प्रगतिशील पत्रकार र पर्शुराम-आनन्द श्रेष्ठ

प्रगतिशील पत्रकार र पर्शुराम-आनन्द श्रेष्ठ


यतिबेला जात्राको सिजन चल्दै छ । हरेक दिन गाईजात्रा, हिलेजात्रा, घोडेजात्रा, सडकभरि देख्न पाइन्छ । तर यी सांस्कृतिक जात्रालाई उछिन्दै दिनदिनै सरकार परिवर्तन हुने राजनीतिक जात्रा, बाढीपहिरो आएर प्राकृतिक जात्रा र हुँदाहुँदै लुटपाट, हत्या र अपहरण, पत्रकार भकुर्ने, गुण्डागर्दीलगायतका जात्राले पनि देश आक्रान्त भएको छ । महङ्गी, भ्रष्टाचारको जात्राको त कुरै नगरौँ, बेसिजनमा पनि यो त चलिरहेकै हुन्छ ।
तर यी सबै जात्रामध्ये अहिले चर्चा गर्न लागेकोचाहिँ प्रगतिशील पक्षधर गुण्डाका ‘डन’ पर्शुराम बस्नेतले विराटनगरका प्रगतिशील पत्रकार खिलानाथ ढकाललाई कुटेर देखाएको जात्राको हो । पर्शुराम नामै विवादास्पद हो । पुराणकालीन शास्त्रअनुसार पर्शुरामको व्यहोरा पशुको जस्तो हुन्छ, अर्थात् ऊ मान्छे भए पनि पशु हो । तर, जसले राम्रो काम या सबैको संरक्षण गर्छ, त्यसरी मानिसलाई माया गर्नेचाहिँ राम कहलिन्छ । यी दर्ुर्ुइ भिन्न विशेषता बोकेका नामलाई एकसाथ संयोजन गर्दा पर्शुराम भनियो होला । अब एउटै मान्छे कसरी पशु पनि र राम पनि हुन सक्छ त ? कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं नेपालमा पर्शुरामजस्ता मानिसले दुवै नाम र कामको भूूमिका निभाएको उदाहरण प्रशस्त देख्न/सुन्न पाइन्छ ।
पर्शुराम बस्नेतलाई अहिलेसम्म नेपालका एक लाख सेना, एक लाख प्रहरी, ५० हजार सशस्त्र प्रहरी र पाँच हजार गुप्तचरले पक्रन सकेका छैनन् । अदालतले ७२ दिनभित्र हाजिर हुन पर्ुर्जी काट्दा पनि उनले टेरेका छैनन् । बरु उल्टै उनी पशु मात्र होइन हाम्रा लागि चौबीसै घन्टा चन्दा असुली, अपहरण, गुण्डागर्दी गरेर पार्टी चलाउने ‘राम’ हुन् भन्दै उनको रिहाइका लागि एमालेका कतिपय नेता/कार्यकर्ताले आमसभा, धर्ना, जुलुस, बन्द, हडताल गरेको देख्ता दुनियाँले योभन्दा राम्रो व्यङ्ग्यले भरिएको कहालीलाग्दो गाईजात्रा कहाँ देख्न पाइएला र ? भलै उनी पत्रकार र विराटनगरका जनताका लागि पशु नै होऊन् तर उनी चानचुने डन नभएर प्रगतिशील पर्शुरामचाहिँ पक्कै हुन् । किनभने, उनी प्रगतिशील पार्टी नेकपा -एमाले)सम्बद्ध युवा सङ्घका जिल्ला अध्यक्ष हुन् ।
नेपालका कम्युनिस्ट पार्टीले आफ्ना भ्रातृ सङ्गठनहरूलाई कुनै चुनावमा उठाउँदा सगौरव प्रगतिशील पक्ष भनेर चिनाउँछन् । चुनाव जित्यो भने त हामी पत्रकारहरू नै भङ्गेरे अक्षरमा लेख्ने गर्र्छौं ‘फलनाको चुुनावमा प्रगतिशील पक्षको विजय’ भनेर । तर, अहिले पर्शुरामले पत्रकार कुट्यो भन्दैमा उनी प्रगतिशील भन्ने पगरीबाट वञ्चित हुन कदापि सक्दैनन् । फेरि उनले त आफ्नै प्रगतिशील पार्टीसम्बद्ध प्रगतिशील पत्रकारहरूको सङ्गठन प्रेस चौतारी मोरङका सदस्यलाई नै भकुरेका छन् !
पेसाले खिलानाथ नागरिक दैनिकका कामदार पत्रकार भए पनि राजनीतिक पार्टीको नाताले उनी पर्शुरामका साख्यै दाजुभाइ हुन् । सङ्गठनभित्र या बाहिर चुनाव हुँदा यी दाजुभाइ साहै्र मिलेर काम गर्छन् । एक-आपसमा सूचना गुण्डागर्दीको आदान-प्रदान हुन्छ । यो जुनसुकै पार्टीको भ्रातृ सङ्ठनभित्र लागू हुने कुरा हो । अचम्मचाहिँ के छ भने सरकारलाई चलाएर बसेको पार्टीका दुई भ्रातृ संस्थाका सदस्यहरूबीच कुटाकुट हुँदा एकथरी नेता ‘डनलाई पक्रनुपर्छ’ भन्छन् । अर्काथरी नेता ‘लौ पक्रेर देखा त’ भन्दै सभा-समारोहमा कर्ुलन्छन् । अन्ततः पक्रन नसक्दै प्रधानमन्त्री पद नै खुस्की सक्यो । योभन्दा ठूलो अर्को गाईजात्रा के हुन सक्छ ?
