नेकपा (सप्तरी) गठनमा तत्कालीन माओवादी र एमाले नेताहरु असन्तुष्ट

नेकपा (सप्तरी) गठनमा तत्कालीन माओवादी र एमाले नेताहरु असन्तुष्ट


■ हेमशंकर सिंह, राजविराज

नवगठित नेकपा सप्तरीको गठन प्रक्रियाप्रति तत्कालिन नेकपा माओवादी केन्द्रका केही नेता कार्यकर्ताले असन्तुष्टि प्रकट गरेका छन् ।

जिल्ला कमिटि गठन भएको करिव एक महिना बित्न लाग्दा तत्कालीन माओवादी केन्द्रका नेताहरुले नवगठित कमिटिमा योग्य र पुराना नेता कार्यकर्ताहरुलाई छुटाइएको र पाखा नै लगाइएको अरोप लगाएका छन् ।

कुल १६५ सदस्यीय कमिटिमा अध्यक्षसहित तत्कालिन नेकपा माओवादी केन्द्रको भागमा ८१ सदस्य र सचिवसहित तत्कालिन नेकपा एमालेको भागमा ८४ सदस्य परेको नेकपा श्रोतले जनाएको छ ।

नेकपा सप्तरी गठन गर्दा सप्तरीका सिनियर नेता तथा जनयुद्धको क्रममा जेल नेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको उनीहरुले आरोप लगाएका छन् । नेकपाका प्रदेश कमिटि सदस्यद्वय देवनाथ यादव र भागवत यादवले आइतबार पत्रकार सम्मेलन गरी पुराना नेताहरुको सामुहिक ‘राजनीतिक हत्या’ गरी पार्टीको सदस्य नै नभएकाहरुलाई जिल्ला कमिटिमा समावेश गरिएको भन्दै आक्रोश पोखेका हुन् । दुवैजना माओवादी केन्द्रका तत्कालिन राज्य समिति सदस्य हुन् ।

निश्चित विधि र मापदण्ड अपनाई तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटिमा परेकाहरुको फेरवदल नगरिए पार्टीभित्रै संघर्ष गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रको प्रदेश र केन्द्रको जिम्मेवारीमा रहेका नेताहरुलाई सप्तरी जिल्ला कमिटि गठनमा गरिएको पक्षपातको जानकारी गराई सकिएको भन्दै देवनाथ यादवले भने- ‘कमिटि पुनर्गठन नभए वैधानिक रुपमा पार्टी भित्रै संघर्ष गर्नेछौँ ।’

दुई पार्टी बीचको एकीकरणमा जनताले यतिबेला साथ दिए पनि पार्टीभित्र अन्तरविरोध भए प्राप्त जनसमर्थन समेत गुम्ने खतरा रहेको समेत उनले बताए ।

विगतमा पनि सप्तरीमा पार्टीभित्र विभेद र काखापाखा भएपछि अन्तरविरोध हुँदा सप्तरीमा तत्कालिन नेकपा एमाले कमजोर स्थितीमा पुगेको स्मरण गर्दै उनले भने– ‘हामी चाहान्छौँ, त्यस्तो स्थिति श्रृजना नहोस् । र, सोका लागि पार्टी नेतृत्वलाई सचेत समेत पार्न चाहन्छौँ ।’

उनीहरुका अनुसार नवगठित कमिटमा दर्जनबढि तत्कालिन माओवादी केन्द्रको सदस्य नै नभएकाहरु कमिटिमा परेका छन् । भुमिगत कालदेखि पार्टीमा सकृय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, बलबहादुर महतो, सहिद पत्नी कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपुर्ण नेताहरु कमिटिमा नअटाइएको उनीहरुको आरोप छ ।

पार्टीको सदस्य नै नभएका माला कर्ण, राहुल मण्डलसहित एक दर्जन बढि गैरसदस्यहरु कमिटिमा पारिएको उनीहरुको आरोप छ ।

यसैगरी नवगठित कमिटिमा ततकालिन नेकपा एमाले का जिल्ला उपाध्यक्ष अब्दुल मजिद शाकिर, जिल्ला कमिटि सदस्य राजेन्द्र साहसहित करिव २० जना सदस्यहरु नअटाएको श्रोतले जनाएको छ । त्यहाँ पनि माओवादी केन्द्रकै रोग सरेको छ । पार्टीको विधानअनुसार जिल्ला कमिटि सदस्य हुनका लागि योग्यतै नपुगेका करिव १० जना नयाँ सदस्य एमालेबाट थपिएको श्रोतको दाबी छ ।

जिल्ला कमिटिमा नअटाएका तत्कालिन उपाध्यक्ष अब्दुल मजिद साकिर नेतृत्वको समुहले भने निर्णय प्रकृया नसच्चिएसम्म जिल्ला कमिटिको सपथ ग्रहण नै वहिस्कार गर्ने चेतावनी दिएको छ ।