मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्युठान जिल्ला कमिटीको आयोजनामा वीरबहादुर सिंह स्मृति प्रदेश ५ स्तरीय बुद्धिचाल प्रतियोगिता साउन ७ गते मंगलबारदेखि प्युठानमा सुरु भएको छ ।
प्रतियोगिताको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उदघाटन गरे । प्रतियोगितामा १८ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सो अवसरमा सदस्यसचिव सिलवालले हिमाल आरोही स्व. सञ्जय पण्डितको स्मरण गर्दै प्युठानलाई चिनाउन सञ्जयको ठूलो योगदान रहेको बताए । स्व. सञ्जय प्युठानका हुन् । सञ्जयको केही वर्षअघि अमेरिकाको माउन्ट डेनाली हिमाल आरोहणका क्रममा निधन भएको थियो ।
प्युठान यात्राकै क्रममा परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले प्यूठान नगरपालिकामा रहेको गणतान्त्रिक खेलकुद मैदानको निरीक्षण समेत गरेका थिए ।
सो अवसरमा सदस्य–सचिव सिलवालले नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलाई मैदानमा खेलकुदका पूर्वाधार बनाउन परिषद् नगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताउदै त्यसका लागि ठोस प्रस्ताव पेश गर्न आग्रह गरेका बुझिएको छ ।

प्रतिक्रिया