सानिमा विकास बैंक शङ्काको घेरामा

सानिमा विकास बैंक शङ्काको घेरामा


गत वर्ष असारमा स्तरोन्नतिका लागि राष्ट्र बैंकमा निवेदन दिएपछि सेयर कारोबार रोकिएको सानिमा विकास बैंकका सेयरधनीहरूलाई दुःखद् खबर छ । सो बैंकले गत मङ्सिर ९ गतेदेखि पुस १४ गतेसम्म एकैपटकमा एक अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको घटनामाथि राष्ट्र बैंकले गम्भीरताका साथ छानबिन गरिरहेको र सो प्रक्रिया अनिश्चितकालीन रूपमा जारी रहेबाट यस्तो अवस्था निम्तिएको हो । सेयर कारोबारमा उच्च गिरावट आइरहेको समयमा सेयर कारोबार रोक्का भएर सेयरधनीहरू प्रभावित बन्नु कुनै अनौठो नभए पनि हकप्रद सेयरमा आएको रकम बैंकिङ च्यानलभन्दा बाहिरबाट आएको हुनसक्ने भन्दै राष्ट्र बैंकले छानबिन अघि बढाएकोले सो बैंकको भविष्य नै सन्देहको घेरामा पर्न पुगेको हो ।
स्तरोन्नतिमा जानका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएपछि सो बैंकको सेयर कारोबार रोकिएको थियो । नेपाल स्टक एक्सचेन्जले स्टकमा कारोबार हुने बैंक तथा वित्तीय संस्थाको साथै अन्य कम्पनीको कुनै निर्णय विचाराधीन अवस्थामा रहेमा सोको कारोबार रोक्का गर्ने गर्दछ । सानिमा बैंकको सेयर १० जुन २०१० देखि नै कारोबार भएको छैन । सो समयमा बैंकको सेयर प्रतिकित्ता २६ रुपैयाँले बढेको थियो । बैंकको दुई करोड एक लाख ५७ हजार आठ सय ५१ कित्ता सेयर कारोबारका लागि सूचीकृत भएको थियो । विश्वस्त सूत्रले जनाएअनुसार सानिमा बैंकले जारी गरेको हकप्रद सेयरमा हालिएको रकमको स्रोत नखुलेका कारण बैंक राष्ट्र बैंकको छानबिनको घेरामा परेको हो । नेपालमा अहिले सक्रिय सम्पत्ति शुद्धीकरणको विषयमा थप छानबिनको आवश्यकता रहेको राष्ट्र बैंक जनाएको छ । केही गैरआवासीय नेपालीको लगानी रहेको बैंकमा हकप्रद सेयरमा गरिएको लगानीको विषयमा पछिल्लो समयमा कुरा उठेको थियो । यसअगाडि बैंकका संस्थागत सुशासनको विषयमा समेत कुरा उठेको बताइन्छ । सन् २००४ मा केही गैरआवासीय नेपालीको लगानीमा स्थापना भएको बैंकका अध्यक्ष जीवा लामिछाने छन् ।

बाहिर आएपछि गोकर्णले भने -दबाब र प्रलोभन त कति हो कति ?

झलनाथ खनाल नेतृत्वको सरकार विस्थापित हुँदा देशका धेरै मानिस दुःखी भए । तर, त्यो दुःख झलनाथले प्रधानमन्त्री पद गुमाएका कारण प्रकट भएको भने होइन, ऊर्जामन्त्री रहेका गोकर्ण विष्टको ऊर्जा अभियान टुट्ने कुराले मानिसलाई दुःखी तुल्याएको थियो । नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीको पदत्यागभन्दा मन्त्री हैसियतका व्यक्तिको बहिर्गमनप्रति ज्यादा जनचासो रहेको घटनाका रूपमा यस प्रकरणलाई लिन सकिन्छ । कार्यकालका हिसाबले जम्मा चार महिना मात्र ऊर्जामन्त्रीको भूमिकामा रहनुभएका विष्टलाई इतिहासमा तीन महिना शासन गर्ने देवशमशेरलाई झैं स्मरण गर्ने स्थिति बनेको छ । ऊर्जाजस्तो ‘महत्त्वपूर्ण’ मन्त्रालयको मन्त्री रहेका व्यक्ति सिंहदरबारबाट रित्तै फर्कनु, त्यो पनि ट्याक्सी चढेर यसलाई सानो घटनाका रूपमा लिइएको छैन । मौका पाउँदा देशमा काम गर्न सक्ने इमानदार मानिस अझै छन् भन्ने कुराको एउटा प्रमाण बनेर विष्ट प्रकट हुनुभएको छ । उहाँलाई गत मंगलबार सुकिलो मान्छे मन्त्रिमण्डलमा जान्छन् र फर्कंदाखेरि मैलो भएर फर्कन्छन् तर, तपाईं सुकिलै भएर फर्कनुभयो, कुन प्रेरणाले त्यस्तो बनायो भनी प्रश्न गर्दा उहाँले भन्नुभयो- नेपाली राजनीतिमा विकृति-विसङ्गतिहरू देखापरेका छन्, जसप्रति जनताको वितृष्णा छ । यसले गर्दा यो पोजिसनलाई देश र जनताको हितमा इमानदारिका साथ प्रयोग गर्नुपर्छ भन्ने भावना धेरै पहिलेदेखि ममा पलाएको थियो । ती भावनालाई व्यवहारमा उतार्नका लागि लगातार प्रयत्नशील रहेँ । यसकारण मैलो हुने सम्भावना रहेन, त्यसैको परिणति नै जसरी गइएको थियो त्यसरी नै फर्कन सफल भइयो ।
आफूलाई सुकिलै राखिरहनचाहिँ के-कस्ता चुनौतीको सामना गर्नुपर्‍यो ? तपाईंलाई मैल्याउने प्रयास भएन –
ऊर्जाक्षेत्र अलि चुनौतीपूर्ण नै रहेछ । ऊर्जाक्षेत्रमा धेरै शक्तिशाली व्यक्ति र शक्तिशाली संस्थाको समेत प्रभाव पर्ने स्थिति रहेछ । ती अनेकन प्रकारका प्रलोभनबाट मुक्त हुने वा बाहिर रहने अवस्था त्यति सहज होइन रहेछ । ज्यादै कष्टकर नै रहेछ । तमाम खालका प्रयत्नहरू, दबाबहरू रहँदारहेछन् त्यहाँ । तै पनि ती सबै कुरालाई एउटा चरणमा चिर्न सफल भयौँ र पछिल्लो चरणमा त्यस्ता कुरा आउने क्रम शून्य नै रह्यो ।
सुरुमा के-कस्ता दबाब आउँथे र ती दबाब प्रायः कुन-कुन क्षेत्रका हुन्थे ?
मूलतः राजनीतिक क्षेत्रबाट नै यस्ता दबाब आउने कुरा रहन्छन् । त्यसपछि राजनीतिक साइनो जोडिएका तर, विभिन्न स्वार्थ समूहहरू, स्वार्थकेन्द्रित व्यक्तिहरूबाट यस्ता प्रकारका प्रयत्नहरू हुँदारहेछन् । त्यो स्वाभाविकै हो, नेपाली राज्यसत्ताभित्र यस्ता प्रकारका प्रवृत्तिहरू लामो समयदेखि हुर्कंदै आइरहेका छन् र ती रातारात हट्ने खालको अवस्था पनि देखिँदैन । जसका लागि हामीले सिस्टम नै सुधार्नुपर्ने देखिन्छ । एउटा फोहोर पोखरीभित्रको एउटा कुनामा मात्र सफा गर्ने प्रयत्न गरेर पुग्दैन । सिङ्गो पोखरी सफा गर्नका लागि समग्रतामै आफ्नो प्रयत्नलाई अघि बढाउनुपर्ने आवश्यकता रहन्छ । त्यसअनुसार राज्यसत्ताको एउटा सानो ठाउँ हो ऊर्जा मन्त्रालय भनेको । त्यहाँभित्र सफा गर्नका लागि कोसिस गर्‍यौँ । नेपालको समग्र राजनीतिक र समग्र प्रवृत्तिले त्यस क्षेत्रलाई पनि प्रभावित पारिरहेको थियो । तर, यसका बाबजुद ती चुनौती, दबाब र जोखिमलाई पन्छाउँदै अगाडि बढ्न कोसिस गर्‍यौँ ।
काम गर्ने क्रममा सबैभन्दा बढी चुनौती कताबाट आयो तपाईंलाई ?
यकिनका साथ कुनै दिन भनौँला, अहिले म भन्न चाहन्न । तर, यो ऊर्जाक्षेत्र देशभित्र र बाहिरसमेत सबैको सरोकार जोडिएको क्षेत्र रहेछ । त्यो हिसाबले सबैभन्दा बढी आफूलाई पहुँचवाला ठान्ने पात्र, प्रवृत्तिबाट नै यस्ता प्रकारका चुनौती आउने रहेछन् ।
तपाईंको पार्टीभित्रबाट बढी आयो कि बाहिरबाट ?
भित्र र बाहिर सबैतिरबाट यस प्रकारका दबाब आउने स्थिति बन्दोरहेछ । यो नेपाली राजनीतिको प्रवृत्ति होला । तर, ती सबै चुनौतीलाई हामीले पन्छायौँ । यो हामीले गौरवका साथ भन्नुपर्छ कि कुनै पनि ढङ्गले अनुचित काम गर्नुपरेन र गरेनौँ । देश र जनताको पक्ष्ँमा क्षमताले भ्याएसम्म असल कामकै लागि अगाडि बढ्यौँ । ती चुनौती दबाबलाई प्रवाह गरेनौँ । यही नै सफलता ठान्नुपर्छ ।
यदि तपार्इं पनि मैलिन चाहेको भए यो तीन-चार महिना मन्त्री भएर बस्दा कतिसम्म कमाउन सकिँदो रहेछ भन्ने आंकलन गर्नुभयो –
ठ्याक्कै त्यसरी त नभनौँ तर, मैलिन चाहने पात्रहरूका लागि मैलिने वातावरण नेपालमा प्रसस्तै हुँदोरहेछ । फोहोर पोखरीमा प्रवेश गर्दा फोहोर हुन त गाह्रो हुँदैन । तर, ती सबै कुरालाई हामीले पर्वाह गरेनौँ । फोहोर हुन चाहने पात्रका लागि नेपाल एउटा उर्वरभूमि रहेछ भन्नेसम्म भन्न सकिन्छ ।
जे होस्, तपाईंले पनि चाहेको भए करोडौंको मालिक बन्न सक्नुहुन्थ्यो ?
मैले इच्छा राखिनँ । मैले कसरी हरेक पलहरूलाई देश र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने कुरामै ध्यान दिएँ । त्यसकारण मैले त्यतातिर ध्यान दिइनँ । कल्पना पनि गरिनँ ।
तपार्इंको भूमिकाको कारणले जनतामा त राम्रो प्रभाव परेको छ, पार्टीभित्रचाहिँ कस्तो प्रभाव परेको छ, पार्टीका नेता तथा कार्यकर्ता कत्तिको सन्तुष्ट भएको पाउनुभएको छ ?
मैले ऊर्जाक्षेत्रमा देखापरेका सङ्कटहरूलाई समाधान गर्नका लागि केही नीतिगत सुधार, केही संरचनागत सुधार र केही प्रभावकारी कार्यान्वयनलाई अघि बढाउने कोसिस गरेँ । यसमा मेरो मात्र प्रयत्न होइन, हामीसँग राज्यमन्त्रीलगायत सिङ्गो प्राधिकारणलगायत सबै साथीहरूको सहयोग रहेको छ । आमहितमा अगाडि बढ््दा कतिपय पात्र, प्रवृत्ति र व्यक्तिगत स्वार्थलाई सम्बोधन गर्न सकेनौँ र प्राथमिकताभित्र राखेनौँ । त्यो हिसाबले पार्टीभित्रकै व्यक्तिहरू पनि रिसाउने वा असन्तुष्ट हुनसक्ने स्थिति रहेको हुनसक्छ । तर, त्यो देश र जनताको हितका लागि कतिपय व्यक्तिहरूका असन्तुष्टि महत्त्वपूर्ण होइनन् ।
बाहिर आइसकेपछि ऊर्जाको क्षेत्रमा मैले गर्नुपर्ने कुनै काम योचाहिँ छुटेछ भन्ने केही महसुस गर्नुभएको छ तपाईंले ?
हामीले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी स्थापना गर्ने निर्णय गरेका छौँ, त्यसलाई उद्घाटन गरेर काम अघि बढाउन चाहन्थ्यौँ । त्यो अधुरो रहेको छ । पश्चिम सेती आयोजनाका लागि लगानी टुङ्ग्याएको थियौँ । त्यसलाई औपचारिकता दिन बाँकी रह्यो । केही जलाशययुक्त आयोजनालाई विकास समितिमार्फत प्रभावकारी ढङ्गले अगाडि बढाउने गरी त्यसको संरचना निर्माण गरेका थियौँ । त्यसलाई अन्तिम चरणमा पुर्‍याएर पनि त्यो अधुरो नै रह्यो । ग्रामीण विद्युतीकरणका सन्दर्भमा छुट्टै एउटा संरचना निर्माण गर्ने कुरा गरेका थियौँ । त्यो पनि केही अधुरै रह्यो । निजी प्रवर्द्धकहरूलाई प्रोत्साहित गर्ने सन्दर्भमा, निजी प्रवर्द्धकहरूका केही समस्या छन् जसले उत्पादन गरेको छ, उनीहरू मर्कामा छन्, जसले उत्पादन गरेको छैन उनीहरूले समस्याको सामना गर्नु परिरहेको छैन । यस्तो सन्दर्भमा कसरी समस्या समाधान गर्ने भन्ने सन्दर्भमा चिन्ता थियो । तर, सोच्दासोच्दै समय बित्यो र यसलाई पनि हामीले सम्बोधन गर्न सकेनौँ । विद्युत् प्राधिकरण अहिले घाटामा गएको छ । महसुल समायोजन नभएका कारणले प्राधिकारण फेरि पनि टिक्ने अवस्थामा छैन, यसलाई पनि मिलाउनुपर्छ भन्ने सोचेका थियौँ । नेपालको विद्युत् विकासमा लोडसेडिङ कम गर्न विद्युत् उत्पादनमा जोड दिनुपर्छ साथै विद्युत्को बजारीकरण गर्ने एउटा संरचना पनि निर्माण गर्न जरुरी छ । पावर ट्रेड कर्पोरेसन स्थापना गर्न जरुरी छ, केही वर्षपछि उत्पादन हुने बिजुलीलाई बिक्री गर्ने र त्यसको मुनाफाले देशलाई आर्थिक हिसाबले समृद्ध बनाउने बाटोमा अगाडि बढ्न जरुरी छ, मैले यो प्रक्रिया पनि अघि बढाएको थिएँ । धेरै स्थानमा बोलेको पनि थिएँ । यो कुरालाई पनि सम्पन्न गर्न सकेनौँ । मध्यपहाडी ट्रान्समिसन लाइन र उतर दक्षिण रिजर्भेसनका आधारमा ट्रान्समिसन लाइन निर्माण गर्ने कार्य अघि बढाउन एउटा ठोस प्रक्रिया अघि बढाइएको थियो, त्यो पनि अधुरो रह्यो । यस्ता केही गर्नैपर्ने महत्त्वपूर्ण कामहरू रहे । ती कुनै काम ९० प्रतिशतमा पुगेका छन्, कुनै ५० प्रतिशतमा पुगेका छन् । यी कामहरू नेपालको आर्थिक र विद्युत् विकासका लागि गर्नैपर्ने र महत्त्वपूर्ण कामका रूपमा छन् । जसलाई आउने सरकारले अगाडि बढाओस् भन्ने चाहना राख्छु ।
तपाईं मन्त्री भएर हेर्दा नेपालको विकासमा सबैभन्दा ठूलो समस्याचाहिँ के रहेछ भन्ने लाग्यो ?
नेपालमा विकासको सबैभन्दा ठूलो समस्या परम्परागत सोच, मानसिकता, साँघुरो दायरबाट माथि आउन नचाहने र एउटा बोल्ने अर्को गर्नेजस्ता प्रवृत्ति नै नेपालको विकासको बाधक छ । हाम्रा जे सम्भावना छन् यी सम्भावनालाई खुल्ला दिलले प्रयोग गर्न, उपयोग गर्न तयार हुनुपर्छ भन्ने मलाई लाग्छ ।

