बाढीपीडितको ब्यथामाथि राजनीति नगर्न आग्रह

बाढीपीडितको ब्यथामाथि राजनीति नगर्न आग्रह


  • सागर संगम

बाढीप्रभावित क्षेत्रका सांसदहरूले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएकोमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश न २ का अध्यक्ष एवम संघीय सांसद प्रभु साहले आपत्ति जनाएका छन् । पुुर्वमन्त्रीसमेत रहेका सांसद साहले बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सो विषयमा आपत्ति जनाएका हुन् ।

‘काठमाडौंको महलमा एसीमा बसेर लेखेको प्रस्तावमाथि छलफल हुने अनि आफू र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांंसद अमरेशकुमार सिंहले दर्ता गराएको सार्वजनिक महत्वका प्रस्तावमाथि छलफल नहुनुु दुःखद रहेको उनको भनाई थियो ।

‘बाढीप्रभावितको पीडालाई महसुस गरेर हामीले संयुक्त रूपमा प्रस्ताव दर्ता गराएका थियौँ, तर कांग्रेसले सत्तापक्ष र प्रतिपक्ष भनेर बाँडिदियो । आज न्याय हारेको छ, कांग्रेसको हठ जितेको छ’ भन्दै सांसद साहले प्रश्न गरे– पीडितले न्याय पाउने कि नपाउने ?

उनले बाढीपीडितका साथै आफूहरू पनि सदनबाट अपमानित भएको दाबी गर्दै भने– ‘जसले पीडा भोगेर आएको छ उसको प्रस्तावमा छलफल नहुने र बाढी हेरेर मज्जा लिनेको प्रस्तावमा छलफल हुने अवस्थाले हामीलाई मर्माहत तुल्याएको छ ।’

पीडितमाथि राजनीति नगर्न आग्रह गर्दै उनले जनताको पीडा समाधानको लागि मिलेर अघि बढ्न काङ्ग्रेस नेतृत्वलाई झक्झक्याए ।