भनेका छौँ, उसले आफ्नो धारणा तत्काल स्पष्ट गर्नु जरुरी छ । एमाले अहिलेसम्म द्विविधा या दोधारमा बसेको छ । उसको नेचर नै यस्तै देखिँदै आएको छ । यस्तो संवेदनशील अवस्थामा हाम्रो धारणा प्रस्ट पार्दै ऊ अगाडि आउनुपर्छ । बहुमतीयमै जानुपर्ने अवस्थामा त एमालेको प्रस्टीकरण झनै महत्त्वपूर्ण हुने हुनाले पनि उसले दोधारे नीति तत्काल त्याग्नुपर्छ ।
० उसले जता समर्थन गर्‍यो त्यतै लाग्ने हो तपाईंहरू यतिबेला –
– उसले परिस्थितिको सही मूल्याङ्कन गरेर सही निर्णय लियो भने हामीलाई त्यसको समर्थन गर्न के-को आपत्ति ? होइन भने त्यतिबेला हर्ेर्नुहोला हामी -मधेसी मोर्चा) यस्तो सटिक निर्णय गर्नेछौँ कि सबैले हाम्रो तारिफ नै गर्नेछन् मधेसी मोर्चाले सरकार निर्माणमा राम्रो भूमिका निर्वाह गर्‍यो भनेर ।
० फेरि ६/७ महिना लाग्ने पो हो कि प्रधानमन्त्री चयनका लागि –
– यसपटक त्यो परिस्थिति निर्माण हुन दिनेछैनौँ हामी । सहमति हुन सकेन भने पनि आगामी १२ गतेभित्र कुनै हालतमा नयाँ सरकार बनाउनुपर्छ ।
० संविधानसभाको म्याद नयाँ सरकारले नै थप्छ त्यो भए –
– हो । म्याद थप्नुपर्दा थप्ने त अब नयाँ सरकारले नै हो, काम चलाउले होइन ।
० माओवादीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएका डा. बाबुरामले तपाईं तथा मधेसी मोर्चाको अत्यन्त भरोसा गर्नुभएको सुनिन्छ नि, तपाईंहरूबीच कुनै गोप्य गठबन्धन भएको छ –
– त्यस्तो केही छैन । उहाँ विचारले कम्युनिस्ट भए पनि योग्य नेता हुनुहुन्छ भन्ने मलाई पनि लाग्छ तर न त माओवादीसँग न काङ्ग्रेससँग, दुवैसँग त्यस्तो कुनै गोप्य साँठगाँठ गरेका छैनौँ हामीले । सबै क्रियाकलाप पारदर्शी ढङ्गले नै हुनुपर्छ भन्ने मान्यता छ हाम्रो ।
० माओवादीको नेतृत्वमा मधेसी मोर्चा जानसक्छ कि सक्दैन, यदि बहुमतीयमा जानुपरेमा –
– यथास्थितिमा त काङ्ग्रेससँग पनि जान सकिन्छ नि ! उसले पनि विश्वास दिलाउनुपर्छ । सरकारको नेतृत्व गर्दा शान्ति र संविधानको सुनिश्चितता गर्न उससँग के छ मार्गचित्र त्यो हामीले पनि बुझन पाउनुपर्छ । संविधान निर्माणका सवालमा सङ्घीयतालगायतका मुद्दामा विवाद बाँकी छन्, त्यसको सम्बोधन कसरी गर्ने हो त्यो स्पष्ट पार्नुपर्छ । काङ्ग्रेस भन्नेबित्तिकैचाहिँ के हामी हाम्रा राजनीतिक मुद्दा र अडानहरू थाती राखेर त्यत्तिकै घुस्रिन जान्छौँ र ? त्यस्तैगरी माओवादीले पनि शान्तिप्रक्रियालगायतका सवालमा विश्वासको आधार खडा गर्नैपर्छ ।
० हिजो तपाईंले चाहेको भए प्रचण्ड पनि प्रधानमन्त्रीमा चुनिन सक्नुहुन्थ्यो, तर तपाईंले त्यसो हुन दिनुभएन, अब अहिले त्यही पार्टीका अर्का नेता बाबुरामचाहिँ तपाईंका लागि स्वीकार्य भए, कसरी ?