चढ्ने नेता यी हुन् सरकारी धनमा निजी गाडी
प्रधानमन्त्री पदमा नियुक्त हुनुभएपछि डाक्टर बाबुराम भट्टराईले नेपालमै बनेको सस्तो र सुविधाविहीन गाडी चढ्न थाल्नुभयो । सुरक्षा र सुविधाका दृष्टिले प्रधानमन्त्रीले उक्त गाडी चढ्नु उपयुक्त नहुने भएकाले सुरक्षाका अन्य उपकरण तथा सुविधा थप गरेपछि मात्र चढ्न सुरक्षा अधिकारी र समकक्षीहरूले भट्टराईलाई सुझाएका थिए । तर, प्रधानमन्त्री भट्टराईले नेपालमै बनेको मुस्ताङ गाडी चढ्न थाल्नुभयो । प्रधानमन्त्री भट्टराईले सुविधाविहीन र सस्तो गाडी चढेर नमुना प्रस्तुत गरे पनि भूतपूर्व प्रधानमन्त्री र केही मन्त्रीहरूले भने करोडमाथि पर्ने सुविधासम्पन्न गाडी सरकारलाई खरिद गर्न लगाएर आफ्नो बनाई चढ्दै आएका छन् । अकुत सम्पत्तिका मालिक भए पनि उच्च राजनीतिक नेता तथा उच्चपदस्थ कर्मचारीको आँखा सरकारी स्वामित्वमा रहेको विभिन्न निकायका महँगा गाडीहरूमाथि पर्द आएको थियो र छ । उनीहरू नै सरकारी स्वामित्वका सुविधासम्पन्न गाडी आफ्नो निजी प्रयोगमा ल्याउन बढी केन्द्रित रहेको पाइन्छ । यसैक्रममा सरकारी स्वामित्वका सुविधासम्पन्न गाडीहरूमध्ये सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरणका गाडीमा उनीहरूको आँखा पर्ने गरेका र प्राधिकरणका गाडीलाई नै आफ्नो निजी गाडीको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ । त्यसो त मेलम्ची खानेपानी आयोजनाका गाडीलाई पनि दलका उच्चपदस्थ नेताहरूले आफ्नै बपौतीका रूपमा प्रयोग गर्दै आएका छन् ।
विद्युत् प्राधिकारण सूत्रका अनुसार प्राधिकरणको नाममा रहेको एक करोडभन्दा बढी मूल्य पर्ने महँगो र सुविधासम्पन्न गाडी काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैभन्दा पहिले आफ्नो बनाएका थिए । पछि फिर्ता गर्ने सर्तमा प्राधिकरणबाट देउवाले उक्त गाडी लगेका थिए । तर, उनले कहिल्यै फिर्ता गरेनन् बरु श्रीमती आरजु देउवालाई समेत प्राधिकरणको अर्को गाडी चढाए । चमेलियाको गाडी चढेका देउवाले पत्नी आरजुलाई गण्डकी आयोजनाको गाडी चढाएका छन् । काङ्ग्रेसका नेताहरूमध्ये सबैभन्दा धनी र सम्पन्न नेताका रूपमा परिचित देउवाले प्राधिकरणको दुईवटा गाडी दैनिक प्रयोग गर्द आएका छन् भने ती दुवैमा रातो नम्बर प्लेट टाँसेका छन् ।
प्राधिकरणको गाडी प्रयोग गर्ने देउवादम्पती मात्र होइन । क्रान्तिकारी पृष्ठभूमिबाट संसदीय राजनीतिमा आएका र आफूलाई जनताको -ठेकेदार) मान्ने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्राधिकरणकै गाडीलाई निजी बनाएर चढेका छन् । अत्यन्तै शौखिन र राजषी शैलीमा जीवन व्यतीत गर्द आएका प्रचण्डले प्रधानमन्त्रीबाट खुस्कनेबित्तिकै प्राधिकरणको गाडी हडपेर चढेका थिए । तर, घाटामा रहेको प्राधिकरणको सम्पत्ति पहुँच र दबाबका भरमा राजनीतिक दलका उच्च नेताले प्रयोग गरेको भन्दै त्यहाँका कर्मचारीहरूले चर्को विरोध गर्न थाले । उनीहरूले विरोधस्वरूप गत वर्ष भदौमा एमाले नेता केपी ओलीले प्रयोग गर्द आएका प्राधिकरणको गाडी कब्जामा लिएका पनि थिए । कर्मचारीले अन्य नेताले प्रयोग गरेको प्राधिकरणको गाडी पनि कब्जा गर्ने भन्दै आन्दोलनमा उत्रन थालेपछि प्रचण्डले आफ्नो गाडी पनि कर्मचारीले कब्जा गर्न सक्ने ठानेर आफूले प्रयोग गरेको सुविधासम्पन्न प्राधिकरणको गाडी सरकारलाई सुटुक्क किन्न लगाए । प्रचण्डको दबाब सहन नसकेर माधवकुमार नेपाल नेतृत्वको सरकारले साढे दुई करोडभन्दा बढी मूल्य तिरेर प्राधिकरणसँग उक्त गाडी किनेर प्रचण्डलाई चढ्न दिए । हाल प्रचण्डले सोही गाडी चढिरहेका छन् ।
प्रचण्डले प्राधिकरणको गाडी सरकारी नाममा खरिद गराएर प्रयोग गरेपछि निवर्तमान प्रधानमन्त्री झलनाथ खनालले पनि त्यसैको सिको गर्द प्राधिकरणका गाडी प्रयोग गरिरहेकाहरूबाट फिर्ता गर्नु नपर्ने गरी प्राधिकरणको पाँचवटा गाडी सरकारी नाममा खरिद गरे । खनाल नेतृत्वको सरकारले एमाले नेता केपी ओली, काङ्ग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई, काङ्ग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला, एमाले नेता माधव नेपाल र काङ्ग्रेस नेता शेरबहादुर देउवाले प्रयोग गर्द आएको गाडी खरिद गरेको हो । प्रतिगाडी एक करोड दुई लाख मूल्य कायम गरी खरिद उक्त गाडीहरूमध्ये एउटा खनाल आफैंले प्रयोग गरेका छन् । बाँकी नेपाल, देउवा, ओलीले चढ्ने छन् भने एउटा प्रधानमन्त्री कार्यालयमा प्रयोग हुने सूत्रको भनाइ छ ।
सूत्रका अनुसार प्राधिकरणको सुविधासम्पन्न गाडी राष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका अधिकारीहरूले निर्धक्क चढिरहेका छन् । सत्ताइस अर्बभन्दा बढी सञ्चित घाटामा रहेको प्राधिकरणका नाममा तीन दर्जनभन्दा बढी महँगा र सुविधासम्पन्न गाडी उच्चपदस्थका सरकारी कर्मचारी तथा दलका नेताहरूले प्रयोग गर्दै आएका हुन् । घटना र विचारलाई प्राप्त जानकारीअनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, एक पूर्वगृहमन्त्री, प्राधिकरणका पूर्वप्रमुख, पूर्वऊर्जामन्त्रीहरू, विभिन्न आयोजनाका पूर्वप्रमुखहरूका साथै सबैजसो दलका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरूले चढ्दै आएका छन् । प्रधानमन्त्री तथा ऊर्जामन्त्रीको मिलोमतोमा विभिन्न आयोजनाका नाममा अत्याधुनिक तथा सुविधासम्पन्न गाडी खरिद गर्न लगाएर उक्त गाडी आफूले नै प्रयोग गर्ने काम पनि विगतमा भएका थिए । सूत्रका अनुसार उच्च सरकारी अधिकारीकै दबाबमा चमेलिया आयोजनाका नाममा सुविधासम्पन्न दसवटा गाडी खरिद गरिएको थियो । त्यही गाडीमा सबैको आँखा पर्ने गरेको र पालैपालो प्रयोग गर्द आएकोसमेत प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् । चमेलियाको नाममा खरिद गाडीहरू देउवा, नेपाल, ओली, प्रचण्डले निजी बनाएर चढ्दै आएका थिए । बाँकी केही गाडी भने अन्य नेताहरूले पालैपालो चढ्दै आएका थिए । प्राधिकरण सवारी शाखा विभागका अनुसार अधिकांश दलका नेताहरूले प्राधिकरणका सुविधासम्पन्न गाडी दैनिक रूपमा प्रयोग गर्ने र मर्मतका लागि प्राधिकरणमा फिर्ता ल्याउने गरेका छन् । आयोजना भएका जिल्लाका प्रशासन प्रमुख तथा दलका जिल्लास्तरीय नेताहरूले पनि प्राधिकरणकै गाडी प्रयोग गर्ने गर्छन्- विभागका एक कर्मचारीले बताए । गाडी नदिए कुनैकुनै बहानामा तोडफोड गर्ने भएकाले बाध्य भएर प्राधिकरणको गाडी प्रयोग गर्न दिनुपरेको प्राधिकरणका एक निर्देशकले बताए । उनका अनुसार मुलुकभर गरेर सत्तरीभन्दा बढी गाडी प्राधिकरणसँग सम्बन्धित नरहेका व्यक्तिहरूले बलजफ्ती प्रयोग गरिरहेका छन् । तर, सवारी विभागका हरिनारायण यादवले भने प्राधिकरणको नाममा भएका सबै गाडीहरू फिर्ता गर्ने अभियानमा आफूहरू रहेको र धेरै गाडी फिर्ता भइसकेको बताउँछन् । उनले भने, ‘अधिकांश गाडी फिर्ता भइसकेका छन्, केही गाडी मात्र बाँकी छन् ती पनि छिट्टै फिर्ता ल्याइनेछ ।’
विद्युत् प्राधिकरण सञ्चालक समिति अध्यक्ष एवम् ऊर्जासचिव बालानन्द पौडेलले पनि प्राधिकरणका नाममा रहेका सबैजसो गाडी फिर्ता भइसकेको र केही मात्र बाँकी रहेकाले त्यो पनि छिट्टै फिर्ता हुने बताए । प्राधिकरणमा रहेका महँगो मूल्यका गाडी बिक्री गरेर सस्तो मूल्यका गाडी खरिद गरिने र आगामी दिनमा महँगो मूल्यका कुनै पनि गाडी खरिद नगरिने निर्णयमा पुगेको जानकारी गराउँदै पौडेलले महँगो मूल्यका पाँच गाडी सरकारलाई बिक्री गरिएको बताए । उनका अनुसार प्राधिकरणको घाटा कम गर्न यसअघि सञ्चालक समिति सदस्यलाई दिँदै आएको गाडी सुविधा कटौती गरिएको छ । पौडेलले भने, ‘यसरी गाडी सुविधा कटौती गर्दा वार्षिक दुई करोड फाइदा हुने अनुमान छ ।’

