प्रदेश २ सरकार संघीयताका लागि सबैभन्दा ठूलो खतरा : पूर्वमन्त्री साह

प्रदेश २ सरकार संघीयताका लागि सबैभन्दा ठूलो खतरा : पूर्वमन्त्री साह


■ सागर संगम, बारा

मुलुक संघीयतामा गएपछि सरकारले एउटा नारा निकै उराल्दै आएको छ– ‘गाउँ–गाउँमा सिहंदरबार’ । यसैमा केही शब्द थपेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले परिमार्जित रूप दिएका छन्– ‘गाउँ–गाउँमा सिहंदरबार, सँगसँगै नारायणहिटी राजदरबार !’

बाराको आदर्श कोतवाल गाउँपालिकामा आयोजित श्रद्धाञ्जली सभामा रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री साहले गाउँ–गाउँमा सिहंदरबार मात्र नभई नारायणहिटी दरबार पनि सँगसँगै आएको बताएका हुन् ।

बिहीबार बारा जिल्ला कमिटी सदस्य शम्भु मण्डलको श्रद्धाञ्जली सभामा अध्यक्ष साहले सामन्तवादको अवशेष बाँकी रहनु भनेको परिवर्तन संस्थागत हुन नदिने कारक हो भन्दै आफूहरू जनतालाई अझै बलियो बनाउन लागिपरेको बताए ।

उनले भने– ‘गाउँमा सिंहदरबार ल्याउन चाहेका थियौँ तर कहीँकतै नारायणहिटी दरबार पनि आइपुगेको छ, जुन चिन्ताको विषय हो । राजा त हटाएका छौँ तर कुनै–कुनै ठाउँमा त्यसको अवशेष बाँकी छ । जनप्रतिनिधिहरू राजाझैँ प्रस्तुत हुन थालेका छन्, जुन परिवर्तन संस्थागत गर्न सबैभन्दा ठूलो चुनौती हो ।’

कम्युनिष्ट आन्दोलनमा शम्भु मण्डलको ऐतिहासिक भुमिका रहेको उल्लेख गर्दै अध्यक्ष साहले मण्डलको निधनबाट पार्टी र समाजलाई क्षति भएको बताए । ‘शम्भु मण्डल जस्ता वीर वामपन्थीहरूको योगदानबाट सामन्तवादविरुद्धको लडाईं सफल भएको छ, तर पनि केही सामन्तवादी संस्कृति र संस्कारको अवशेष अझै पनि समाजमा बाँकी रहेकोले ती अवशेषको बलमा नयाँ–नयाँ राजा जन्मिने सम्भावना बढेको छ । यसप्रति चनाखो रहनु हामी सबैको दायित्व हो ।’

प्रदेश २ सरकार संघीयताका लागि सबैभन्दा ठूलो खतरा रहेको आरोप समेत उनले लगाए । अध्यक्ष साहले भने, ‘प्रदेश नम्बर २ पुरै भ्रष्टाचारमा लिप्त छ, जो संघीयताका लागि अत्यन्त घातक हो । प्रदेश सरकार नै भ्रष्टाचार गर्न थालेपछि संघीयता कसरी सफल हुन्छ ? संघीयतालाई असफल र जनतालाई निराश पार्ने काम प्रदेश नम्बर २ सरकारले गरिरहेको छ । जनताले तिरेको करलाई पार्टी र नेताको पैसा बनाउने काम प्रदेश सरकारले गरिरहेको छ । राज्यको पैसा मुख्यमन्त्री, मन्त्री, मेयर तथा नेताको खातामा पुर्याउने काम गरी प्रदेश सरकार संघीयता असफल पार्ने कार्यमा यो लागेको छ ।’