सिर्जनशीलताको नाममा पुष्पलालको विचारमाथि प्रहार भएको आरोप

सिर्जनशीलताको नाममा पुष्पलालको विचारमाथि प्रहार भएको आरोप


■ हेमशंकर सिंह, राजविराज

पुष्पलालको विचारमाथि सृजनशीलताको नाममा प्रहार भइरहेकाले उनका विचारको साथ अगाडि बढे मात्र उनप्रति सच्चा श्रद्धाञ्जली हुने राजविराजमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले जोड दिएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४१औं स्मृति दिवसको अवसरमा बिहीबार राजविराजमा आयोजना गरेको पुष्पलाल र नेकपा विषयक विचार गोष्ठीका सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजकले नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपाभित्र विकृति र विसंगती बढ्नुको साथै विचार र सिद्धान्त नमिलेकोमा दुःख प्रर्कट गरे । विचार गोष्ठीको नाममा पनि पार्टीभित्र गुट हाबी भएको उनको ठहर थियो ।

पूर्वमन्त्री तथा नेकपाका नेता उमेशकुमार यादवले देशमा सम्पन्न क्रान्तिहरुको स्वामित्व कम्युनिष्टले लिन नसकेकोले विपल्वलाई पनि वर्तमान नेकपाको मोर्चामा आउन जरुरी रहेकोमा जोड दिए ।

नेकपाका स्थायी कमीटि सदस्य तथा प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले पुष्पलाल परिवार समुदाय भन्दा पनि धैरै माथि रहेको र उनले आफ्नो नामको अगाडी थर समेत नलेखी जातिभन्दा वर्ग ठूलो रहेको सन्देश दिएको बताए ।

वर्तमान समयमा पार्टीभित्र देखापरेको विकृति प्रति कटाक्ष गर्दै उनले भने, ‘अरुको अस्तित्व स्वीकार गर्नु नै आफ्नो अस्तित्व स्वीकार गर्नु हो, अरुको अस्तित्व नस्वीकारे तपाईको अस्तित्व कसले स्वीकार्य गर्छ ?’

समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादवले समाजवादी पार्टीसहति देशमा दुई तीहाईको सरकार हुँदा हुँदै पनि संविधान संसोधन गर्न नसके भोली जनतालाई के जवाफ दिने भनी प्रश्न तेर्स्याउँदै नेकपाको हरेक तहमा बहस र संघर्ष बढाउन सुझाव दिए ।

कंचनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले पुष्पलाल असल विचारक, कुशल संगठक र लेखक रहेको बताए ।

नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय सदस्य नथुनी दासले पार्टी भित्र गुट र उपगुट हावी भए कम्युनिष्ट पार्टी अघि बढन नसक्ने धारणा राखे ।

पुष्पलाल स्मृति प्रतिष्ठान शाखा सप्तरीका अध्यक्ष प्रतपनारायण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द न्यौपाने र रुवी कर्ण, नेकपा सप्तरी अध्यक्ष अशोक मण्डल, नेकपाका प्रदेश सदस्यद्वय सुखराम यादव र भागवत यादव, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य सुब्बालाल मण्डल, नेकपा सप्तरीकी महिला नेतृृ मन्जु साह, सप्तरी उद्योग बाणिज्य संघका पूर्वमहासचिव सुरेश सिंह लगायतका वक्ताहरुले सम्बोधन गरे ।

विक्रम सम्वत १९८१ मा रामेछाप जिल्लाको भंगेरीमा जन्मेका पुष्पलालले राष्ट्रिय कांग्रेसबाट राजनीति प्रारम्भ गरेका थिए । शहीद गंगालालका माहिला भाई समेत रहेका पुष्पलाल राष्ट्रिय काँग्रेसले राजासँग मिल्न लागेको देखेर सो पार्टी परित्याग गरी २००६ वैैशाख १० गते भारतको कलकत्ता स्थित श्याम बजारमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनी संस्थापक पार्टीका संस्थापक महासचिव हुन् ।

२०३५ साल असार ७ गते दिल्लीको एम्स अस्पतलमा उपचारको क्रममा निधन भएको थियो ।

तत्कालीन पञ्चायती शासकले उनको शव दाहसंस्कारको लागि नेपाल आउन नदिएपछि नेपाल भारतबीचको दशगज्जामा उनको अन्त्येष्टि गरिएको थियो ।

नेताहरुले नीति खल्तीमा राखेको आक्रोश

नेकपा सप्तरीको नवगठित जिल्ला कमिटी भित्र नअटाएकाहरुले पार्टी नीति अनुसार चल्नुपर्नेमा नेताहरुले नीति खल्तीमा राखेर मनमानी ढंगले हिडेको भन्दै आक्रोश पोखे ।

सोही कार्यक्रममा बोल्दै तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य रहेका राजेन्द्र साहले विधि र प्रक्रिया मिचेर योग्य र असल नेतालाई कमिटीहरुबाट हटाउने काम भएको भन्दै आक्रोश पोखे । नवगठित कमिटी उनी अटाएका छैनन् ।

उनले भने हिम्मतका साथ त्रुटी सच्चाउन नेताहरु तयार हुनुपर्दछ । पार्टी भित्रको कमिकमजोरी नसच्याए र मनपरी ढंगले कमिटी निर्माण भए रुसको कम्युनिष्ट पार्टीको हवीगत यहाँ हुने दाबी समेत उनले गरे ।

यसैगरी जिल्ला कमिटीमा नअटाएका तत्कालीन नेकपा एमाले जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरले पार्टीमा न्यया हुनुपर्ने र सबैले समान रुपले अवसर पाउनु पर्ने बताए ।

नेकपाका जिल्ला सदस्य जयप्रकाश ठाकुरले भने उनीहरुको अभिव्यक्तिको खण्डन गर्दे भने जिल्लामा पार्टी एकीकरणको सवालमा केही नेताहरुले बुझेर पनि बुझ पचाएका छन ।