रामचन्द्र हारे कि हराइए ?
नेपाली काङ्ग्रेसका विचारनिष्ठ एवम् स्वच्छ छविका नेता रामचन्द्र पौडेल यसपटक पनि प्रधानमन्त्री बन्न सक्नुभएन । झलनाथ-प्रचण्ड गठबन्धन सरकारको पतनपश्चात् मुलुकमा प्रजातान्त्रिक गठबन्धनको संस्कार निर्माण हुने र त्यसको नेतृत्व रामचन्द्र पौडेलले गर्नुहुने अपेक्षा गरिएको थियो । तर, अपेक्षाअनुरूपको परिस्थिति निर्माण भएन । मधेसकेन्द्रित दलहरू जसको जग लोकतान्त्रिक विचार-दर्शनमा आधारित भएको हुँदा उनीहरूको प्राथमिकतामा माओवादीसँगको गठबन्धन पर्ने छैन भन्ने अनुमान धेरैले गरेका थिए । मधेसकेन्द्रित दलका नेताहरूमध्ये केहीले माओवादीका पक्षमा विचार अभिव्यक्त गर्दा पनि त्यसलाई काङ्ग्रेससँगको बार्गेनिङका रूपमा बुझिएको थियो । तर, मधेसी नेताहरूको प्राथमिकतामा लोकतान्त्रिक विचार-दर्शन परेन, बरु क्षेत्रीय मुद्दा र दलगत हित नै पहिलो प्राथमिकताको विषय बन्यो । आत्मनिर्णयको अधिकारसहितको प्रदेश, करिब एक दर्जन आकर्षक मन्त्रालयको नेतृत्व र मधेसीहरूलाई राष्ट्रिय सेनाभित्र बेग्लै प्रवेशजस्ता ‘उपलब्धि’हरू लिँदै मधेसकेन्द्रित दलहरूले माओवादीसँग गठबन्धन बनाए । नेपाली काङ्ग्रेस र एमालेसँगको गठबन्धनमा सामेल भएको भए त्यस किसिमको ‘उपलब्धि’ मधेसी दलहरूका निम्ति सम्भव थिए । स्मरणीय छ, काङ्ग्रेस र एमाले आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेशका पक्षमा छैनन् र सेनामा मधेसीहरूको प्रवेशका बारेमा पनि उनीहरू ‘रिजर्भ’ छन् । यदि माओवादीले झैं मधेसी नेताहरूको हरेक प्रस्तावमा सहमति जनाएको भए उनीहरू रामचन्द्र पौडेललाई अगाडि राखेर प्रजातान्त्रिक गठबन्धनमा सामेल हुने सम्भावना पक्कै थियो । तर, पौडेलले देश र लोकतन्त्रलाई धक्का पुग्ने कुनै पनि कुरामा सम्झौता गर्ने इच्छा दर्शाउनुभएन । फलस्वरूप उहाँलाई प्रधानमन्त्रीको निर्वाचनमा हराइएको छ । पौडेलको पराजयलाई प्रजातान्त्रिक कित्ताको नै पराजयका रूपमा लिइएको छ । पौडेललाई नेकपा एमालेलगायत केही साना दलहरूले समर्थन गर्ने घोषणा गरिसकेका थिए । मधेसी मोर्चाले पनि समर्थन गरेको भए अन्य केही साना दलहरूले समेत पौडेललाई सहयोग गर्ने वचन दिएका थिए । तर, मोर्चा माओवादीपटि्ट ढल्किएपछि साना दलहरूले पौडेललाई मतदान गर्नु हितकारी हुने देखेनन् । पौडेललाई पराजित गर्न जे-जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू लागिपरे, तिनको प्रजातन्त्रप्रतिको निष्ठा र प्रतिबद्धतामाथि पनि प्रश्न उठेको छ । बाबुराम भट्टराईजस्ता लोकप्रिय नेताले विजयीको ठाउँ नलिएको भए प्रतिक्रिया अर्कै ढङ्गले प्रकट हुन पनि सक्थ्यो । मधेसकेन्द्रित दलहरूबीचको अभूतपूर्व एकता देखिएपछि रामचन्द्र पौडेलले आफ्नो पराजय हुने निश्चित ठान्नुभएको थियो, तर आफूलाई ‘चक्मा दिँदै’ माओवादीसँग सहकार्य गर्न पुग्नुले चाहिँ पौडेललाई चकित पारेको छ । स्मरणीय छ, मधेसी मोर्चाले पत्रकार सम्मेलन गरी बाबुरामको पक्षमा मतदान गर्ने फैसला सुनाउनुभन्दा केही मिनेट अघिसम्म प्रमुख मधेसी नेताहरूले रामचन्द्र पौडेलसँग सम्पर्क गरी उहाँलाई समर्थन हुनसक्ने झाँसा दिइरहेका थिए । उता पौडेलले भने मधेसी मोर्चाको समर्थन आफूलाई प्राप्त हुन नसक्ने सङ्केत पाइसक्नुभएको थियो । नयाँबजारस्थित प्रचण्डनिवासमा प्रचण्ड, बाबुराम भट्टराई र कृष्णप्रसाद सिटौलालगायतका केही नेताहरू बसी छलफल गरेको, प्रचण्ड र विदेशी दूतबीच एपेक बैठकबाट फर्कनेक्रममा थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न गुप्त बैठक भई सहमति बनेकोलगायतका सूचना रामचन्द्र पौडेलले प्राप्त गरिसक्नुभएको थियो । लोकतान्त्रिक शक्तिहरू नै आफूलाई परास्त गर्न किन सक्रिय भएका हुन् भन्ने कुराको जवाफ मात्र पौडेलले प्राप्त गर्न सक्नुभएको थिएन । र, भनिन्छ उहाँलाई त्यसको जवाफ अझै मिल्न सकेको छैन । जुनसुकै कारण र तर्कका आधारमा पौडेललाई पराजित तुल्याइएको भए पनि त्यसको नकारात्मक असर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई परेको छ । यसबाट पर्न गएको क्षति भविष्यमा कसरी पूर्ति परिएला प्रतीक्षा गर्नुको विकल्प देखिएको छैन ।

वैद्यले बनाई छाडे
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाजस्तै त्यागी र निष्कलंकित मानिएका माओवादी नेता मोहन वैद्य किरणले आखिर डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाइछाडे । विचारले उग्र तर व्यवहार शालीन र जीवनशैली अत्यन्त साधारण भएका वैद्यले नै बाइस वर्षअघि प्रचण्डलाई पनि क्रेनले झैं तानेर पार्टीको नेता बनाइदिएका थिए । वि.सं. २०४५ सालको आखिरीतिर प्रचण्डलाई तात्कालिक नेकपा मसालको महामन्त्री बनाइँदा पार्टीका केही नेताहरूले तीव्र असन्तुष्टि प्रकट गरेका थिए । देव गुरुङलगायतका नेताहरूले महामन्त्रीका करणलाई यथावत् रहन आग्रह गर्द यदि हस्तान्तरण गर्ने हो भने सीपी गजुरेलमा गरौँ भनेका थिए । तर, त्यसबेला किरणले प्रचण्डलाई नै नेता बनाउने अठोट गरिसकेका थिए, कसैको दबाब या आग्रहले उनलाई प्रभाव पारेन । प्रचण्डलाई महामन्त्रीको पगरी गुथाएर अघि बढाए, पछि अध्यक्ष र प्राधिकारसम्म बनाउन पनि किरण अग्रसर भए । दुई दशकसम्म प्रमुख नेताको भूमिकामा रहँदा प्रचण्डले आफूलाई निरि्वकल्प ठान्न थाल्नु स्वाभाविक थियो । उनले पार्टीमा र देशमै आफ्नो विकल्प देख्न छोडे । स्वयम् मोहन वैद्य किरणलाई एक्ल्याउने, कमजोर पार्ने र सके पार्टीबाटै हटाउनेसम्मको योजनामा प्रचण्ड लाग्न थाले । प्रचण्डको व्यवहारले दन्त्यकथाका ती साधुको याद दिलायो जसले आफ्ना शिष्यको बाघ बन्ने इच्छा पूरा गरेका थिए । अहंकार बढेर प्रचण्ड किरणलाई नै सिध्याउने प्रयत्नमा लागेपछि प्रचण्डको अवस्था त्यस्तै भएको छ जुन बाघ बन्ने शिष्यले आफ्ना गुरु साधुलाई नै सिकार बनाउन खोजेपछि बाघको ढुङ्गेमूर्तिमा रूपान्तरण हुनुपरेको थियो । प्रचण्डको कार्यशैली र व्यवहारबाट असन्तुष्ट वैद्यले पार्टी र क्रान्ति जोगाउन प्रचण्डलाई निश्चित साइजमा ल्याइदिनुपर्ने ठाने । त्यसनिम्ति सरकारको नेतृत्व डा. बाबुराम भट्टराईमा र पार्टीको वागडोर आफ्नै हातमा लिनुपर्ने निष्कर्षमा वैद्य पुगे । वैद्यको यही अठोटका कारण नारायणकाजी श्रेष्ठले उपप्रधानम तथा गृहमन्त्रीको हैसियत प्राप्त गरे भने अहिले डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनाइएका छन् । पार्टीको शक्ति प्रचण्डकै हातमा रहिरहेको भए न नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बन्ने मौका मिल्थ्यो न बाबुराम नै अहिले प्रधानमन्त्री बन्न सक्थे । संविधानसभाको सदस्य पद त्यागेर पार्टी सङ्गठनको काममा मात्र केन्द्रित वैद्यकै कारण डा. भट्टराईले प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । अब माओवादी पार्टीको अध्यक्ष बनाउन बाबुरामबाट वैद्यलाई सहयोग हुने हो कि होइन त्यसको जानकारीका लागि माओवादीको आगामी महाधिवेशनसम्म पर्खनुपर्नेछ ।

