■ श्रीविक्रम भण्डारी
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ‘इमर्जेन्सी’ घन्टी बजिसकेको छ यतिबेला । उक्त इमर्जेन्सी घन्टीको आवाजसँगै खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ सागलाई सफल र परिणाममुखी बनाउन कम्मर कसेका छन् । त्यसको लागि काठमाडौंदेखि पोखरासम्मको दौडाहा गर्नुको साथै राष्ट्रिय सङ्घका पदाधिकारीसँग छलफल र ठेकेदारसँग लिखित प्रतिबद्धतापत्रसमेत मागेका छन् ।
त्यस्तै १३औँ सागमा समावेश २७ खेल सङ्घका पदाधिकारीलाई सागलाई सफल बनाउन सबै ‘प्रयासरत’ हुनुपर्ने र आफूहरू पनि ‘प्रयासरत’ रहने उद्घोष गरेका छन् । यतिबेला सम्बन्धित निकायका जिम्मेवार व्यक्तिले १३औँ सागको ठोकुवा गर्नुको सट्टा ‘प्रयासरत’ शब्दलाई बढी महत्व दिँदा कताकता सागको आयोजनामा शङ्का–उपशङ्का उत्पन्न भएको छ ।
१३औँ साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुँदै छ । तीनपटक सागको समय सारणी गरेपछि खेलकुद मन्त्रालयले तोकेको यो अन्तिम मिति हो । सागको मिति तोकिएसँगै २७ खेलका सम्पूर्ण सङ्घका पदाधिकारीलाई ‘एलर्ट’ राख्दै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने काम भयो । किस्ताबन्दीमा शुभारम्भ भएको बन्द प्रशिक्षण २० खेलभन्दा माथि पुग्न सकेन । बजेटको अभाव, प्रशिक्षण स्थलको अभाव र सङ्घका पदाधिकारीको गैरजिम्मेवारीका कारण अन्य ७ खेल बन्द प्रशिक्षणको घेराभित्रै पर्न सकेनन् । जुन यद्यपि कायम छ । यसबारे राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राईसँग सम्पर्क गर्दा उनले पहिलो प्रशिक्षण ‘बन्द प्रशिक्षण’ नभई ‘विशेष प्रशिक्षण’मात्रै भएको बताए ।
साथै राईले पुरानो बजेट बाँकी रहेका कारण २० खेललाई विशेष प्रशिक्षणमा राखिएको खुलासा पनि गरे । सागको बन्द प्रशिक्षण यही सातादेखि शुरु हुने दाबी गर्दै राई भने, ‘त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । बाँकी ६ खेलका खेलाडीको नामावली आइसकेको र क्रिकेटको मात्रै बाँकी रहेको छ ।’ तर, विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई बन्द प्रशिक्षणमा रहेको भन्दै सम्बन्धित निकायले किन भ्रमको खेती गऱ्यो त्यसको जवाफ खेलकुदमन्त्री विश्वकर्माले अवश्य दिनुपर्नेछ ।
समयले नेटो काटिरहेको छ, १३औँ सागको आयोजना हुन मात्रै चार महिना बाँकी छ । विडम्बना ! यतिबेलासम्म मुलुकको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’ले पूर्ण रूपमा काँचुली फेर्ने सकेको छैन । भीआईपी प्यारापिटको आधा कार्य सकिए पनि आधा बाँकी नै छ । त्यस्तै दशरथ रंगशालाको पूरै प्यारापिटमा सिट हाल्ने कार्य अहिलेसम्म शुभारम्भ भएको छैन । स्मरण रहोस्, सिट नहालेको रंगशालालाई ‘अन्तर्राष्ट्रिय रंगशाला’ मानिँदैन र त्यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न पनि नियमानुसार मिल्दैन । त्यस्तै, दशरथ रंगशाला मैदानलाई सम्याउने र दुबो रोप्ने कार्यको पनि अहिलेसम्म थालनी भएको छैन । १३औँ सागको उद्घाटन समारोेहको आयोजना गरिने दशरथ रंगशाला कात्तिकभित्रै पूर्ण रूपमा तयारी हुने सम्बन्धित निकायले दाबी गरेको छ ।
तर, वर्षात्को मौसम र त्यसबेला पर्ने ठूला चाडबाडको चपेटामा दशरथ रंगशाला पर्न सक्ने सम्भावना उत्तिकै देखिन्छ । त्यस्तै पोखरा रंगशालाको निर्माण पनि कछुवाकै चालमा छ । निर्माणको जिम्मा पाएको संस्थाले निश्चित मिति नतोके पनि समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेको छ । त्यस्तै १३औँ सागको अर्को महत्वपूर्ण पाटोको रूपमा रहेको सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडीपोखरीको अवस्था पनि यस्तै छ । युद्धस्तरमा कार्य गर्दासमेत कात्तिकको अन्तिम साताभन्दा अघि हिटिङ पौडीपोखरीको निर्माण हुने देखिँदैन । यो कुरालाई सङ्घका अध्यक्ष अशोक बज्राचार्यले पनि स्वीकार गरेका छन् ।
