मानिसको छवि -बबिता बस्नेत

मानिसको छवि -बबिता बस्नेत


मानवीय प्रवृत्तिहरू अनेक छन् जसलाई सामान्यीकरण (जनरलाइज) गर्न सकिन्न । मान्छेको रूपरंग हेरेर, बोलीचाली सुनेर यो मान्छे यस्तै होला भनेर अनुमानसम्म गरे पनि निक्र्योल नै निकाल्न भने सकिँदैन । कुनै पनि मान्छे सय प्रतिशत राम्रो र सय प्रतिशत नै नराम्रो पनि हुँदैन, राम्रो र नराम्रोबीचको ‘ठीकै’ भन्ने कुरा जसमा पनि हुन्छ । मान्छे हो कमी-कमजोरी र सकारात्मक-नकारात्मक पाटाहरू सबैका हुन्छन् । आफूलाई जसले जतिसुकै राम्रो प्रमाणित गर्न खोजे पनि चाहेर-नचाहेर जीवनमा कहीँ न कहीँ कतै न कतै ऊ चुकिरहेको हुन सक्छ । मानवीय स्वभावका अनेक पाटाहरू छन्, कहिलेकाहीँ जीवनमा सोच्दै नसोचेका कल्पनै नगरेका घटनाहरू पनि भइदिन सक्छन् । प्रायः मानिसको प्रवृत्तिअनुरूपको छवि साथीभाइ, पारिवारिक सदस्य र परिचितहरूमाझ छाइरहेको हुन्छ । सार्वजनिक जीवन बिताउनेहरूका लागि उसका बारेमा बाहिर छाएको छविले विशेष महत्त्व राख्छ । सार्वजनिक जीवनमा हुनेहरूमध्ये धेरैजसो मानिस आफ्नो छवि नधमिलियोस् भनेर विशेष र्सतर्कता अपनाउने कोसिस गर्छन् । सार्वजनिक जीवनमा भएका मानिसको छवि सुधार्ने र बिगार्ने दुवै कुरामा व्यक्ति स्वयम्को सँगसँगै मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले प्रस्तुत गरेको सकारात्मक छविकै कारण कति मानिस राष्ट्रिय भूमिकामा छन् भने कतिचाहिँ राम्रा मानिसहरू पनि ओझेलमा परेका छन् । राजनीतिमा मात्र नभएर गीत, सङ्गीत, कला, साहित्यदेखि लिएर सबै क्षेत्र, पेसा र व्यवसायमा यो कुरा लागू हुन्छ, हुँदै आएको छ ।
बाहिर एउटा छवि, भित्र अर्के रूप भएका अनेक मानिस हामीकहाँ मात्र नभएर विश्वभरि नै छन्, हुने गर्छन् । हाम्रो देशको प्रसङ्गमा तत्कालीन युवराजाधिराज दीपेन्द्रको जुन प्रकारको छवि बाहिर थियो भित्र त्यस्तो पटक्कै नभएको उनका निकटवर्तीहरूको भनाइ छ । बाहिर अत्यन्त शालीन छविका युवराज भित्र खान हुने-नहुने सबै कुरा खान्थे र गर्न हुने-नहुने सबै कुरा गर्थे रे । एकपल्ट उनकी एक प्रेमिका सोल्टी होटलमा साथीहरूसँग नाचिरहेका बेला युवराजले कपालमा समातेर घिसार्दै गाडीको डिक्कीमा राखेर दरबार पुर्‍याई बेहोस हुन्जेल कुटेको कुरा निकटवर्तीहरूले सुनाउँदा आङ नै सिरिङ्ग भएको थियो । बगैंचामा उड्दै गरेका चरालाई बन्दुकले भुइँमा खसालेर छटपटाएको हर्ेन रुचाउने त्यस्ता परपीडक स्वभावका दीपेन्द्रको छवि सार्वजनिक रूपमा सधंै राम्रो रह्यो । तर त्यसको ठीक विपरीत तत्कालीन युवराज पारसले गरेका राम्रा कुराहरू सधैं ओझेलमा परे र नराम्रा कुराहरू विशेष रूपमा ‘हाइलाइट’ भए । निकटवर्तीहरूका अनुसार, युवराज दीपेन्द्र र पारसबीच तुलनै गर्न नमिल्ने भिन्नताहरू थिए । पारस सहृदयी, दीपेन्द्र कठोर, दीपेन्द्र लागूऔषध पारखी, पारस रक्सी र चुरोट मात्रै खाने, दीपेन्द्र दिदी, बहिनी र नातेदारहरूलाई वास्तै नगर्ने, पारस आफन्त र नातेदारहरूलाई असाध्यै माया गर्ने आदि । दीपेन्द्रले डिस्कोमा नाच्दै गर्दा गरेका कर्तुतहरू कहिल्यै बाहिर आएनन्, पारसले गरेका कुराहरू सञ्चारमाध्यमभरि छाए । प्रत्येक दिन यो मुलुकमा दुर्घटनाबाट धेरैको ज्यान जान्छ, त्यसमा सर्वसाधारण र विभिन्न पेसा-व्यवसायीहरू परिरहेका हुन्छन्, ड्राइभरहरूले नियमानुसार क्षतिपूर्ति तिर्छन्, कति त त्यसै भाग्छन् पनि । सङ्गीतकार प्रवीण गुरुङको पनि त्यस्तै दुर्घटना भएको थियो, जोबाट भएको भए पनि दुर्घटना आखिर दुर्घटना नै