यता पत्रकार महासङ्घको राँडोरुवाइ पनि उदेकलाग्दो छ । पत्रकारको हकहितका लागि भनेर खोलिएको संस्था पत्रकार महासङ्घले भर्खरै काठमाडौंमा लाखौँ स्वाहा पारेर महाधिवेशन सम्पन्न गर्‍यो । सो महाधिवेशनमा नेपालकै पत्रकारिताको इतिहासमा पहिलोपटक सभापति पदसहित प्रगतिशील पक्षधर पत्रकारहरूले चुनाव जिते । त्यसमा पनि सभापतिलगायत धेरै साथी प्रेस चौतारीकै छन् । देशमा प्रगतिशील पत्रकारहरूले महासङ्घ सम्हालेको बेला प्रगतिशील गुण्डाहरूले नै पत्रकारहरूलाई रगत छाद्नेगरी कुटाइ खाइरहनुपर्ने अनि उल्टै प्रगतिशील नेताहरूलेे सार्वजनिक स्थलमा उभिएर पत्रकारहरूलाई थुन्छाँै, पत्रिका नै बन्द गराउँछौँ भन्दै हिँड्दा पनि नारा जुलुस-धर्नासिवाय अरू केही गर्न नसक्ने महासङ्घले हामी पत्रकारहरूको हकहितमा कसरी लड्लान् ? हामी मोफसलका पत्रकारमाझ गम्भीर प्रश्न खडा भएको छ । राजीनामा खल्तीमा बोकेर बसेका प्रधानमन्त्रीसमक्ष गुहार माग्दै काठमाडौंका सम्पादक समूह जानुमा पनि कुनै तुक देखिँदैन । किनभने प्रधानमन्त्रीलाई राम्ररी थाहा छ । आप्नै पार्टीका वरिष्ठ नेताहरूको आदेशबिना पर्शुरामलाई पक्रन सकिँदैन भनेर । आफ्ना होनहार कार्यकर्ताहरूलाई पक्राउ गर्न को नेता अघि र्सलान् र यो नेपालमा ! यो कुरा पनि सबै पार्टीहरूमा लागू हुन्छ । त्यसैले त दुई महिनासम्म पनि सिङ्गो राज्यसंयन्त्रले जाबो एउटा पर्शुरामलाई पक्रन त के छेउसम्म पनि पुग्न सकेनन् ।
यतिबेला हामी मोफसलका सञ्चारकर्मीहरूलाई एउटै प्रश्न एउटै डरत्रासले सताएको छ । के त अब पर्शुरामलाई कसैले पक्रन सक्दैन ? सधंै यस्तै गुण्डाहरूको राजमा कतिन्जेल बाँच्नुपर्ने हो ? यो प्रश्नको जवाफ कसले दिने ?
यदि राजधानीमा बसेर महासङ्घ चलाउँदै बस्ने अगुवा पत्रकारहरू मोफसलमा बसेर कलम चलाउनेले कुटाइ खाएपछि मात्र प्रेस विज्ञप्ति निकालेर बस्ने हो भने महासङ्घप्रति हाम्रो मोह भङ्ग हुँदै जाने पक्का छ । होइन तपाईंहरू पक्का प्रगतिशील हुनुहुन्छ भने र ती पार्टीका गुण्डाहरूलाई तह लगाउनुहुन्छ भने प्रगतिशील पत्रकारलाई कुट्ने आफ्नै पार्टी र नेताहरूलाई किर्नाले भैंसी छाडेझैं अविलम्ब छाडिदिनुहोस् । हामी प्रगतिशील गुण्डाहरूलाई आरक्षण दिने पार्टीको प्रेस चौतारीमा बस्दैनौँ भनेर सामूहिक रूपमा राजीनामा दिनुहोस् । अनि देख्नुहुनेछ नतिजा । पर्शुराम त के पर्शुरामको संरक्षकहरू पनि खुरुखुरु बाहिर आउन बाध्य हुनेछन् । नत्र तपाईंहरू पनि गुण्डागर्दीको छोइछिटोमा पर्नुहुनेछ । तपाईंले कुटाइ खाने पत्रकारको पक्षमा गरेका विरोध, धर्ना, जुलुस, प्रेस विज्ञप्ति सबै नेताले देखाउने गरेका नाटकजस्तो गोहीको आँसुमात्र ठहरिनेछ । त्यसले स्थायी समाधान निकाल्दैन । जब यो देशका प्रधानमन्त्रीले आफनो पार्टीको कार्यकर्तालाई कारबाही गर्न सक्दैन भने हामीले जिल्ला-जिल्लामा सिडियो, पुलिस प्रशासनको अगाडि धर्ना जुलुस, चक्काजाम गर्नु भनेको बुझी-बुझी बुझ पचाउने बेवकुफी काम मात्र हो । हामी कतिन्जेल औपचारिकतामा बाँच्ने ? गुण्डाको कुटाइ त अनौपचारिक हुन्छ । उनीहरूलाई कारबाही हुनुपर्छ भन्ने माग र कार्यक्रम मात्र किन औपचारिक निभाउने ? त्यसैले गृह मन्त्रालय चलाएर बस्ने माओवादी र प्रधानमन्त्रीको कुर्सीमा विराजमान एमालेसम्बद्ध क्रान्तिकारी पत्रकार सङ्घ र प्रेस चौतारीका साथीहरूले राँडोरुवाइको नाटक गर्न आजैदेखि बन्द गरौँ ।