म खेलकुदमा जागिर खान आएको व्यक्ति होइन, काम गर्न आएको हुँ । म चुनौतीसँग डराउँदिनँ, साग हुन्छ, हुन्छ, हुन्छ, जसरी पनि गरिन्छ । जुन आँट, साहस र विश्वासमा साथ म खेलकुदमा आएको छु त्यसले मलाई गन्तव्य पुऱ्याउनेमा ढुक्क छु । रावणजस्तो ज्ञानी, बुद्धिमानी, शक्तिशाली र तपस्वी भएर पनि अभिमानीचाहिँ म होइन । म विधिसम्मत, अनुशासित ढङ्गले १३औँ सागलाई उत्कृष्ट र ऐतिहासिक बनाउन चाहन्छु ।
यसबाहेक १३औँ सागको लागि खेलकुद मन्त्रालयले अहिलेसम्म कार्यविधि ल्याउन सकेको छैन । गत साता खेलकुदमन्त्री विश्वकर्माले अर्को साता कार्यविधि आउने बताए पनि त्यो कुर्लने कार्यबाहेक अरू केही भएको छैन । साँचो रूपमा भन्ने हो भने कार्यविधि कहिले आउँछ, त्यसको अत्तोपत्तो छैन । १३औँ सागप्रति सरकारको यस्तो रवैयाले अहिलेसम्म गठन भएका समिति मूकदर्शक बनेका छन् भने उपसमितिहरू गठन नै हुन सकेका छैनन् । यस्तो अवस्थामा १३औँ साग धरापमा पर्दै गएको आमखेलकुदकर्मीले महसुस गरेका छन् ।
उनीहरू भन्दै थिए, ‘अहिलेसम्म कुनै सुरसार नै छैन, कसरी हुन्छ साग ?’ त्यस्तै साग गर्नका लागि मात्रै गर्ने होइन, त्यसले औचित्य पनि पुष्टि गर्नुपर्छ । पहिले र अहिलेको सागको आयोजनाको स्तरमा आकाश–जमिनको फरक परिसकेको छ । यो छोटो चार महिनाको अवधिमा नेपालले अन्तर्राष्ट्रिय मापडण्ड कायम गर्दै सागको आयोजना गर्न सक्ला ? त्यो अहिले सर्वत्र चर्चा र चासोको विषय बनेको छ ।
यस्तो विषम स्थितिमा पनि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल भने ढुक्क देखिएका छन् । कारण जे पनि हुन सक्ला, तर सिलवालको आत्मविश्वास र सकारात्मक सोचलाई भने सलाम गर्नैपर्छ । सिलवालले बारम्बार भन्दै आएका छन्, ‘१३औँ साग मेरो पहिलो चुनौती हो, त्यसमा पनि पूर्वाधार हो ।’ प्राज्ञको रूपमा समेत सुपरिचित सिलवालले सुगाले रटेझैँ रठेर साग हुन्छ, जसरी पनि गर्नैपर्छ, किन भनिरहेका छन्, त्यसको पछाडि पनि ठूलो रहस्य लुकेको हुन सक्छ । अन्यथा राखेपको सदस्यसचिव भएको दोस्रो साता पनि नबित्दै १३औँ साग नभए आफूले सदस्यसचिवबाट राजीनामा दिने घोषणा कदापि सार्वजनिक रूपमा गर्दैनथे होला ।
१३औँ सागका कारण यतिबेला मुलुकको मान, सम्मान र प्रतिष्ठा दाउमा लागेको छ । यो कुरालाई सूक्ष्म रूपमा अध्ययन गरेका सिलवालले त्यसैले १३औँ सागलाई आफ्नो प्रतिष्ठाको विषयसमेत बनाएका छन् । त्यसैले सिलवालले निर्देशन दिएका छन्, ‘पूर्वाधारले १३औँ सागको आयोजना रोकिन्न ।’ सिलवालको यो कुरामा कति दम छ, त्यसको विश्लेषण गर्दा चुनौतीपूर्ण देखिए पनि असम्भवचाहिँ छैन । प्रायजसो सम्पूर्ण पूर्वाधारको निर्माण युद्धस्तरमा भइरहेकोले पनि निर्धारित समयमा सागको आयोजना हुन सक्छ । तर… १३औँ सागको आयोजनाका लागि सरकार जति गम्भीर हुनुपर्ने थियो त्यस्तो भने देखिएको छैन । यो तीतो सत्य हो, यसलाई सिलवालले पनि आत्मसात् गरेको हुनुपर्छ ।
म चुनौतीसँग डराउँदिनँ, साग हुन्छ, हुन्छ, हुन्छ, जसरी पनि गरिन्छ । म खेलकुदमा जागिर खान आएको व्यक्ति होइन, काम गर्न आएको हुँ, मलाई पार्टीले काम गर्न सक्छ भनेर नै खेलकुदमा पठाएको हो । हो, यतिबेला सगरमाथाको आरोहण गर्नु जत्तिकै चुनौती मेरोसामु छ । त्यसमा मौसमले पनि त्यति साथ देलाजस्तो मलाई लाग्दैन । तर, जुन आँट, साहस र विश्वासमा साथ म खेलकुदमा आएको छु त्यसले मलाई गन्तव्य पुऱ्याउने कुरा ढुक्क छु । रावणजस्तो ज्ञानी, बुद्धिमानी, शक्तिशाली र तपस्वी भएर पनि अभिमानीचाहिँ म होइन । म विधिसम्मत, अनुशासित ढङ्गले १३औँ सागलाई उत्कृष्ट र ऐतिहासिक बनाउन चाहन्छु । यो मेरो प्रण हो, यही मेरो अर्जुनदृष्टि हो– सदस्यसचिव सिलवालले घटना र विचारसँग आफ्नो अभीष्ट खोले ।
प्रतिक्रिया