हो । जानी-जानी दुर्घटना कसैले गराएको हुँदैन, तर पारसबाट भएको त्यो दुर्घटनाले उनलाई खलपात्रका रूपमा स्थापित गरायो । अरू ड्राइभरले दिनेभन्दा उनले बढी नै क्षतिपूर्ति पनि दिए तर त्यसले जनमानसमा खासै फरक पारेन । यो घटनामा ट्राफिक नियमानुसार क्षतिपूर्तिलगायतको प्रक्रिया अगाडि बढाएको भए पनि त्यसले तत्कालीन परिस्थितिमा खासै फरक पार्ने थियो भनेर भन्न सकिन्न । सुरुमा सार्वजनिक भएको बिग्रिएको छविकै कारण पूर्वयुवराज पारसले गरेका राम्रा काम सबै छायामा परे । आफूले जे गरे पनि नकारात्मक रूपबाटै मात्र लिइने भएपछि उनलाई यदि केही गर्न मन लागेन भने त्यसलाई अस्वाभाविक ठान्न पनि मिल्दैन । उनको छविलाई यसरी अगाडि सारियो कि मानौँ, यो मुलुकमा उनीभन्दा खराब मानिस त अरू कोही पनि छैन ।
पूर्वयुवराजाधिराज पारसको छविमाथि हिजो जसरी खेलबाड गरिएको थियो आज ठीक त्यसैगरी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको छविलाई धमिल्याएर स्थापित गर्ने काम भइरहेको छ । प्रकाशले गरेका हरेक कामलाई नकारात्मक रूपमा प्रचार गर्न थालिएको छ । युवा अवस्थामै युवराज पारसमाथि जुन प्रकारले प्रहार गरिएको थियो, ठीक त्यस्तै प्रकारले अहिले प्रकाश दाहालको युवा मानसिकतामा चोटहरूको वषर्ा गरिँदै छ । कतिपय कुराहरू यस्ता हुन्छन् जसलाई युवाहरूले सामान्य रूपमा लिन्छन्, खाने, लाउने, नयाँ कुराहरूप्रतिको उत्सुकतालगायतका कुराहरू सबै युवामा हुन्छ । म प्रचण्डको छोरा पनि हुँ भन्ने बिर्सिएर धुलिखेलमा मदिरा पिएर कुर्सीमा निदाएका कारण प्रकाशले ठूलो बद्नामी भोग्नुपर्‍यो । मदिरा सेवन आफैंमा राम्रो कुरा नहोला तर खानै नहुने कुरा पनि थिएन, फेरि उनले खाएर कसैलाई क्षति पुर्‍याएका पनि थिएनन् । उनको सम्बन्धविच्छेदको कुरालाई लिएर पनि धेरै कुरा बाहिर आए । मन नमिली-नमिली रात-दिन झगडा गरेर सँगै बस्नुभन्दा अरूलाई तनाव नदिई या कसैले दिएको तनाव नलिई अलग्गै बस्नु कैयौँ गुणा राम्रो कुरा हो । घरमा श्रीमती या श्रीमान् राखेर तिनीहरूलाई धोखा दिँदै अरूसँग सम्बन्ध बढाउनुभन्दा चित्त बुझ्दैन भने तिनको साथ छोडेर एक्लै हुनु या मनमिल्दो सम्बन्ध जोड्नुचाहिँ उपयुक्त कुरा हो ।
अहिले केही भारतीय पत्रिकाले समेत प्रकाश दाहाललाई लिएर अनेक चर्चा-परिचर्चा गरेको देखिएको छ, जसरी हिजो युवराज पारसलाई लिएर गर्ने गरिन्थ्यो । भ्रष्टाचार र अवैध व्यापारमा संलग्न भएको, नवसामन्तवादी गुटका नाइकेदेखि लिएर उनलाई असाध्यै महँगो पर्ने रक्सी ब्लु लेबलका सौखिनसम्म भनिएको छ । माओवादी अध्यक्ष प्रचण्डका छोरा भए पनि प्रकाश यो देशका आमयुवाहरूजस्तै एक युवा पनि हुन् । उनका पनि राम्रा कुराहरू होलान्, उनले गरेका कामका सकारात्मक पाटाहरू होलान्, ती सबैलाई छायामा पार्ने काम भएको छ । बाबुले चढ्ने गाडी उनी आफै चलाउँछन्, कम्प्युटरमा बाबुलाई सघाउँछन् जस्ता कुराहरूको समेत हामीकहाँ नकारात्मक कोणबाट चर्चा हुने गरेको छ । अहिलेको बेलामा आफ्नो बाबुप्रति त्यति समर्पित छोरा पाउनु पनि ठूलै कुरा हो । उनले बाबुलाई नसघाएर अरू नै केही पनि गर्न सक्थे तर बाबुलाई भरथेग गरिरहेका छन् भनेर यस कुरालाई सकारात्मक पाटोबाट पनि हेर्न सकिन्छ । तर, प्रचार गरिँदै छ, प्रचण्डलाई अरूको विश्वास छैन त्यही भएर जहाँ जाँदा पनि आफ्नो छोरालाई लिएर हिँड्छन् । यदि त्यसै हो भने पनि त राम्रै कुरा हो, हिजोआजको जमानामा बाबुआमाले जे भन्यो त्यही मान्ने त्यति आज्ञाकारी सन्तान कहाँ पाइन्छ र ?