■ नारद कोहार, कपिलवस्तु
कृषि बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बोडगाउँ कपिलवस्तुका अध्यक्ष समेत रहेका नेकपा कार्यकर्ता सूर्यप्रसाद पौडेलमाथि नेकपाको जिल्ला कार्यलय बैठकले कारवाही गरेको छ । सहकारी बजारको शुभारम्भ गर्न बुधबार प्रदेश ५ का मन्त्री आरती पौडेलसहितका सांसद एवम् नेकपाका जिल्ला नेतालाई अतिथी बोलाएर सभाको समापन गर्ने क्रममा विभिन्न मनगढन्ते तर्क गर्दै पार्टीविरुद्ध अफवाह फैलाएको अभियोगमा नेकपाले भुसालमाथि कारवाही गरेको हो ।
प्रदेश सरकारवाट ठूलो धनराशी अनुदानमा ल्याएर सहकारी बजारका लागि ढुवानीका साधन पिकअप भ्यानसहितका उपकरण किनेका अध्यक्ष पौडेल बोली नियन्त्रण गर्न नसक्दा कारवाहीमा परेका हुन् ।
उनले आधारहीन रुपमा कृषिमन्त्री चक्रपाणी खनाल, प्रदेश सांसद बिष्णु पन्थी र जिल्लाका अध्यक्ष झविलाल पोख्रेलको नामै किटान गरेर ब्यक्तिगत गालीगलौज गरेका थिए । आफैले बोलाएका अतिथिलाई दुर्व्यवहार हुने गरी जथाभावी बोल्ने, आधारहीन कुरा गरेर पार्टी र सरकारको प्रतिष्ठामा आँच पुराउने कार्यकर्ता नेकपामा रहन नसक्ने ठहर गर्दै कार्यलयको बैठकले पौडेललाई पार्टी सदस्यता नै नरहने गरी कारवाही गरेको जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाह विष्णुद्वारा जारी संयुक्त प्रेस वक्तब्यमा उल्लेख छ ।
यता नेकपाले संगठीत सदस्यताबाटै निष्कासन गरेका पौडेललाई घटना के हो भनेर सोध्दा आफू बोल्ने क्रममा चिप्लिएको बताउँदै गल्ती भएको स्वीकार गरे । ‘मैले मेरो गल्ती स्वीकारेर स्थानीय पार्टी कमिटीसमक्ष माफीपत्र पेश गरेको छु । सुनुवाई भएन भने कारवाही सहन तयार छुु’, उनले भने । नियत नेताहरुलाई अपमान गर्ने नरहे पनि बोल्दै गर्दा भावावशमा आएको उनको भनाई थियो ।
प्रतिक्रिया