काङ्ग्रेसले अन्तरिम संरचना गठन गर्न प्रक्रिया अघि बढायो

काङ्ग्रेसले अन्तरिम संरचना गठन गर्न प्रक्रिया अघि बढायो


नेपाली काङ्ग्रेसले पार्टी सङ्गठनको स्थानीय संरचनालाई रुपान्तरण गरी सङ्घीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने भएको छ ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय समितिको बैठकमा पेश गरी पारित गर्ने निर्णय गरेको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अन्तरिम संरचना गठन तथा १३औँ महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य आगामी मङ्सिर मसान्तभित्र सम्पन्न गरिनेछ ।

त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसको केन्द्रीय समिति बैठक गत असार २२ गतेदेखि जारी छ ।

बैठकमा काङ्ग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन समितिका संयोजक एवं पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

त्यस्तै उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजनाबारे प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । महामन्त्री पूर्णबहादुर खड्काले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को गत वैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकले काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यसैगरी बाजुरा गौमुल गाउँपालिका–६, बसाला, शान्तिटोलमा बिहीबार राति घरमाथि पहिरो गई ३० वर्षीया निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोप्रति बैठकले श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, रमेश रिजाल, डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, एनपी साउद, शङ्कर भण्डारी, मीन विश्वकर्मा र वीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक साउन २२ गते दिउँसो २ बजे पुनः बस्नेछ ।