मन्त्री बन्न तीव्र प्रतिस्पर्धा, देश बनाउनभन्दा मन्त्री छान्न गाह्रो †
मन्त्री बन्ने प्रतिस्पर्धाले उग्ररूप लिएपछि प्रधानमन्त्री नियुक्तिको तीन दिन बितिसक्दा पनि एकीकृत माओवादीले सरकारमा सामेल गरिने मन्त्रीको नामको टुङ्गो लगाउन सकेन । पार्टीका वरिष्ठ नेताहरू नै मन्त्री बन्ने प्रतिस्पर्धामा कडा रूपमा उत्रेपछि असहज स्थिति पैदा भयो र मंगलबार बसेको स्थायी समिति बैठक मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष मोहन वैद्य किरणलाई जिम्मा दिँदै टुङ्गिएको छ । प्रवक्ता दीनानाथ शर्माका अनुसार मन्त्री छनोटमा नेतृत्वबीच सामान्य कुरा नमिलेपछि मन्त्री छान्ने जिम्मा नेतात्रयलाई दिएको हो । शर्माका अनुसार अध्यक्ष्ँ प्रचण्डको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले दुई दिनभित्र मन्त्री बन्ने व्यक्तिहरूको नाम छनोट गर्नेछ ।
माओवादी उच्च सूत्रका अनुसार बैठकमा उपाध्यक्ष वैद्य, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, पोष्टबहादुर बोगटीलगायतले मन्त्री बनाउनुपर्ने व्यक्तिको नाम सिफारिस गरेका थिए । उनीहरूले आफूनिकट नेताहरूलाई मन्त्री बनाउनुपर्ने भन्दै सबैलाई अवसर दिनुपर्ने जिकिर गरेका थिए । बैठकमा उपाध्यक्ष वैद्यले देव गुरुङलाई अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्ने र सीपी गजुरेललाई परराष्ट्रमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए । वैद्यलाई यसरी मन्त्री बनाउनुपर्ने व्यक्तिको नाम सार्वजनिक गरेलगत्तै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले उपप्रधानसहित अर्थ मन्त्रालयको नेतृत्व गर्न पाउनुपर्ने जिकिर गर्नुभएको थियो । श्रेष्ठले उक्त मन्त्रालय सम्हाल्न आफू सक्षम भएकाले अर्थ मन्त्रालय आफूले पाउनुपर्ने दाबी बैठकमा गर्नुभएको थियो । सूत्रका अनुसार श्रेष्ठले उपप्रधानसहित अर्थमन्त्री दाबी गरेपछि बैठकको वातावरण केही तनावपूर्ण बनेको थियो । श्रेष्ठले पार्टीमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको र आफ्नो महत्त्वपूर्ण भूमिकाको कारण बाबुराम प्रधानमन्त्री बन्न सफल भएकोले आफूलाई सोहीअनुसारको भूमिका दिनुपर्ने माग गर्नुभएको थियो । धोबीघाट भेलाको निष्कर्ष पनि त्यही भएकोले पार्टीको दोस्रो बरियतामा आफूले सरकारमा सहभागी हुन पाउनुपर्ने जिकिर उहाँको थियो ।
यसअघि अस्ति सोमबार बसेको पदाधिकारी बैठकमा पनि महत्त्वपूर्ण मन्त्रालयहरूको ठूलो सङ्ख्या मधेसी मोर्चाले पाएपछि आफ्नै पार्टीका नेताहरूलाई मन्त्रिमण्डलमा कसरी सामेल गराउने भन्ने विषयलाई लिएर माओवादी पार्टीमा विवाद र तनाव उत्पन्न भयो । बाबुरामनिकटताका नेताहरू देवेन्द्र पौडेल र राम कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाइने भए पनि अन्य धेरै नेतालाई सरकारमा भूमिका दिनसक्ने हैसियतमा डा. भट्टराई हुनुहुन्न । गत सोमबार बसेको पार्टी पदाधिकारीहरूको बैठकमा मोहन वैद्य किरणले जाति, लिङ्ग, क्षेत्र आदि सबै मिलाएर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिँदै उहाँले नेता सीपी गजुरेललाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउनुपर्ने र अर्थमन्त्रीमा देव गुरुङलाई राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । सीपी गजुरेल पार्टीका पुराना नेताहरूमा महत्त्वपूर्ण एक हुनुहुन्छ र उहाँलाई परराष्ट्र मन्त्रालय तथा सन्तुलनका दृष्टिले देव गुरुङलाई अर्थ मन्त्रालय दिनुपर्ने वैद्यको प्रस्ताव थियो । तर, आफूलाई तेह्र दिनका लागि मात्र मन्त्री बनाइएको हो र भन्ने प्रश्न गर्द उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा अर्थ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्नुभयो । यद्यपि, नारायणकाजीलाई अर्थमन्त्री बनाउन वैद्य र भट्टराई इच्छुक देखिनुभएन । प्रचण्ड पनि नारायणकाजीको पक्षमा नरहनुभएको देखियो । डा. बाबुराम भट्टराई हरि रोकालाई अर्थ मन्त्रालय जिम्मा लगाउन इच्छुक भए पनि बैठकमा उहाँले कसैको नाम प्रस्ताव गर्नुभएन । पार्टीबाट उपयुक्त निर्णय होस् भन्ने चाहना भट्टराईले राख्नुभएको बताइन्छ । भट्टराईनिकटका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, राम कार्कीलगायतलाई मन्त्रिमण्डलमा समावेश गरिने सम्भावना घटेको छ । वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, भीमप्रसाद गौतम, लेखराज भट्ट, पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादललगायतका नेताहरू सम्भावित मन्त्रीको सूचीमा परेको बुझिएको छ । जो मन्त्री भए पनि मन्त्रिमण्डलले सजिलै पूर्णता पाउनेचाहिँ देखिएको छैन । मन्त्री बन्न चाहनेहरूको लावालस्कर ठूलो भएका कारण डा. भट्टराईलाई मन्त्री चयन कार्य नै कठिन हुने स्थिति उत्पन्न भएको हो । मन्त्री बन्न र बनाउन पार्टीभित्र विभिन्न गुट तथा उपगुट सक्रिय भएकोले प्रधानमन्त्री भट्टराई सकसमा पर्नुभएको बताइन्छ ।
स्थायी समिति बैठकमा मन्त्री बन्ने र बन्न चाहनेहरूको लामो सूची नै प्रस्तुत भएपछि प्रधानमन्त्री भट्टराईले बैठकलाई सम्बोधन गर्दै आफूले विवादरहित ढङ्गबाट समावेशी र बौद्धिक वर्गलाई मन्त्रिमण्डलमा समावेश गराउन चाहेकाले उपयुक्त र सक्षम व्यक्तिहरू मात्र सिफारिस गर्न पार्टी नेतृत्वसँग आग्रह गर्नुभएको थियो । उनले मोज गर्न नभई काम गर्नका लागि मात्र मन्त्रिमण्डलमा सहमागी हुनुपर्ने भन्दै काम र इमानको विषयमा कसैसँग सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभएको थियो ।
यसअघि बिहान धोबीघाट भेलामा सहभागी वैद्य र भट्टराईनिकट केन्द्रीय नेताहरूले गोप्य बैठक बसी मन्त्री बन्नेहरूको सूची तयार गरेको थियो । गोप्य बैठकले तयार गरेको मन्त्रीहरूको सूची दिउँसो अध्यक्ष प्रचण्डलाई बुझाइएको थियो । तर, प्रचण्डले उक्त सूचीप्रति आपत्ति जनाउँदै बैठकबाट सबै कुरा टुङ्ग्याउनुपर्ने बताउनुभएको थियो ।

बाहिरिएपछि बेग्लै कुरा
पद र सत्ताका लागि मरिहत्ते गर्ने र जसको नेतृत्वमा सरकार बने पनि सहभागी हुँदै आएको एमाले पाँच वर्षपछि सत्ताबाहिर पुगेको छ । त्यसो त उसले यसपटक पनि सत्तामा पुग्न निकै प्रयास गरेको थियो । सत्तामा पुग्ने प्रयासस्वरूप एमालेले मधेसकेन्द्रित दलका नेताहरूसँग पटक-पटक छलफल गरेको थियो । छलफलका क्रममा मधेसकेन्द्रित दलका नेताबाट सुरुमा सकारात्मक सिग्नल पाएपछि ऊ पुनः सत्तामा पुग्ने सोचमा थियो । बहुमतीय सरकारमा सहभागी हुने स्थायी समिति बैठकबाट निर्णय गरेको एमालेले पछि पुनः स्थायी समितिबाटै पुराना निर्णयलाई सच्याउँदै बहुमतीय सरकारमा जाने निर्णय गरेको थियो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली तथा उनीनिकट नेताहरूको कडा दबाबका कारण रामचन्द्र पौडेलको समर्थन गर्द एमालेले बहुमतीय सरकारमा जाने निर्णय गरेको थियो । एमालेमा नेपाल-ओली पक्षका नेताहरू काङ्ग्रेससँग मिलेर बहुमतीय सरकार बनाउनुपर्ने अडानमा थिए भने वामदेव गौतम पुनः माओवादीसँग मिलेर सरकारमा बनाउनुपर्नेमा । तर, अध्यक्ष्ँ खनाल भने काङ्ग्रेस वा माओवादीमध्ये एकलाई सहयोग गरेर अघि बढे पनि पार्टी सत्ताबाहिरै रहने भन्नेमा थिए । अन्ततः एमालेमा नेपाल-ओलीको बहुमत हुन पुग्यो र काङ्ग्रेस नेतृत्वमा सरकारमा जाने निर्णय भयो । तर, एमालेको सरकारमा जाने सोचाइ यसपटक अधुरै रह्यो र सत्ताबाहिर रहन पुग्यो । काङ्ग्रेसको नेतृत्वमा सरकार बने यसपटक एमाले महासचिवर् इश्वर पोखरेल पार्टीको नेतृत्व गर्द सरकारमा सहभागी हुने निश्चितजस्तै थियो । पोखरेल उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा सरकारमा जाने योजनामा थिए र सोहीअनुसारको चाँजोपाँजोसमेत मिलाउँदै आएका थिए ।
आन्तरिक द्वन्द्वमा चुर्लुम्म डुबेकाले उसले कस्तो नीति बनाउने र त्यसलाई कसरी लागू गर्ने हो भन्नेमा अन्योल रहेको हो । एमालेमा एकथरी नेताहरू अध्यक्ष खनाललाई कारबाही गर्नुपर्ने अडानमा छन् । उनीहरूले अध्यक्ष्ँले पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै अनुशासनको कारबाही गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् भने अर्को समूहले पार्टीका नेताहरूका कारण पार्टी नेतृत्वको सरकार असफल भएको र पार्टीभित्र गुटगत संस्कृति मौलाएको आरोप लगाउँदै आएको छ । यी दुई आरोप-प्रत्यारोप आगामी २६ भदौमा बस्ने बैठकमा छलफल हुनेछ । पार्टीका शर्षि नेताहरूले आफ्नो धारणालाई पार्टीको धारणा भन्दै सार्वजनिक गरे पनि यस विषयमा छिट्टै बैठक बसी अफ्नो धारणा सार्वजनिक गर्ने सचिव युवराज ज्ञवालीले बताए । शान्ति र संविधान निर्माणमा एमाले प्रतिबद्ध भएर लाग्ने जानकारी गराउँदै यस विषयमा छिट्टै बस्ने स्थायी समिति बैठकले निर्णय गर्ने सचिव ज्ञवालीको भनाइ थियो । पार्टीभित्र थुप्रैखाले समस्या भएकाले आन्तरिक समस्या समाधानमा केन्द्रित हुने पनि ज्ञवालीको भनाइ थियो । सूत्रका अनुसार यतिबेला एमालेभित्र सरकारमा नरहे पनि सरकारलाई सहयोग गरेर अघि बढ्नुपर्ने र सरकारको कडा विपक्ष्ँमा उभिनुपर्छ भन्ने दुई धार देखिएको छ । खनालनिकट एक नेताका अनुसार खनाल भने पार्टीभित्र देखिएका विवादलाई समाधान गरेर मात्र सरकारलाई हर्ेर्ने दृष्टिकोण बनाउने पक्षमा रहेका छन् ।

नेपाली शान्ति सैनिकद्वारा डार्फरमा स्वास्थ्य शिविर
अफ्रिकी राष्ट्र सुडानको डार्फरमा तैनाथ नेपाली शान्ति सैनिकको पहल एवम् नेतृत्वमा डार्फरको द्वन्द्वबाट अति प्रभावित विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी हजारौँ स्थानीय जनतालाई उपचार सेवा उपलब्ध गराएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
द्वन्द्वबाट प्रभावित स्थानीय जनतालाई मानवीय सहायता उपलब्ध गराउने डार्फरमा तैनाथ राष्ट्रसङ्घीय मिसनका फोर्स कमान्डर ले.ज. प्याट्रिक न्यामभुम्बाको निर्देशनबमोजिम सो मिसनको नेपाली फोर्स रिजर्भ कम्पनीको नेतृत्वमा मंगोलियाको लेभल-२ अस्पताल, रुवान्डाली गण तथा नेपाली सेक्टर रिजर्भ कम्पनीका मेडिकल टोलीहरू संलग्न भई ‘हवुव चेज-२’ नामक अभ्यास सञ्चालन गरी सो सेवा प्रदान गरेका थिए । गत १६ देखि २३ अगष्टसम्म सञ्चालित अभ्यासको दौरान अति नै द्वन्द्वप्रभावित इलाकाहरूमा अस्थायी अपरेटिङ बेसहरू स्थापना गरी दुई हजार दुई सय छयासी स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सो शिविरलाई युनिसेफ, डब्लूएचओ र सुडानी स्वास्थ्य मन्त्रालयले विभिन्न औषधि उपलब्ध गराई सहयोग गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिकले लिएको यस्तो पहलकदमीको मिसनका फोर्स कमान्डर, चिफ अफ स्टाफ, उत्तरी सेक्टरमा सेक्टर कमान्डर, स्थानीय नेता तथा पदाधिकारीलगायत स्थानीय बासिन्दाले समेत खुलेर प्रशंसा गरेका थिए ।

पोर्चुगलको लगानी भित्र्याउन छलफल
नेपाल र पोर्चुगलबीच आर्थिक/व्यापारिक सम्बन्ध विस्तार एवम् निजी क्षेत्रबीच सम्बन्ध विस्तारमा कूटनीतिक तवरबाट हुन सक्ने सन्दर्भमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य र नेपालका लागि पोर्चुगलका राजदूत जर्ज रोजा दि ओलिभेराबीच गतसाता महासङ्घ सचिवालयमा भएको भेटमा अध्यक्ष वैद्यले नेपालमा लगानी गर्न थुप्रै सम्भाव्य क्षेत्रहरू रहेकाले पोर्चुगलको लगानी भित्र्याउन कूटनीतिक तवरबाट सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले नेपालमा कृषि, कृषि प्रशोधन, पर्यटन र पूर्वाधार निर्माणलगायतका क्षेत्रमा लगानीको सम्भाव्यता रहेको र ती क्षेत्रहरूमा पोर्चुगलको लगानीका लागि आग्रह गर्द महासङ्घले पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । सो अवसरमा राजदूत ओलिभेराले नेपाली निजी क्षेत्रसँग भएको वार्ता एवम् छलफलबाट दुई देशबीचको सम्भाव्यताबारे राम्रो जानकारी हासिल गर्ने मौका मिलेको र लगानी भित्र्याउने सम्बन्धमा आफ्नोतर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउनुभयो ।

