उपाधि इंग्ल्यान्डको पोल्टामा, दिल जित्यो न्यूजील्यान्डले

उपाधि इंग्ल्यान्डको पोल्टामा, दिल जित्यो न्यूजील्यान्डले


आइसीसी विश्वकप क्रिकेट २०१९ को फाइनल खेल ऐतिहासिक, अकल्पनीय र अविश्वसनीय रुपमा सम्पन्न भएको छ ।

निर्धारित ५० ओभरको खेलमा आयोजक इंग्ल्यान्ड र न्यूजील्यान्डले समान २ सय ४१ रन बनाएपछि विश्वकप विजेताको निर्णय सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले १५ रन बनाएर न्यूजील्यान्डलाई विजयको लागि १६ रनको चुनौती प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा न्यूजील्यान्डले पनि १५ रन बनाएपछि सुपर ओभर पनि टाई भएको थियो ।

सुपर ओभर टाइ भएपछि अधिक चौका प्रहार गरेका कारण इंग्ल्यान्ड विश्व च्याम्पियन बन्न पुग्यो । तीनपटक विश्वकपको फाइनलमा पुगेको इंग्ल्यान्डको यो पहिलो विश्वकप उपाधि हो ।

फाइनलमा टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्यान्डले निर्धारित ५० ओभरमा २ सय ४१ रन बनाएको थियो । २ सय ४२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको इंग्ल्यान्डले सोचेको जस्तो प्रदर्शन गर्न सकेन । हारको मुखमा पुगिसकेको इंग्ल्यान्डका लागि अन्तिम ५० ओभर लक्की सावित भयो । अन्तिम ओभरमा जितका लागि १५ रन बनाउनुपर्ने बाध्यता रहेकोमा पहिलो दुई बल डट भएपछि इंग्ल्यान्ड प्रायः हारिसकेको थियो । तर तेस्रो बलमा वेन स्ट्रोकले छक्का प्रहार गरेपछि इंग्ल्यान्ड पुन खेलमा फर्र्कियो । त्यसपछि दुई रन लिने क्रममा न्यूजील्यान्डका खेलाडीले फ्याँकेको थ्रो स्ट्रोकको ब्याटमा लागेर चौका भएको थियो । जितको लागि अन्तिम २ बलमा ३ रनको चुनौती भए पनि इंग्ल्यान्ड २ रनमा सीमित हुँदा म्याच टाई भएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुग्यो ।

फाइनल खेलमा पूर्ण रुपमा पकड बनाए पनि अन्तिम ओभर न्यूजील्यान्डका दुर्भाग्य सावित भयो । यदि न्यूजील्यान्ड खेलाडीले फ्याँकेको थ्रो ब्याटमा लागेर चौका नभएको भए न्यूजील्यान्डले बाजी मारिसकेको थियो । खेल ५० ओभरमै समाप्त भैसक्थो । तर हारको मुखमा पुगेर पनि भाग्यले साथ दिँदा इंग्ल्यान्ड विजयी बन्यो । निर्धारित ५० ओभर र सुपर ओभरमा बराबरी खेलेको न्युजील्यान्ड अधिक चौका प्रहारका कारण पराजित हुनु प¥यो । फाइनल खेलमा इंग्ल्यान्डले २४ र न्यूजील्यान्डले १६ चौका प्रहार गरेका थियो ।

विश्वकप क्रिकेटको इतिहासमा पहिलोपटक निर्धारित ५० ओभर र सुपर ओभरमा टाई भएको यो पहिलोपटक हो । न्यूजील्याण्ड फाइनलमा यी दुवै खेलमा नहारे पनि विश्वकपको ट्रफी उचाल्नबाट भने वञ्चित बन्यो । फाइनलमा न्यूजील्यान्ड सुन्य रनले पराजित भएको थियो । सुन्य रनले पराजित हुनुको पीडा न्यूजील्यान्डको लागि अविष्मणीय बन्न पुगेको छ । यो विश्वकप क्रिकेटको इतिहासमा एउटा कीर्तिमान बनेर रहनेछ ।

त्यस्तै, भाग्यमानी इंग्ल्यान्डले पहिलो विश्वकपको उपाधि जित्दा निकै सकसको सामना गर्नु परेको छ । न्यूजील्यान्डको जित मुखबाट खोसेर ल्याएको इंग्ल्यान्डले विश्वकपको उपाधि जिते पनि न्यूजील्यान्डको चर्चा विश्वकप विजेताभन्दा कम भएको छैन । न्यूजील्यान्डले विश्वकप नजिते पनि सम्पूर्ण क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ । साँचो रुपमा भन्नुपर्दा यो जित इंग्ल्यान्ड र न्यूजील्यान्ड दुवै हो । दुवै यसको हकदार हुन् ।