नेपाली काङ्ग्रेसले जिल्ला कार्यसमिति पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको मृत्यु रहश्यपूर्ण भएको भन्दै छानबिनको माग गरेको छ । हिजो (१२ साउन) काठमाडौंंको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौँ तलाबाट खसेर मृत्यु भएपछि यस घटनाबारे अनेक अनुमान गरिएका छन् । रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसको भनाई छ ।
श्रेष्ठको मृत्यु हुनासाथ अनुसन्धान नै नगरिकन र शव परीक्षणसमेत नभएको अवस्थामा प्रहरीको हवाला दिँदै आत्महत्या हो भनेर सञ्चारमाध्यमहरुमा सम्प्रेषित समाचारप्रति पनि काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ ।
काङ्ग्रेसले सोमबार एक विज्ञप्तिमार्फत घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटनास्थलमा रगतसमेत नदेखिनु, शरीरको कुनै पनि भागमा चोटपटक र अङ्गभङ्ग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको उल्लेख गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा श्रेष्ठले पुऱ्याएको सक्रिय योगदान पार्टीमा सदैव स्मरणीय रहिरहने पनि जनाइएको छ ।
पार्टीले घटनाको संवेदनशीलताका साथ यथार्थ छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । श्रेष्ठको सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता रहेको काङ्ग्रेसले जनाएको छ ।
सन्ताउन्न वर्षीय श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन् । सचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कांग्रेसका शीर्ष तहका नेता रामचन्द्र पौडेलले उनको पार्थिव शरीरमाथि कांग्रेसको झण्डा ओढाएको थिए ।
श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारी एवम सदस्यहरु, जिल्लाका नेताहरु, पार्टीका सदस्यहरु तथा श्रेष्ठका आफन्तजन उपस्थित थिए ।
ज्ञातव्य छ, बहुचर्चित बालुवाटार जग्गा प्रकरणसँग जोडिएको भन्दै दिवंगत श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको थियो ।
प्रतिक्रिया