कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’ देखिएन : प्रचण्ड

कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’ देखिएन : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साउनभित्र स्थायी र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिनेछ भने ।

पार्टी एकता गरेर असाधारण पहल कदमी अगाडि बढाइएको उल्लेख गर्दै उनले एकताका क्रममा आइपरेका चुनौती र घेरा पार गरी माथिदेखि तलसम्मका काम अन्तिम चरणमा पु¥याइएको बताए । अध्यक्ष दाहालले भने, ‘पार्टी एकतालाई अझ सुदृढ गर्ने र सरकारको कामलाई प्रभावकारी बनाएर नेपालबाट समाजवादको नयाँ ‘मोडल’ देश र दुनियाँलाई दिने सङ्कल्प गर्नु नै कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि हो ।’

नेपाल कम्युनिष्ट र राजनीतिक आन्दोलनका क्रममा विशिष्ट मोडमा उभिएको चर्चा गर्दै नेपाली जनताले दिएको ठूलो अवसरको सदुपयोग गर्न बुद्धिमत्तापूर्ण ढङ्गबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री दाहालले दुई तिहाइ जनमत प्राप्त सरकारले जनताका पक्षमा गरेका कामका बारेमा जानकारी गराउँदै सरकारका कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने बताए ।

‘जनताको विश्वासलाई कायम राख्दै ठूलो उचाइ हासिल गर्नु छ । नेपालबाट समाजवादको उन्नत मोडल विश्वलाई दिनु छ । समाजवादको नयाँ धारा, मोडल र ‘सिस्टम’ दुनियाँलाई दिन सक्नुपर्छ’, उनले भने । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढीकरण गर्दै सरकारको काम प्रभावकारी बनाई जनताको भावना सम्बोधन गरेर मात्रै समाजवाद सम्भव भएको बताए ।