काङ्ग्रेसको बैठकमा बुधबारदेखि एजेण्डा बदलिँदै

काङ्ग्रेसको बैठकमा बुधबारदेखि एजेण्डा बदलिँदै


गत असार २२ गतेदेखि प्रारम्भ नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । काङ्ग्रेसको मंगलबारको बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन् ।

बैठकमा पार्टी विधानको धारा ७२(४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ । आजसम्म लगभग पाँच दर्जन केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा व्यक्त गरिसकेका छन् । सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिएका हुन् ।

करिव डेढ वर्षपछि १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको एक कांग्रेस नेताले बताए ।

जारी बैठकमा बुधबार (साउन १५)देखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल कांग्रेस पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको मंगलबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरे भने बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्ने जानकारी दिइएको छ ।