राखेपले पहिलोपटक सम्झियो ‘वडा नं. ११’लाई

राखेपले पहिलोपटक सम्झियो ‘वडा नं. ११’लाई


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई अर्जुनदृष्टिमा राखेर आफू अघि बढेको बताएका छन् ।

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदलगायत अन्य समसामयिक विषयमा रष्ट्रिय खेलकुद परिषद रहेको काठमाडौं महानगरपालिका वडा नं. ११ मा बसोबास गर्ने खेल क्षेत्रलगायतका विशिष्ट व्यक्ति–व्यक्तित्वहरूसँगको छलफल एवं अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव सिलवालले आफ्नो पहिलो प्राथमिकता ‘साग’ नै रहेको बताएका हुन् ।

‘साग’लाई अर्जुनदृष्टिमा राखेर आफू अगाडि बढिरहेको उल्लेख गर्दै सदस्यसचिव सिलवालले भने– ‘तीनपटक मिति सरिसकेको छ । अब साग सर्नु हुँदैन, सरेमा २० वर्ष पछि धकेलिन्छ । राष्ट्रको प्रतिष्ठासँग जोडिएकाले साग निर्धारित समयमा गर्नुपर्छ ।’

सदस्यसचिव सिलवालले सागका लागि भौतिक संरचना पूरा गर्ने अभियानमा रहेको बताउँदै आफ्नो कार्यकालमा खेल क्षेत्र ‘सिस्टम’मा राख्ने बताए । उनले राखेपका छिमेकीहरूलाई पनि खेलकुदमा अपनत्व महसुस होस् भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउँदै सागलाई भब्य र सफल रुपमा सम्पन्न गर्न वडावासीको विशेष सहभागिता रहनुपर्नेमा जोड दिए ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले सागलाई सफल बनाउन सबै एकजुट हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागीहरूले राखेपले पहिलोपटक वडावासीलाई सम्झेकोमा धन्यवाद दिँदै साग आयोजनामा पूर्वाधार, प्रशिक्षण, ट्राफिक व्यवस्थापन, पार्किङ, मेडिकललगायत विविध पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।