बाढीप्रभावितलाई काङ्ग्रेसी सांसदहरूले पाँच दिनको तलब दिने

बाढीप्रभावितलाई काङ्ग्रेसी सांसदहरूले पाँच दिनको तलब दिने


नेपाली काङ्ग्रेसका सांसदहरूले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहतस्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले एक विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान गरेको छ ।

काङ्ग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अपर्ण तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

पाँच दिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट विभिन्न जिल्लाका झण्डै पाँच दर्जन नागरिकले ज्यान गुमाएका छन् । कैयौँ नागरिक बेपत्ता, सयौँ घाइते तथा हजारौंँ प्रभावित भएका छन् । महत्वपूर्ण राजमार्ग अवरुद्ध भएको, अत्यावश्यक सेवा अवरुद्ध भएको, अर्बौैँ रुपैयाँ बराबरको घर, खेत, धनमाल र बाली नष्ट भएको वर्तमान अवस्थामा विपद् व्यवस्थापन, उद्धार राहत र पुनःस्थापना सम्बन्धी विषयमा संसद्मा गम्भीर छलफल गर्न आवश्यक भएको काङ्गे्रसले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले बाढीपहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रतिनिधिसभाको आजको बैठकको अन्य कारवाही स्थगन गरी विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नदेखिएको आरोप लागाएको छ ।

‘यस सम्बन्धमा संसद्मा छलफल गरी सांसदको धारणा सुनेर सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । विपद्का बेला सबै शक्ति एकजुट भई यसको सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउन, विपद्बाट उद्धार, राहत र पुनःथापनामा जुट्नुपर्नेमा सरकार संसद्को सामना गर्न नै तयार नहुनु दुःखद् कुरा हो’, काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।