– त्यतिबेला प्रचण्डजीलाई मैले रोकेको होइन, उहाँ आफैं उम्मेदवारी छोडेर भाग्नुभएको थियो भन्ने स्मरण गरौँ । उम्मेदवार नै भागेपछि मैले कसरी प्रधानमन्त्री बनाउने ? अब अहिले न त देउवाजी न बाबुरामजी नै त्यसरी उम्मेदवारी छोडेर भाग्ने मुडमा देखिनुहुन्छ । उहाँहरू दुवै मैदानमा चट्टानझैं जमेका छन् । यसरी परिस्थिति फरक छ नि त –
० तपाईंको जुन राजनीतिक शक्ति देखिएको छ यो तपाईंको आफ्नै बुताको शक्ति नभएर बाह्य समर्थनबाट हासिल हो पनि भन्छन् नि कतिपयले, यसमा के भन्नुहुन्छ –
– अत्यन्त गलत आरोप हो यो । बाह्य शक्तिमा होइन म नेपाली जनताबाट प्राप्त हुने शक्तिमा मात्र विश्वास गर्छर्ुु एउटा आदिवासी, जनजाति थारू समुदायमा जन्मेको व्यक्ति हुँ, राष्ट्रवादी चिन्तनले ओतप्रोत प्रजातान्त्रिक विचारवाहक हुँ र सबभन्दा महत्त्वपूर्ण त म एक स्वाभिमानी नेपाली नागरिक हुँ । हिमाल, पहाड र तराईको सुसज्जित नेपाल राष्ट्रको अखण्डताप्रति अविचल एक सेवक हुँ । तर्सथ कुनै अन्य शक्तिले मलाई नाजायज प्रभावमा पार्ने प्रश्नै छैन ।
० छिमेकी मित्रराष्ट्र भारतले तपाईंलाई कत्तिको प्रभावमा पारेको होला –
– भारत हाम्रो असल मित्र हो । छिमेकी चीन पनि नेपालको शुभचिन्तक नै देखिँदै आएकोमा बहस गरिरहनु नपर्ला । नेपाल राष्ट्रका लागि मैले जे-जस्तो भूमिका निर्वाह गरिरहेछु, यसका आधारमा छिमेकी भारतका नेताहरूले मलाई चिन्नुहुन्छ । तर, आज म नेपाली राजनीतिको जुन स्थानमा छु, यो नेपाली जनताको साथ, सहयोग, प्रेम, प्रेरणा र शक्तिकै कारण छु ।
० अहिलेको स्थितिमा भारतले शेरबहादुर देउवा पक्षमा मोर्चाबन्दी गर भन्ने सुझाव तपाईंलाई दियो भने तपाईं के गर्नुहुन्छ –
– यो हामीले नै गर्ने निर्णय हो भन्ने मित्रराष्ट्र भारतलाई राम्ररी थाहा छ । त्यसो हुनाले भारतले यसको या उसको पक्षमा मोर्चाबन्दी गर भनेर भन्दैन, भन्ने कुरा पनि आउँदैन । जसले जे भने पनि हामी स्वविवेककै आधारमा अघि बढ्नेछौँ भन्नेमा आश्वास्त पार्न चाहन्छु ।
० अन्त्यमा भनिदिनुस्, बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने कुरामा पनि तपाईंहरूलाई कुनै आपत्ति छैन, होइन त –
– यदि माओवादीले शान्तिप्रक्रियाका बारेमा विश्वासनीय आधार प्रस्तुत गर्‍यो भने बाबुराम भट्टराईजीको सम्भावना छ । अहिलेसम्म त दुवै उम्मेदवारको त्यत्तिकै सम्भावना छ । मैले तोकेर त बन्ने होइन, जतिबेला मैले तोकेको व्यक्ति प्रधानमन्त्री बन्ने अवस्था आउँछ त्यतिबेला तोकेरै भनिदिउँला ।

यसपटक नेतृत्वको मौका माओवादीले नै पाउनुपर्छ-पोष्टबहादुर बोगटी -नेता, एकीकृत नेकपा माओवादी)
० यसपटक राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना कति छ –
– राजनीतिमा अनेक सम्भावना हुन्छन्, त्यसैले सम्भावनालाई इन्कार नगरौँ । तर, अहिलेसम्मको पहल र प्रयासहरू निर्रथकजस्तै देखिएकोले सहमतिको सम्भावना क्षीण भएको देखिन्छ ।
० कारण के होला –
– कारण त उही त हो- सहमति नबन्नु !