म र मेरो धुलिखेल सार्वजनिक
धुलिखेललाई विकसित नगर बनाउनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका समाजसेवी बेलप्रसाद श्रेष्ठद्वारा धुलिखेलका आधुनिक स्वरूप निर्माण गर्नका लागि गरिएका प्रयत्न र सङ्घर्षका गाथाहरू समेटिएको ‘म र मेरो धुलिखेल’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठको जीवनयात्रासँग जोडेर लेखिएको उक्त पुस्तक गत शनिबार होटल हिमालय होराइजनमा आयोजित विशेष समारोहमा वरिष्ठ लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशीले सार्वजनिक गर्नुभयो ।
पूर्वशिक्षामन्त्री केशरबहादुर विष्ट र काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा विशिष्ट अतिथि रहनुभएको सो समारोहको सभापतित्व विश्वविद्यालयका पूर्वरजिस्ट्रार डा. सीताराम अधिकारीले गर्नुभएको थियो ।
लेखक बेलप्रसाद श्रेष्ठले उहाँका लागि सर्वाधिक प्रिय रहेको धुलिखेलले छोटो अवधिमा विकासका लागि कसरी फड्को हान्यो भन्ने कुरा उहाँले यस पुस्तकमा देखाउन खोज्नुभएको छ । पुस्तकमा डा. सुरेशराज शर्मालगायत त्रिविका पूर्वउपकुलपति तथा पूर्वराजदूत केदारभक्त माथेमा र धुलिखेल अस्पतालका संस्थापक निर्देशक डा. रामकण्ठ माकजूको मन्तव्य रहेको छ भने पुस्तकको सम्पादन साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुरश्रीले गर्नुभएको छ । किरण श्रेष्ठको प्रकाशकत्वमा प्रकाशित उक्त पुस्तकलाई पूर्णहरि अमात्यले प्रस्तुत गर्नुभएको हो ।
सार्वजनिकीकरण समारोहमा सत्यमोहन जोशी, केशरबहादुर विष्ट, डा. सुरेशराज शर्मा र डा. सीताराम अधिकारीले ‘म र मेरो धुलिखेल’ पुस्तक चेतनशील र चिन्तनशील हरेक नेपालीले पढ्नैपर्ने खालको भएको बताउनुभयो भने पुस्तकका सम्पादक हरि मञ्जुश्री, मुकुन्दप्रसाद उपाध्याय र पुस्तकका प्रस्तुतकर्ता पूर्णहरि अमात्यले बेलप्रसाद श्रेष्ठको व्यक्तित्व र कृतित्वका बारेमा बोल्नुभयो । प्रकाशक किरण श्रेष्ठले स्वागत गर्नुभएको उक्त समारोहको सञ्चालन अनमोल श्रेष्ठले गर्नुभएको थियो ।
समारोहमा डिल्लीराम निर्भीक, मोहन दुवाल, ज्ञानकाजी मानन्धर, डा. राजेन्द्र कोजू, केशव कुँवर, कवीन्द्रराज शर्मा, श्री शर्मा मूर्ख, शारदाप्रसाद शर्मा, दण्डपाणि अधिकारी, लक्ष्मण राजभण्डारी, आशाकाजी सेवक आदिलगायत साहित्यकार, पत्रकार, शिक्षासेवी, समाजसेवी, स्वास्थ्यसेवी आदिको उपस्थिति थियो ।-नवीन उप्रेती

जसुदाको स्मृति-सभा सम्पन्न
पत्रकार जसुदा प्रधानको वार्षिक स्मृति-सभा राजधानीमा सम्पन्न भएको छ । संरचना साप्ताहिककी सम्पादक तथा पिपुल्स रिभ्यु साप्ताहिककी प्रबन्ध-निर्देशक जसुदाको गत वर्ष निधन भएको थियो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ‘जसुदा ः निरन्तर सङ्घर्षको जीवन’ पुस्तकको विमोचन गर्नुभएको थियो । पुस्तकमा पारिवारिक सदस्यहरू, स्व जसुदा प्रधानकी आमा विष्णुमाया खाकी, सासू चमेली प्रधान, श्रीमान् पुष्पराज प्रधान, पत्रकारहरू पुस्करलाल श्रेष्ठ, पी खरेल, लोकद्वीप थापा, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, देवेन्द्र गौतम, रमा सिंह, हरि लम्साल, गिरिश पोख्रेल, बबिता बस्नेतलगायत विभिन्न व्यक्तित्वका संस्मरणहरू समेटिएका छन् ।
पत्रकार पुष्प प्रधान, चन्द्र खाकी, पुजवराज प्रधान, पुञ्जिता प्रधान र बीएन दाहालको सम्पादनमा प्रकाशित ‘जसुदा ः निरन्तर सङ्घर्षका पाइला’मा जसुदासँग सम्बन्धित व्यक्तिगत र व्यावसायिक कुराहरू छन् । स्व. प्रधानका पति पुष्पराज प्रधानद्वारा लेखिएको ‘जीवनसाथीको सम्झनामा’ शर्षिक लेख तथा कविता अत्यन्त मार्मिक छ । जहाँ उनले लेखेका छन्- सन्नाटा छायो यो मनमा तिमी गएपछि, पूरि्णमाको जुन जस्तै हँसिलो त्रि्रो मुहार, शायद तारा बनेर चम्किरहेकी छ्यौ, हामीलाई छोडेर गएपछि ।

राजदूत जयन्त प्रसादद्वारा कार्यभार ग्रहण
आफ्नो कार्यकाल सम्पन्न गरी राकेश सुद बिदा भएलगत्तै नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत जयन्त प्रसादको नेपाल आगमन भएको छ । गत साता बिहीबार कार्यभार सम्हाल्न नेपाल आउनुभएका जयन्तले त्यसको भोलिपल्ट राष्ट्रपति डा. रामवरण यादवसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।
नेपाल आएलगत्तै विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दा राजदूत जयन्तले नेपालजस्तो बहुआयामिक प्रकृतिसम्पन्न देश अर्को नभएको अभिव्यक्ति दिएर नेपाल र नेपालीको मन जित्ने प्रयास गर्नुभयो । ‘नेपाल र भारतको सफलता र समृद्धि आपसमा अन्तर्सम्बन्धित छन् जो हामी साटासाट गरेर लाभ लिन चाहन्छौँ,’ उहाँको स्पष्टोक्ति थियो । राजदूत जयन्तप्रसादले भन्नुभयो, ‘नेपाल र भारत दुवैले यतिबेला शान्ति, स्थायित्व, राष्ट्रिय एकता र विकासका प्रतिफल कसरी जनतामाझ पुर्‍याउने भन्ने चुनौती व्यहोरिरहेका छन् ।’
नेपालमा जारी राजनीतिक सङ्क्रमण एवम् अन्योलप्रति चिन्ता व्यक्त गर्द उहाँले अगाडि भन्नुभयो, ‘हामी नेपाल शान्त, सफल र समृद्ध भएको हेर्न चाहन्छौँ । हाम्रो यस व्याकुलताले मूर्तरूप पाए अर्थात् नेपाल सफल भए त्यसको लाभ भारतले पनि उत्तिकै चाख्न पाउनेमा हामी विश्वस्त छौँ ।’ नेपाल र भारतबीचको घनिष्ट सम्बन्धलाई अझ गहिराइमा पुर्‍याउन आफू कटिबद्ध रहने प्रतिबद्धता राजदूत जयन्त प्रसादले सो अवसरमा व्यक्त गर्नुभयो ।
यसैबीच नेपालका नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले बधाई सन्देश पठाउनुभएको छ । सो सन्देशमा उहाँले प्रधानमन्त्री भट्टराईको कार्यकाल नेपालमा जारी शान्तिप्रक्रिया पूरा गरी नयाँ संविधान जारी गर्ने लक्ष्यमा पुग्न सफल हुने विश्वासका साथ नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धिको सशक्तीकरणका लागि डा. भट्टराई सफल हुने कामना भारतीय जनता र सरकारका तर्फबाट व्यक्त गर्नुभएको छ । भारत नेपालसँगका सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ भन्दै शुभकामनापत्रमा सिंहले ‘दुई देशबीचको जनस्तरीय र खुला सीमाले हाम्रो सम्बन्धलाई विशेष बनाएको’ उल्लेख गर्नुभएको छ । नेपाललाई थप स्थिर, लोकतान्त्रिक र समृद्ध बनाउन भारत प्रतिबद्ध रहेको र यसले यसबाट यस क्षेत्रकै सुरक्षा र समृद्धिमा बल पुग्ने जनाउँदै सिंहले दुई देशबीचको विद्यमान सभ्यता र भ्रातृत्व सम्बन्धलाई सशक्त र गहिरो बनाउन आपसमा मिलेर काम गर्नसमेत आग्रह गर्नुभएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बधाई सन्देश दिने पहिलो विदेशी सरकारप्रमुख बन्नुभएका भारतीय प्रधानमन्त्री डा. सिंहले उचित समयमा भारतको भ्रमण गर्न प्रधानमन्त्री भट्टराईलाई निम्तोसमेत दिनुभएको छ ।

मैत्री सङ्घको निर्वाचन सम्पन्न
नेपाल-भारत मानव विकास एवम् मैत्री सङ्घको यही भदौ १० गते सम्पन्न साधारणसभाले गरेको निर्वाचनबाट सङ्घको केन्द्रीय अध्यक्षमा सूर्य भुसाललगायतका पदाधिकारी तथा सदस्यहरू निरि्वरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षद्वयमा लालकाजी गुरुङ र डा. तारकबहादुर केसी, कोषाध्यक्षमा दोर्जे ग्याल्बो गुरुङ, महासचिवमा गौरीप्रसाद दवाडी र सचिवमा सीता घिमिरे हुनुहुन्छ ।
यसैगरी सदस्यहरूमा रामकृष्ण भुर्तेल, सविता ढुङ्गाना, ध्रुवराज सेर्ढाईं, सीबी लामा, दावा छ्युसङ गुरुङ, आङदोर्जी सेर्पा, सुनिता धिताल न्यौपाने, सालिनीसिंह थापा, छेवाङ तेञ्जिङ लामा, केशव ढकाल, ढुण्डीराज ओझा, सुनिल गौतम, हुमनाथ कोइराला, चन्द्रशेखर चौधरी, राजेन्द्र ठकुरी, धन खतिवडा, सुरेशचन्द्र अग्रवाल, चन्द्रकृष्ण कर्माचार्य, सुशीला श्रेष्ठ, शान्तप्रसाद सिवाकोटीलगायत ३१ जना चयन भएका छन् ।

मतदाता नामावली सङ्कलन कार्य अवरुद्ध
दमक/ निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली दर्ता कार्यक्रम झापाका ११ गाविसमा अनिश्चित बन्न पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ग्रामीण भेगका गाविसमा सञ्चालित नामावली दर्ता कार्यक्रममा मधेसवादी दलहरू र मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्यपरिषद्ले कार्यक्रम सञ्चालनताका गरेको अवरोधका कारण ती गाविसका मतदाता नामावली दर्तामा छुटेका छन् ।
निर्वाचन कार्यालय झापाका अधिकृत गोपाल आचार्यले जिल्लाका जुरोपानी, बैगुनधुरा, महाभारा, कोरोबारी, राजगढ, चकचकी, डाँगीबारी र पाँचगाछी गाविसमा विभिन्न समूहको अवरोधका कारण मतदाता नामावली दर्ता छुटेको बताए । ती गाविसमा जस्तै अवरोधकै कारण दमक र मेचीनगर नगरपालिकाका पनि आधाजसो मतदाता नामावली दर्ता गर्नबाट वञ्चित भएका छन् । गत वर्ष भदौ पहिलो सातादेखि पहिलो चरणमा नगरपालिकाहरूबाट सुरु भएको सो कार्यक्रम पटकपटक स्थगित हुँदै पुनः सुचारु भएको थियो । यसबीचमा लिम्बुवानले निर्वाचन आयोगसँगको सहमतिपछि नामावली दर्तामा कुनै अवरोध नगर्ने जनाए पनि मधेसवादी दलहरूको अवरोध यथावत् रहेको कारण कार्यक्रमले निरन्तरता नपाएको आचार्यको भनाइ छ ।
उनका अनुसार छुटेका गाविसमा करिब ६० हजार मतदाता छन् । छुटेका गाविसमा पुनः सञ्चालनका लागि आयोगमा प्रस्ताव पठाइए पनि अहिलेसम्म कार्यक्रम स्वीकृत नभएको उनले बताए । ‘अहिलेसम्म पुनः सञ्चालनको आदेश आएको छैन,’ आचार्यले अगाडि भने, ‘अहिले प्रतीक्षामा छौँ ।’
गत असारसम्ममा ३६ गाविस र भद्रपुर नगरपालिकामा नामावली दर्ता पूरा भएको जनाइएको छ भने मेची र दमक नगरपालिकामा आंशिक मात्रै भएको छ । दमकका ११ देखि १९ नम्बर वडासम्म बाँकी रहेको जनाइएको छ । आयोगले गत मङ्सिर मसान्तसम्ममा नगरपालिका र जेठसम्ममा सबै गाविसमा नामावली दर्ता पूरा गर्ने लक्ष्य राखेको थियो । सोका लागि गाउँगाउँमा निर्वाचन आयोगका कर्मचारी र स्वयम्सेवक सङ्कलकहरू खटिएका थिए । -विष्णु सुब्बा

