सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता प्रक्रिया अघि बढेको दाबी गरे पनि त्यो फगत प्रचार रहेको प्रतीत हुँदैछ । वार्ताभन्दा उक्त पार्टीका नेता–कार्यकर्ताको गिरफ्तारीलाई सरकारले ज्यादा प्राथमिकता दिएको व्यवहारतः पुष्टि हुँदै गएका छन् ।
यसै क्रममा नेकपाको काठमाडौं जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई मंगलबार (१४ साउन) पक्राउ गरिएको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई मंगलबार दिउँसो काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।
प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले यसबारे जानकारी दिँदै भने– ‘विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।’
धीरेन्द्रा नेकपाको महिला सङ्गठनकी महासचिवसमेत रहेको पनि प्रहरीले जनाएको छ ।
एक हप्ताअघि मात्रै प्रहरीले विप्लव नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरिएको थियो । गत फागुनमा नेकपामाथि सरकारले प्रतिबन्ध लगाएयता हालसम्म प्रहरीले सो पार्टीका ६ सयभन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रतिक्रिया