० दोषी त होला नि कोही यसका लागि –
– यतिबेला नेपाली काङ्ग्रेस र एमाले पनि जसरी प्रस्तुत भइरहेका छन्, दोषी त्यतैतिर खोज्न सकिन्छ । उहाँहरू बाहिर सहमतिको कुरा चर्कोसँग गर्ने तर शान्तिप्रक्रियालाई सहज रूपमा टुङ्ग्याउनचाहिँ नचाहने खालको भूमिकामा देखिनुभएको छ । हामी सम्मानजनक रूपमा शान्तिप्रक्रियाले निकास पाओस् भनेर अत्यन्त लचिलो भएर प्रस्तुत भएका छौँ, तर उहाँहरूले हाम्रो लचकतालाई पूरै बेवास्ता गरेर आफ्नै ढिपीमा एकोहोरोपन देखाइरहनुभएको छ । अब यस्तोमा दोषी आफैं छुट्याउनुस् ।
० नेपाली काङ्ग्रेसले त माओवादी नै सहमतिको बाधक हो, ऊ सेना समायोजन गर्न पनि चाहँदैन र शान्तिप्रक्रियालाई यत्तिकै अल्झाउन चाहन्छ भन्ने आरोप लगाइरहेको छ नि त !
– आरोपका लागि आरोप लगाउनु त एउटा कुरा भयो, तर त्यो कति वास्तविक र तर्कसङ्गत छ भन्ने पनि विचार गरिनुपर्छ । मोडालिटी, र्‍याङ्किङ, नम्बरिङ आदि सबै कुरामा हामीले आफ्नो अडानबाट लचकता देखाएर धारणा प्रस्तुत गरिसकेका छौँ, राहत र पुनर्स्थापनाको प्याकेजमा पनि अत्यन्तै लचिलोपन दर्शाइसकेका छौँ, अनौपचारिक कुराकानीमा यी प्रस्तावहरू अत्यन्तै राम्रा छन् भनी काङ्ग्रेस र एमाले दुवै दलका नेताहरू स्वीकार पनि गर्छन् । जब औपचारिक वार्तामा गइन्छ अनि उहाँहरू कहिले कता त कहिले कता मोडिन थाल्नुहुन्छ । हामी पनि छक्क परिरहेका छौँ ।
० उनीहरू नै उल्टा हुन् त त्यसो भए –
– अवश्य ! जे-जे गर्दा शान्तिप्रक्रियाले निकासको बाटो नपाउने हो उहाँहरू त्यही-त्यही कुरा गर्नुहुन्छ । यो नेपाली राजनीतिकै विडम्बनाको पाटो हो । यहाँ बुझनुपर्ने कुरा के छ भने शान्तिप्रक्रियाको समग्र पाटो नै माओवादी हो भनेर प्रचार गरिएको छ, यो खतर्नाक कुरा हो, यथार्थ के हो भने शान्तिप्रक्रियाको समग्र पाटो नभएर माओवादी एउटा पाटो हो, एउटा पक्ष हो । माओवादीले मात्रै चाहेर हुने भए त भइसक्थ्यो नि उहिल्यै, अर्को पक्ष पनि त सहमतिमा आउनुपर्‍यो नि ! अर्को पक्ष पनि लचकदार बन्नुपर्‍यो, आफ्नो ढिपी छोड्नुपर्‍यो नि, होइन र ? माओवादी जत्तिकै गम्भीर भएर काङ्ग्रेस-एमाले पनि आउनुपर्‍यो । बल माओवादीको कोर्टमा भन्दै ‘रिर्टन’ मात्र गरिरहने होइन कि बल पक्रेर ‘र्सर्भिस’ पनि गर्नुपर्‍यो उहाँहरूले । शान्तिसँग अरू विषयहरू पनि जोडिएका छन् तर उहाँहरू केवल माओवादी लडाकुको कुरा मत्र दोहोर्‍याइरहनुहुन्छ । यो निकास होइन, बखेडा झिक्ने मेलो हो ।
० तपाईंको पार्टी अध्यक्षले पनि सहमति हुन नसक्ने विचार प्रकट गरिसक्नुभएको छ, अब बहुमतीय पद्धतिमा गइयो भने पनि माओवादी पार्टीको उम्मेदवार त बाबुराम भट्टराई नै हुनुहुन्छ, होइन –