नेपाली साहित्य सम्मेलनमा बेलायती कार्यपत्र
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गत शनिबार सम्पन्न भएको छ । लन्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा गत ९ गते शुक्रबार परिचयात्मक कार्यक्रमका साथै कविता पाठ पनि गरिएको थियो । उक्त कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष होमनाथ सुवेदीले अनेसासको विस्तार र गतिविधिबारे, संस्थाका कोषाध्यक्ष विकल आचार्यले लन्डन सम्मेलनको आर्थिक गतिविधि तथा कठिनाइहरूबारे, काठमाडौंबाट यसै कार्यक्रमका लागि निम्त्याइएका प्राध्यापक गोविन्दराज भट्टराईले वर्तमान परिप्रेक्ष्यमा लन्डन सम्मेलनको औचित्यबारे र प्रदीप नेपालले नेपाली साहित्यमा राजनीतिको प्रभावबारे चर्चा गरेभने विभिन्न कवि तथा कवयित्रीहरूले आ-आफ्ना रचना पाठ गरेका थिए ।
भोलिपल्ट शनिबार बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनको मुख्य कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष होम परिवागले गरेका थिए । विशेष अतिथिहरूमा प्रो. गोविन्दराज भट्टराई, होमनाथ सुवेदी, प्रो. सुष्मा आचार्य, शर्मिला खड्का, प्रो. माइकल हट आदि थिए । नेपाली राष्ट्रिय गीतको पियानो धुनबाट कार्यक्रमको सुरुवात भएको थियो । संस्थाकी महासचिव लक्ष्मी राई र सदस्य शशि सुब्बाको संयुक्त सञ्चालनमा रहेको कार्यक्रमलाई संस्थाका विकल आचार्यले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमलाई शुभकामना दिने अतिथिहरूका एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङ र उपाध्यक्ष कुल आचार्य रहेका थिए ।
बेलायत प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्षा राईबाट समसामयिक नेपाली साहित्यबारे मन्तव्यमा चर्चा गरिएपछि प्रमुख अतिथि राजदूत चालिसेबाट डा. रूपक श्रेष्ठको विगवेन र समय -कवितासङ्ग्रह), विकल आचार्यको बेलायती आँगनमा गोर्खाली सुवास -नियात्रा), होमनाथ सुवेदीको डायस्पोराको डोरो -कवितासङ्ग्रह), शर्मिला खड्काको सिर्जना र सन्त्रास -नियात्रा)लगायत केदार सङ्केतको साहित्यिक वेबसाइटको विमोचन गरिएको थियो । विमोचनको लगत्तै प्रमुख अतिथि डा. चालिसेले डायस्पोरामा नेपालीभाषीबीच नेपाली साहित्यले दिनप्रतिदिन खारिँदो उपस्थिति जनाउँदै आएको उल्लेख गरे । त्यसलगत्तै संस्थाका सदस्य तथा कवि गोपीकृष्ण प्रर्साईंले तीन कृतिहरू विगवेन र समय, बेलायती आँगनका गोर्खाली सुवास, सिर्जना र सन्त्रासहरूउपर समीक्षा गरेका थिए । मन्तव्य तथा समीक्षाका कार्यक्रमको बीचबीचमा विभिन्न कवि तथा कवयित्रीहरूले आ-आफ्ना कविता पाठ गरेका थिए । कविता पाठ गर्नेहरूमा देवेन्द्र खेरेस, नारायण गाउँले, लक्ष्मी राई, मुकेश राई, शशि सुब्बा आदि थिए भने श्रेया राईले पियानो बजाएर गीत गाएकी थिइन् ।
दोस्रो सेसनको कार्यक्रममा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । जसमा प्रो. माइकल हटबाट वर्तमान इतिहासमा तीन नेपाली आधुनिक उपन्यासमाथि एक चर्चा, गोपीकृष्ण प्रर्साईं र डा. रूपक श्रेष्ठबाट संयुक्त रूपमा डायस्पोरा नेपाली साहित्य र अनेसास यूकेको नेपाली साहित्यमा योगदान, सुष्मा आचार्यबाट नेपाली साहित्यमा महिलाको योगदान, प्रो. गोविन्दराज भट्टराईबाट साहित्यको विस्तारमा नेपाली डायस्पोराको योगदान आदि शर्षिकका कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । कार्यक्रमको बीचबीचमा गोर्खा वेलफेयर सोसाइटी युथ क्लब, साउथ ह्यारोका नर्तकीहरूबाट नृत्य र पपगायक विवेक श्रेष्ठबाट गीत प्रस्तुत गरिएको थियो । संस्थाकी उपाध्यक्ष जया राईबाट सहयोगदाताहरूलाई कदरपत्र प्रदान गरिएको थियो, जसमा त्यसरी कदरपत्र प्राप्त गर्नेहरू सुरेन्द्र श्रेष्ठ, कुल आचार्य, महन्थ श्रेष्ठ, माधव श्रेष्ठ, उमेश रेग्मी, गञ्ज आलेमगर र डा. रूपक श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा स्थानीय साहित्यकारहरूको उपस्थिति बाक्लो थिएन र सहभागीहरू पनि त्यति थिएनन् । यही कार्यक्रमका लागि आमन्त्रित भनी विशेषरूपले प्रचारप्रसार गरिएका सिक्किमका मुख्यमन्त्री डा. पवन चाम्लिङ, हरि मानन्धर, दुबसु क्षेत्री, युवराज नयाँघरे आदि व्यक्तित्वहरू सहभागी भएका थिएनन् । तीमध्ये केहीका शुभकामना सन्देशहरू पढेर सुनाइएका थिए । बेलायतमा रहेका विविध साहित्यिक संस्थाहरूको छाता संस्था बन्न सक्ने अवस्थामा रहेको अनेसास यूकेले यस तीनदिने कार्यक्रममा पर्याप्त रूपमा तिनलाई प्लेटफर्म उपलब्ध गराउन नसकेको भान भएको थियो । साहित्य सधैं अक्षरहरूबाट मात्र प्रसारित नभई संस्कृतिका अन्य विधाहरूबाट पनि प्रस्तुत हुन्छ, त्यसको कमी देखिएको थियो । कार्यक्रममा विदेशी प्राध्यापक माइकल हटले वर्तमानका नेपाली सामाजिक उपन्यासहरूको अवस्थाबारे आफ्नो कार्यपत्रमा चर्चा गर्दा चाख मानेर सहभागीलेे सुनेका थिए । कवि नरेश काङबाङले आफ्ना कवितापाठबाट उक्त भेलामा सबैको हृदय जितेका थिए । -प्रकाश के.सी., लन्डनबाट

कीर्तिमानी मिङ्मालाई स्वदेश नै प्यारो
आठ हजार मिटरभन्दा बढी उचाइका विश्वका १४ वटै हिमशिखर चढी नयाँ कीर्तिमान कायम गरेका साहसी पर्वतारोही मिङ्मा शेर्पा सम्मानित भएका छन् । प्रधानमन्त्री झलनाथ खनालले बालुवाटारमा ३३ वषर्ीय शेर्पालाई प्रधानमन्त्रीले विशेष बधाई तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामनासहित मिङ्मालाई सम्मान गरेका हुन् ।
संखुवासभा जिल्ला, मकालु गाविस-९ नर्वुचौरमा जन्मिएका शेर्पाले १७ वर्षको उमेरदेखि नै भरियाका रूपमा अग्ला हिमचुचुराहरू चढ्ने क्रम थालेका र डेढ दशकमा नेपालमा अवस्थित सगरमाथा, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी, कञ्चनजङ्घा तथा चीनको चो यू र सिङ्गा प्याङ्मा र पाकिस्तानको केटुलगायतका उच्च हिमशृङ्खला आरोहण गरी कीर्तिमान कायम गरेका हुन् । पर्वतारोही शर्ेपाले आफ्ना लागि स्वदेशमै रहेर जीवनयापनको व्यवस्था गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकारसमक्ष माग गरेका छन् ।

सुरक्षाको माग गर्द पत्रकार आन्दोलित
पूर्वीनेपालमा पत्रकारमाथिको आक्रमण दिनप्रतिदिन जारी रहेको परिवेशबीच पत्रकारहरूको सुरक्षा एवम् शान्ति र संविधान निर्माणको माग गर्द धनकुटाका सञ्चारकर्मी आन्दोलित भएका छन् । नेपाल प्रेस युनियन, सञ्चारिका समूह नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्घले विगत डेढ महिनादेखि उल्लिखित मुद्दामा विभिन्न चरणका कार्यक्रमहरू गरिरहेका छन् ।
पूर्वाञ्चलका पत्रकारमाथि आक्रमण गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने र पत्रकारको सुरक्षा गर्नुपर्ने माग गर्द पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय धनकुटा, प्रहरी कार्यालय धनकुटामा पत्रकारले घेराउ र प्रदर्शन गरी ज्ञापनपत्र बुझाएको, धनकुटा बजारमा समेत प्रदर्शन गरी सभासमेत गरिसकेको सञ्चारिका समूह पूर्वाञ्चलकी सदस्य सुखकला राईले बताइन् । पछिल्लोपटक पूर्वाञ्चलको धनकुटा, संखुवासभा, विराटनगर, धरान, इटहरी, झापालगायतका जिल्लामा एक दर्जन पत्रकारमाथि आक्रमण भइसकेको र दुई दर्जन पत्रकारलाई धम्की दिएको जानकारी दिँदै नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव विजयसन्तोषी राईले मुलुकमा दण्डहीनता बढेकोले प्रेस स्वतन्त्रता र मानव अधिकार सङ्कटमा पर्द गएको बताए ।
प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष भेषराज कट्टेल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष स्मिता निरौला, आदिवासी जनजाति सङ्घका सचिव सन्तवीर लामाले पनि पत्रकारको सुरक्षाका लागि सरकारको ध्यानकर्षण गराउन आन्दोलनबाहेक अर्को विकल्प नरहेको बताए । -सरु राई

हतियारसहित तीन पक्राउ
गोर्खा सिद्धिबास घर भई काठमाडौं कोहिटी बस्ने विकास गुरुङ, कालिमाटीका बासी भनी चिनिने विश्वास सल्यानी र नुवाकोट समुन्द्रटार घर भई नरदेवी बस्ने सुनिल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार मोटरसाइकलमा सवार उनीहरूका साथबाट प्रहरीले रिभल्बर र गोलीसमेत बरामद गरेको थियो । अनुसन्धानको क्रममा सल्यानीले अर्को हतियारसमेत लुकाएर राखेको खुलेपछि काठमाडौं कोहिटी बस्ने विकास गुरुङको कोठामा खानतलासी गरेर ९ एमएम पेस्तोल र म्याग्जिनमा लोड गरी राखेको गोली पाँच थान फेलापरेको प्रहरीले बताएको छ ।

तीर्थ कोइराला पुरस्कृत
पत्रकार तीर्थ कोइराला टंकप्रसाद-रमादेवी पाठक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । दुई हजार डलरको उक्त पुरस्कार अमेरिकाको टेक्सासमा बसोबास गर्ने नेपाली उद्यमी तथा समाजसेवी हेमप्रसाद पाठकले स्थापना गर्नुभएको हो । तर्ीथ कोइराला विगत २८ वर्षदेखि छापा, रेडियो तथा टेलिभिजन माध्यममा काम गर्द आउनुभएको छ । ताप्लेजुङको साँघुमा जन्मिनुभएका तीर्थ हाल कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा कार्यरत हुनुहुन्छ । नेपालका ६० जिल्ला तथा विश्वका एक दर्जनभन्दा बढी मुलुकको भ्रमण गर्नुभएका कोइरालाको ‘जे देखेँ त्यो लेखेँ’ कविता तथा मुक्तकसङ्ग्रह प्रकाशित छ । यसअघि यो पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक जीवेन्द्र सिंखडाले प्राप्त गर्नुभएको थियो ।
यस्तै टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता साधना पुरस्कार जनकपुरका पत्रकार राजेश्वर नेपालीले र प्रोत्साहन पुरस्कार झापाका लीला बरालले प्राप्त गर्नुभएको छ । यी दुवै पुरस्कारको राशि पाँच सय डलरको छ । यसैगरी गीत तथा सङ्गीतकार एवम् गायक जीवन शर्माले हेम-सरिता पाठक सङ्गीत पुरस्कार प्राप्त गर्नुभएको छ । अमेरिकामै रहेका प्रेमराजा महत र सपनाश्रीले पनि सङ्गीत पुरस्कार प्राप्त गर्नुभएको छ । पुरस्कारहरू दशैंको घटास्थापनाका दिन प्रदान गर्ने जनाइएको छ ।

