मन्त्रालयद्वारा खेलाडी, अफिसियल र पत्रकार सम्मानित

मन्त्रालयद्वारा खेलाडी, अफिसियल र पत्रकार सम्मानित


युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, अफिसियल एवं खेलकुद पत्रकारलाई सम्मान गरेको छ ।

दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता टिम, अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज विजेता टिम, एथलेटिक्स, ब्याडमिन्ट र स्पेशल ओलम्पिकका पदक विजेता टिमलाई बुधबार (८ साउन) मन्त्रालयले नगद पुरस्कार प्रदान गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कार्यविधिमा बनाएर खेलाडीको सम्मान गरेको बताए । केही समय ढिला भए पनि कार्यविधि बनाएर पुरस्कृत गरिएको जनाउँदै उनले पारा खेलाडीलाई पनि अन्य खेलाडीलाई जस्तै सम्मान गर्ने परम्पराको सुरुवात गरेको समेत बताए ।

सो अवसरमा नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मन्त्रालयले जनही ३२ हजार ५ सय नगदसहित सम्मान गरेको हो । सरकारले साफ उपविजेता टोलीका २० सदस्यीय खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरेको छ ।

गत फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली टोलीलाई हालै विराटनगर महानगरपालिकाले जनही ५० हजार र प्रदेश १ सरकारले जनही १ लाखले सम्मानित गरेको थियो ।

त्यस्तै एथलेटिक्स खेलाडी अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र स्पेशल ओलम्पियमा पदक जितेका अजय तामाङ जनही १ लाख नगदसहित सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित, अजय र प्रिन्सलाई सरकारले जनही १–१ लाख नगदसहित सम्मान गरेको हो ।

यादवले गत चैतमा हङकङमा आयोजना भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । च्याम्पियनसिपमा अजितले ३ हजार किलोमिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । यस्तै अजितको प्रशिक्षक धनीराम चौधरीलाई सरकारले ५० हजार नगद पुरस्कार प्रदान ग¥यो ।

युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले गत असोजमा दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यू–१५ पुरुष एकलको उपाधि जितेका थिए । उनको पुरस्कार नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले लिए । प्रिन्स अन्तराष्ट्रिय प्रतियोगिताको लागि चीनमा रहेका छन् ।
तमाङले चाहिँ स्पेशियल ओलम्पिकमा पदक जितेका थिए । स्पेसल ओलम्पिकमा रजत जितेकी महिमा कोइरालालाई पनि मन्त्रालयले नगद ५० हजार प्रदान गरेको छ ।

यसैगरी पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोली नगदसहित सम्मानित भएको छ । नेपालले पाकिस्तानलाई ४–० ले पराजित गर्दै ५ खेलको सिरिज जितेको हो । १५ खेलाडी र ७ अफिसियललाई चेक र प्रमाणपत्रबाट सम्मान गरेका हुन् । १५ खेलाडीलाई जनही ५०–५० हजार र अफिसियललाई २५–२५ हजारबाट सम्मान गरिएको हो ।

यस्तै, नेत्रहीन क्रिकेट टोलीकी व्यवस्थापक ज्योति केसीले आफूले पाएको पुरस्कारमा ७५ हजार थप गरी नेत्रहीन ज्योति केसी महिला क्रिकेट पुरस्कारको लागि कोष स्थापना गरेकी छन् । उनले पुरस्कारको २५ हजारको चेक र थप ७५ हजारको चेक नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेलाई प्रदान गरिन् ।

यसैगरि युवा तथा खेलकुद मन्त्रालयले यस वर्षबाट शुरु गरेको खेलकुद पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका रामसुदन तिमल्सिना र कान्तिपुर टिभीका प्रदिपकुमार लेखी पुरस्कृत भएका छन् । पत्रकारिताका माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई अगाडी बढाउने सिलसिलामा गरेको योगदानको कदर गर्दै जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।