– भरसक सहमतिबाटै अघि बढ्ने नभए बहुमतीयमा जाने र त्यस अवस्थामा पनि हाम्रो उम्मेदवार डा. बाबुराम भट्टराई नै हो भनेर हाम्रो पार्टीले त निर्णय गरेकै हो । त्यस्तो कुनै विशेष परिस्थिति उत्पन्न हुन पनि सक्ला भन्ने पाटोबाट त हामीले छलफल र विश्लेषण गरेका छैनौँ, अन्यथा बाबुरामजीले नै सरकारको नेतृत्व गर्ने हो भन्ने नै पार्टी निर्णय हो ।
० जसरी पनि बाबुराम भट्टराईलाई नै प्रधानमन्त्री बनाउने पक्षमा उभियो त्यसो भए माओवादी –
– उम्मेदवार खडा गरिसकेपछि जसरी पनि बनाउन लागिपर्नुपर्छ नि पार्टीले, होइन र –
० प्रचण्डजीले दिलदेखि नै चाहनुभयो भने त डा. भट्टराई प्रधानमन्त्री बन्न नसक्ने सवाल नै छैन भन्छन् नि मानिसहरू, किन होला –
– प्रचण्डजीले बाबुरामजीलाई प्रधानमन्त्री बनाउनै चाहनुहुन्न भनेर जो प्रचार गरिएको छ त्यो नितान्त गलत कुरा हो । कोही व्यक्तिले चाहने या नचाहनेभन्दा पनि अहिले भनेको एमालेले कसरी निर्णय गर्छ, संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरू कसरी अघि बढ्न खोज्छन् भन्ने कुराले पनि नतिजामा असर पार्छ । अध्यक्ष प्रचण्डले त पार्टीका तर्फबाट गर्नुपर्ने निर्णय गरि्दसक्नुभएकै छ ।
० भनेपछि मधेसी मोर्चाको समर्थनबाट बाबुराम भट्टराई प्रधानमन्त्री बन्न सक्नुहुन्छ –
-भोलि बहुमतीयमै जानुपर्दा हामी र मधेसवादी मोर्चा मात्रै एक भयौँ भने पनि बाबुरामजी प्रधानमन्त्री बन्न सक्नुहुन्छ । संसद्को समीकरणले स्पष्ट पारेको कुरा नै हो नि यो त । तर, सबै दलसँग हाम्रो छलफल चलिरहेको छ, चल्नेछ । सहमतिबाटै भएको राम्रो हुन्छ भन्ने हाम्रो ठहर हो ।
० त्यसो भए यसपटक माओवादीले गोल’ गर्ने नै भयो होइन –
– अहिलेसम्मको हाम्रो विश्वास त त्यही नै हो । राष्ट्रको समस्याहरू समाधान गर्ने सवालमा बहुमतीय आधारमा बनेको सरकारका लागि त्यो काम चुनौतीपूर्ण हुनसक्ने भएकोले सहमति खोज्नु परिस्थितिजन्य बाध्यता नै हो । आमचाहना पनि यही हो ।
० तपाईंहरू काङ्ग्रेसको नेतृत्वचाहिँ स्वीकार नै नगर्ने –
– हामीले त्यसो भनेका छैनौँ । आलोपालोमा सहमति बन्यो भने हामी उसको नेतृत्व पनि स्वीकार गर्दछौँ तर यसपटकचाहिँ होइन । अहिले हाम्रै नेतृत्वमा हुनुपर्छ, किनकि संविधानसभाको निर्वाचनयता पहिलोपटक बन्ने राष्ट्रिय सहमतिको सरकारमा सबभन्दा ठूलो दलको नाताले पहिले हामीले नै नेतृत्व गर्न पाउनुपर्छ । त्यसपछि काङ्ग्रेस, एमाले र अन्यको पालो आउने हो । -ऋषि धमला