फेरि बौरियो माथिल्लो मर्स्याङ्दी
लमजुङ/ ६ सय मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत् परियाजना निर्माणका लागि ८५ अर्ब रुपैयाँ खर्च हुने भएको छ । परियोजनाले लमजुङको स्याँगेमा हालै सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा परियोजना निर्माण सम्पन्न गर्न ८४ अर्ब ९६ करोड रुपैयाँ लाग्ने उल्लेख गरेको छ । काममा कुनै अवरोध नभए परियोजनाको लक्ष्य पाँच वर्षमा सम्पन्न गरिने रहेको छ ।
करिब डेढ वर्षअघिदेखि एकीकृत नेकपा माओवादी र तमु राष्ट्रिय मुक्ति मोर्चाले परियोजनास्थलमा झन्डा गाडेर अवरोध गर्द आए पनि पछिल्लो समय माओवादी र उसको भ्रातृ सङ्गठन सकारात्मक भएपछि परियोजनाको काम अघि बढाउने क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक हुन सकेको हो ।
नेपालमै तेस्रो ठूलो मानिएको परियोजनाको विद्युत्गृह रहने लमजुङको स्याँगेमा सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा स्थानीय तहको विकास निर्माण र वातावरणमा एक अर्ब ९१ करोड ६८ लाख ५ हजार १ सय ८८ रुपैयाँ रुपैयाँ खर्च गर्ने उल्लेख गरिएको छ । छुट्याएको रकममध्ये प्राकृतिक स्रोत, विभिन्न व्यवसाय, भूक्षय तथा नदी संरक्षण, तालिम, विभिन्न समयमा अनुगमन, छात्रवृत्ति, मध्यवर्ती क्षेत्र व्यवस्थापनमा १५ करोड ३० लाख, माछाको सङ्ख्या वृद्धि, बासस्थान, विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण, वन विकास, तालिम, जङ्गली जनावर व्यवस्थापन तथा अनुसन्धान तथा विकासका लागि १० करोड ७० लाख र स्वास्थ्य र शिक्षाका लागि ११ करोड ९० लाख रहेको छ ।
त्यसैगरी आयोजना सुरु हुनुभन्दा पहिले स्थापना गरिएका शैक्षिक संस्था र स्वास्थ्य केन्द्रको निरन्तर सञ्चालनका लागि एक करोड ८९ लाख, वातावरण तथा अनुगमनका लागि पाँच करोड ४७ लाख, आयोजना क्षेत्रमा प्रभाव पर्ने/नपर्ने अनुगमनका लागि दुई करोड १० लाख, आयोजना सञ्चालनपश्चात् अनुगमनका लागि दुई करोड २० लाख र आयोजना निर्माणपछि परीक्षणका लागि एक करोड ९६ लाख रकम छुट्याइएको छ ।
स्किम नेपालले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा परियोजना सञ्चालनका लागि सरकारी जग्गा ६९.१३ हेक्टर र व्यक्तिगत जग्गा ६७.८७ हेक्टर गरी जम्मा १३७.११ हेक्टर जग्गा अधिग्रहण गरिने उल्लेख गरिएको छ । आयोजना निर्माण गर्दा ५२ जातका बुट्यान र १८ जातका रूख पहिचान भएको र ती रूख तथा बुट्यानहरू परियोजनाले नाश गरेमा प्रतिरूख बराबर २५ वटा बिरुवा रोपी पाँच वर्षसम्म परियोजनाले रेखदेख गर्ने भएको छ । त्यस्तै जलचरमा सात प्रजातिका माछा पाइएको र विनाश हुन नदिन भुरा उत्पादन र बासस्थानको प्रबन्ध मिलाइने भएको छ ।
१३ जना वातावणविज्ञ र १२ जना सहायक विज्ञबाट तयार परिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा आयोजनाबाट सूक्ष्म जलवायु परिवर्तन, वायुको गुणस्तरमा न्यून प्रभाव, भूक्षयको सम्भावना, पानीको स्रोत, जैविक वातावरण र सामाजिक-आर्थिक तथा सांस्कृतिक वातावरणमा प्रभाव पर्न सक्ने दर्शाइएको छ । प्रतिवेदनबारे जानकारी गराउँदै डा. चूडामणि जोशीले विभिन्न चार क्षेत्रबारे अनुसन्धान तथा मूल्याङ्कन गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो ।
वातावरणमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न वातावरणको प्रदूषण रोक्ने, धुलोधुवाको नियन्त्रण गर्ने, वृक्षरोपण, स्थानीयस्तरमा रोजगारी, विद्यालय, स्वास्थ्य आदि क्षेत्रमा सहयोग गर्ने कार्यक्रम प्रतिवेदनमार्फत अघिसारिएको छ । हालसम्मको अध्ययनबाट आयोजनाबाट विस्थापित हुनेको सङ्ख्या कम देखिएको र उक्त क्षेत्रमा दुर्लभ वन्यजन्तु र वनस्पति नरहेकाले क्षति कम हुने देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
यसअघि भारतीय कम्पनी जीएमआर र हिमताल हाइड्रोपावर कम्पनी काठमाडौंले परियोजनाको डीपीआर प्रतिवेदन तयार पारेका थिए । परियोजनाको ग्लोबल टेन्डर आह्वान नभई सके पनि भारतीय कम्पनी जीएमआरले निर्माणकार्य अगाडि बढाउने तयारी गरिरहेको छ । अघिल्लो वर्षको फागुन ३ गते एकीकृत नेकपा माओवादीले परियोजनामा झन्डा गाडेर बन्द गराए पनि सुटुक्क डीपीआर तयार पारिएको थियो । हालै काठमाडौंमा भएको एक सर्वपक्षीय छलफल कार्यक्रममा एकीकृत नेकपा माओवादीले परियोजनामा अवरोध नगर्ने प्रतिबद्धता जनाएपछि आयोजनाको काम अघि बढेको हो ।
– छविलाल बगाले

नेता बेइमान हुनुमा जनताकै कमजोरी
राजनीतिक नेतृत्वका कारण मुलुक पछि परेको र नेपाली जनताले दुःख पाएको मंगलबार राजधानीमा आयोजित राष्ट्रियता र रूपान्तरणका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले बताएका छन् । दलका नेताहरूको सोच, चिन्तन, व्यवहार, भ्रष्टाचारयुक्त सोच र संरचनाका कारण मुलुकको परिवर्तन हुन नसकेको उनीहरूको आरोप थियो । नेपाल बौद्धिक मञ्चले आयोजना गरेको कार्यक्रममा डाक्टर केबी रोकायाले नेताहरूको मनोरञ्जनका लागि मात्र राजनीति भइरहेको आरोप लगाउनुभयो । मञ्चका अध्यक्ष्ँसमेत रहनुभएका रोकायाले राष्ट्रियता र रूपान्तरणका लागि सञ्चार क्षेत्रको भूमिका विषयक एक कार्यपत्रसमेत पेस गर्नुभएको थियो । रोकायाले कार्यपत्रमा जनताको भागमा हत्या, हिंसा, आतङ्क, गरिबी, अशान्ति, भोकमरी मात्र थोपरिएको उल्लेख गर्नुभएको छ । नेपाली समाजमा हुँदै आएको परिवर्तन जनताको हितमा प्रयोग हुन नसक्नुमा दल र नेताहरूको अदूरदर्शिता, अक्षमता र राजनीतिक बेइमानी मात्र नभई जनताको समेत कमजोरी रहेकाले जनता पनि सक्ष्ँम हुनुपर्ने खाँचो कार्यपत्रमा औंल्याउनुभएको छ । रोकायाले कार्यपत्रमा जनता यिनै दलका नेता र विदेशीहरूको मुख ताकेर बस्ने हो भने नेपालको कहिल्यै विकास नहुने भएकाले आमजनताले यसबारेमा बेलैमा सोच्नुपर्ने बेला आएको उल्लेख छ । कार्यक्रममा डा. सुरेन्द्र केसी, ग्रेटर नेपालका फणीन्द्र नेपाल, भावना विद्रोहीलगायतका वक्ताले नेपाल र नेपालीको समृद्धिबिना कुनै कुुराले पनि स्थायित्व पाउन नसक्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री डा. भट्टराईलाई अमेरिकाको बधाई
नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अमेरिकी दूतावासले बधाइ दिएको छ । दूतावासले दिएको बधाइ सन्देशमा प्रधानमन्त्रीको उम्मेदवारी दिने क्रममा उहाँद्वारा प्रतिज्ञा गरिएका शान्तिप्रक्रिया समापन र नेपालको नयाँ संविधान लेखनजस्ता प्राथमिक उद्देश्यप्राप्तिका लागि उहाँ र उहाँको टोली कटिबद्धताका साथ लाग्नेछ भन्ने कुरामा अमेरिका आशावादी रहेको उल्लेख गरिएको छ ।
समस्त नेपालीले लाभ हासिल गर्ने किसिमको वृद्धि र उपलब्धिको वातावरण सिर्जनाका लागि नेपालसामु रहेका गम्भीर आर्थिक र विकासका चुनौतीको सम्बन्धमा भट्टराईनेतृत्वको नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका तत्पर रहेको पनि जनाइएको छ ।

अहिराजलाई सफाइ
राजद्रोहको मुद्दा लगाइएका मधेशवाणी साप्ताहिकका सम्पादक राजेश अहिराजलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीशद्वय प्रेम शर्मा र प्रा.डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले हिजो मंगलबार सफाइ दिने फैसला गरेको हो । विशेष अदालतले सम्पादक अहिराजलाई रु. ५ सय जरिवाना गरेको थियो । उक्त फैसला कानुनसम्मत नदेखिएको भन्दै सर्वोच्चले सम्पादक अहिराजलाई सफाइ दिएको हो । मधेशवाणा साप्ताहिकको मिति २०६७ असोज १ गते शुक्रबारको अङ्कमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य भर्नासम्बन्धी सूचना प्रकाशन गरेबापत सम्पादक अहिराजलाई प्रहरीले पक्राउ गरी राजद्रोह मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो । सो अभियोगमा अहिराजलाई प्रहरीले २०६७ असोज १ गते पक्राउ गरी सात दिन प्रहरी हिरासतमा राखेको थियो । उनको मुद्दामा अधिवक्ताहरू सुनिलरञ्जन सिंह, दीपेन्द्र झा, हरि फुँयाल, गोविन्द बन्दी, सतिषकृष्ण खरेल र माधव गौतमले बहस गरेका थिए ।

ग्रामीण सीप अब विश्वबजारमा
ग्रामीण महिलाको सीपलाई विश्वव्यापी बनाउनका लागि आगामी कात्तिक ४ र ५ गते, २०६८ -अक्टुबर २१ र २२, २०११) काठमाडौंमा दक्षिण एसियाका गृहश्रमिक महिलाले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी तथा तिनै उत्पादनबाट निर्माण गरिएका वस्त्रहरूको ‘फेसन सो’ हुने भएको छ । ‘अनन्त’ नाम दिइएको उक्त फेसन सो सबा नेपालद्वारा आयोजना गरिन लागेको हो । कार्यक्रममा मुलुकका विभिन्न क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका व्यक्तित्वहरूको सहभागिता रहनेछ सबाले जनाएको छ । सार्क विजनेश एसोसिएसन अफ होम बेस्ड वर्कर्स -सबा) महिला सशक्तीकरण तथा गरिबी निवारणका लागि सञ्चालित कार्यक्रम हो । सबा सार्क विकास कोषको लगानीमा होमनेट साउथ एसिया र भारतमा कार्यरत गृह श्रमिक -होम बेष्ट वर्कर्स)हरूको संस्था सेवाको सहयोगमा सञ्चालित छ । सबाले गृहश्रमिक -घरमै बसेर काम गर्ने महिलाहरू) हरूले उत्पादन गरेका सामग्रीहरूको बजार प्रबर्द्धन तथा व्यवस्थापन गर्नुका साथै सीप र तालिम पनि दिँदै आएको छ । सबाका सदस्यहरू आफैं गृहश्रमिक र सेयरहोल्डर पनि हुन् । नेपालमा सन् २००६ बाट सुरु गरिएको सबामा अहिले सात सयभन्दा बढी सदस्यहरू रहँदै आएका छन् । सन् २०१४ सम्ममा थप दुई हजार महिलालाई सीप एवम् तालिम दिने र तिनले उत्पादन गरेका सामग्रीको बजार व्यवस्थापन गर्ने उद्देश्य सबाले लिएको छ । अहिले नेपालमा अन्दाजी २० लाख गृहश्रमिक छन् ।
प्राप्त जानकारीअनुसार, महिलाले घरमै बसेर उत्पादन गरेका वस्तुहरूमध्ये नेपाली ढाकाबाट निर्मित वस्त्रहरूको डिजाइन बेलायतका डिजाइनरले गर्द छन् भने अल्लोबाट निर्मित वस्त्रहरूको डिजाइन फ्रेन्च डिजाइनरले गर्द छन्, साथमा जापानी र नेपाली डिजाइनरहरूले अन्य विभिन्न उत्पादनहरूको डिजाइन गरेका छन् । दक्षिण एसियाका गृहश्रमिक महिलाले उत्पादन गरेका सामग्रीलाई विश्वव्यापी बनाउनु यो कार्यक्रमको प्रमुख उद्देश्य बताइएको छ । महिला गृहश्रमिकको मुद्दा आर्थिक र महिला अधिकार दुवैसँग सम्बन्धित भएकाले यो फेसन सोमा मोडलहरू मात्र नभएर विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका एवम् महिला अधिकारको क्षेत्रमा कार्यरत व्यक्तित्वहरूसमेतको सहभागिता रहने आयोजकले जनाएका छन् । नेपाल, भारत, बंगलादेश, पाकिस्तानका गृहश्रमिकको उपस्थितिमा तिनले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी हुनेछ । कात्तिक ४ गते साँझ विशेष उद्देश्यसहितको फेसन सो गरिनेछ भने ५ गते गृहश्रमिक महिलाले गरेका उत्पादनहरूको प्रदर्शनी हुनेछ ।
प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले गत हप्ता सार्क सचिवालयमा कार्यक्रमको आयोजना गरियो । सार्कका महासचिव फतिमा सइदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सबाका अध्यक्ष दिवाकर चन्द, सार्क विकास कोषका कर्मा, सबासम्बद्ध चाँदनी जोशी, सृष्टि मल्ल जोशी तथा सबा अहमदावादकी रिमा ननाभाँतीले बोल्नुभएको थियो ।
– प्रवीन बस्नेत

लक्ष्मणबाबुको दिल
एउटा भनाइ छ- एउटै व्यक्तिलाई भगवान्ले धन र इज्जत दुवै दिँदैनन्, कसैलाई धन दिन्छन् इज्जत दिँदैनन् त कसैलाई इज्जत दिन्छन् धन दिँदैनन् । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवित छँदा मात्र होइन उनले भौतिक शरीर त्यागेको लामो समय बितिसकेको छ र पनि उनले नेपाली जनताबाट इज्जत पाइरहेका छन् । तर, जब देवकोटा जीवित थिए उनलाई आर्थिक अभावले सधैं लखेटिरह्यो । मर्नेबेलामा उनलाई उपचार्रखर्चसम्म उपलब्ध भएन । ज्यादै कष्ट व्यहोरेर देवकोटाले प्राण त्यागे । भारतका भूतपूर्व प्रधानमन्त्री लालबहादुर शास्त्री आफ्नो शरीरलाई भन्दा बढी राष्ट्रलाई माया गर्थे रे, उनको राष्ट्रभक्ति र इमानदारीपनको आज पनि संसारभरि चर्चा हुन्छ । भारतका सबै जनताले लालबहादुर शास्त्रीको नाम सुन्नेबित्तिकै अहिले पनि श्रद्धाले शिर झुकाउँछन् । तर, विडम्बना भन्नुपर्छ लालबहादुर शास्त्री लासमा परिणत हुँदा उनकी श्रीमतीसँग कात्रो किन्ने पैसा पनि थिएन । श्रीमती लास हेरेर बसिरहेकी थिइन् । एक कान, दुई कान हुँदै खबर सरकारको कानसम्म पुग्यो र दाहसंस्कारको व्यवस्था सरकारले गर्‍यो । यस्ता थुप्रै उदाहरण छन् जसको इज्जत छ धन छैन धन छ इज्जत छैन वा धरापमा परेको छ । पत्याउन पनि पाइन्छ, नपत्याउन पनि पाइन्छ । यो कलमचालकको ठम्याइमा नेपालमा थोरै सङ्ख्यामा इज्जत र धन दुवै भएका तर कुनै पनि नकारात्मक विवादमा नपरेका जीवित मानिसहरू छन् जसमध्ये एक हुन्- चितवन कोई प्रालिका प्रमुख लक्ष्मणबाबु श्रेष्ठ । भगवान्ले धन र इज्जत दुवै दिएर भाग्यमानी सावित गरिदिएका यी दुई पात्रमध्ये आज यो कलमले लक्ष्मणबाबु श्रेष्ठबारे केही शब्द कोर्ने जमर्को गरेको छ ।
८० वर्ष हाराहारी उमेर भएका एक व्यवसायीसँग हालै करिब १ घन्टा कुराकानी गर्ने मौका मिल्यो, उहाँलाई नेपालमा लक्ष्मणबाबु श्रेष्ठको नामले चिनिन्छ । लक्ष्मणबाबु त्यही व्यक्तिको नाम हो जसलाई कुनैबेलाका नेपालका प्रजातन्त्रप्रेमी राजा वीरेन्द्रले भेटका लागि तय भएको एक घन्टा समय बढाएर चार घन्टासम्म सँगै कुराकानी गरेर बिताएका थिए । अङ्गरक्षकहरू राजाको अगाडि आउँदै घडी हेरेर सङ्केत गर्द कुराकानीको समय समाप्त भएको जनाउ दिन्थे, तर राजा भने अङ्गरक्षकहरूलाई मुन्टो हल्लाएर एकैछिन पर्ख भनी सङ्केत गर्थे । राजा वीरेन्द्र र अङ्गरक्षकहरूबीचको पटकपटकको साङ्केतिक कुराकानीले तीन घन्टाको समय गुजारेको थियो । राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, लक्ष्मणबाबु र उहाँकी श्रीमती एकै ठाउँमा चार घन्टासम्म भलाकुसारी हुँदा के-के र कतिसम्मका कुराकानी भए होलान् सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा सर्वप्रथम केबुलकार सञ्चालन गरेर विख्यात मनकामनादेवी दर्शनका लागि भक्तहरूलाई सहज तुल्याइदिएको मात्रै नभई लक्ष्मणबाबुको दूरदर्शिता, भलाद्मीपन र सादाजीवनबाट राजा वीरेन्द्र अति नै प्रभावित थिए । लक्ष्मणबाबुको थुप्रै सकारात्मक काममध्ये आधुनिक केबुलकार सञ्चालन गरेर नेपाली नागरिकलाई रोजगारी दिनु थियो, जुन कामको प्रशंसा राजा वीरेन्द्रले त गरेका थिए नै उनको दिमागको तारिफ विवेकशील नेपालीले पनि गरेका थिए । लक्ष्मणबाबुको दोस्रो चर्चा गर्नलायक काम थियो- व्यक्तिगत रूपमा छिमेकी मुलुक भारतलाई प्राकृतिक विपत्मा आफ्नो हैसियतअनुसार आर्थिक सहयोग उपलब्ध गराउनु । अप्ठ्यारो अवस्थामा पुगेको एक मुलुकलाई सक्षम अर्को मुलुकले भौतिक र नैतिक सहयोग गर्ने चलन विश्वव्यापी छ तर लक्ष्मणबाबुले व्यक्तिगत रूपमा पनि सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नुभयो । लक्ष्मणबाबुको त्यो नमुना सहयोगलाई त्यतिबेलै नेपाल र भारतका थुप्रै सञ्चारमाध्यमले प्रशंसा गरेका थिए । अरूलाई सहयोग मात्र गर्ने, कहिल्यै हानिनोक्सानी नपुर्‍याउने, आफूभन्दा कमजोर र विपन्नलाई नहेप्ने तिनै लक्ष्मणबाबु मनकामना विकास बैंकको नारायणगढमा शाखा उद्घाटन गर्ने क्रममा उद्घाटन कार्यक्रम समाप्तिपछि आयोजित खानपान कार्यक्रममा उहाँसँग एकान्तमा लेखकको भेटघाट र कुराकानी भयो । हारि्दकतापूर्वक नमस्कार गरेपछि लेखकले स्वर्गीय राजा वीरेन्द्रले लक्ष्मणबाबुलाई दिल खोलेर प्रशंसा गर्ने गरेको र छिमेकी मुलुक भारतलाई विपत्मा आर्थिक सहयोग उपलब्ध गराउनुभएको एक दशकअघिको विषय उठान गर्दा उहाँको अनुहारमा अनौठो भाव झल्कियो । त्यति पुरानो तर महत्त्वपूर्ण कुरा चितवनको एक सञ्चारकर्मीले उठान गर्दा एक इमानदार, फराकिलो चिन्तन बोक्ने व्यक्तिलाई अनौठो लाग्नु स्वाभाविक थियो । स्वाभाविक यस मानेमा थियो कि नेपालमा जहिलेसुकै नकारात्मक विषयको मात्रै लामो समयसम्म चर्चा भएको छ, ठूलो होस् वा सानो राजनीतिक घटनाको मात्रै ज्यादा चर्चा गरिएको छ । विकास, निर्माण र ठीक र सकारात्मक कामको चर्चा अति छोटो समय हुने गरेको छ ।
गोर्खामा जन्मिएर आफ्नो जीवनको महत्त्वपूर्ण युवा उमेर चितवनमा बिताउनुभएका उहाँले बताउनुभएको महत्त्वपूर्ण र चिन्ता मान्नुपर्ने विषय हो- ध्वस्त सामाजिक संरचना र अनुशासनहीनता । आज नेपालको स्थिति पहिलेको भन्दा धेरै खराब भएको छ । दण्डहीनता बढेको मात्रै होइन, कानुनी शासनको करिब-करिब अन्त्य नै भएको छ र जसको लौरो उसकै भैंसीको स्थिति देखिएको छ । अनुशासनबिना न समाज अघि बढ्छ न त राष्ट्र व्यवस्थित हुन्छ । आज नेपालमा सामाजिक, आर्थिक, राजनीतिक अनुशासन धुलोपीठो भएको छ । जसले जे मन लाग्छ त्यही गर्न मिल्ने स्थिति सिर्जना भएको छ । यो लक्षण भनेको विनाशको लक्षण हो । धेरै वर्ष पहिले चितवनको जङ्गली पड्केच्याउको सहारामा आफू र आफ्नो परिवारको जीवन धान्न बाध्य, मिहिनेत, अनुशासन र इमावदारीका कारण आज मुलुकभित्र धन र इज्जत प्राप्त गर्न सफल लक्ष्मणबाबुले नयाँ संविधान बन्ने कुरामा विभिन्नखाले परिस्थितिहरूको व्याख्यासहित शङ्का व्यक्त गर्नुभएको छ । सामान्य नागरिकले शङ्का व्यक्त गर्नु बेग्लै हो । लक्ष्मणबाबुले संविधान बन्ने कुरामा शङ्का गर्नुलाई चानचुने विषय मान्न कदापि सकिन्न । यसको अर्थ हुन्छ- मुलुकको भविष्य अझै अनिश्चित हुने अवस्था । यस्तो अवस्था नआओस् भन्नाका खातिर दलहरूबीच सक्कली एकता, सहमति र सहकार्यमार्फत शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनैपर्छ । कुनै पनि हालतमा संविधान बनाउनैपर्छ ।
हेर्दा र सुन्दा सामान्य लाग्छ । लक्ष्मणबाबुले नेपाली जनताको गलत ढङ्गले खानेकुरा खानेबानीले थुप्रैखाले रोग निम्त्याएको र प्रायः सबै नेपाली कुनै न कुनै रोगको अल्पायुमै सिकार भएर मुलुकै एकप्रकारले कुँजो भएको बताउनुहुन्छ । स्वस्थ शरीर भएका नागरिक मात्र राष्ट्रको सम्पत्ति हुन सक्छ । आउने दिनमा हरेक नेपालीले के खाने र के नखानेसम्बन्धी पनि छलफल र बहस गर्नैपर्ने भएको छ । धन र बल मात्रै राष्ट्रको सम्पत्ति हुन सक्दैन । बुद्धि, विवेक र नयाँ योजना निर्माण पनि राष्ट्रको सम्पत्ति हो । चितवन कोई प्रा.लि., मनकामना दर्शन प्रा.लि., चितवन मिल्क प्रा.लि. र नेपालका विभिन्न जिल्लामा सञ्चालित मनकामना विकास बैंकसँग आबद्ध लक्ष्मणबाबु श्रेष्ठसँग नेपाल र नेपाली जनताका लागि अति उपयोगी हुने खालका बुद्धि, विवेक र नयाँ योजना छन् । ती बुद्धि, विवेक र योजना नेपाली जनताको हितमा प्रयोग गर्न नेपाल सरकारले ढिला गर्न हुँदैन । शीघ्रतिशीघ्र प्रयोग गर्नुपर्छ । प्रत्यक्ष राजनीतिमा संलग्नहरूसँग मात्रै बुद्धि, विवेक र योजना हुन्छन् भन्ने भ्रमबाट सरकार र राजनीतिक दलहरू मुक्त हुनैपर्छ ।
– वीरेन्द्रमणि पौडेल