सदस्यसचिव सिलवालद्वारा खेलकुद प्रतिष्ठानको निरीक्षण

सदस्यसचिव सिलवालद्वारा खेलकुद प्रतिष्ठानको निरीक्षण


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले हेटौँडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानको निरीक्षण गरेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा सदस्यसचिव सिलवालले प्रतिष्ठानको निरीक्षण गर्ने क्रममा त्यहाँ रहेका पूर्वाधारका बारेमा जानकारी लिनुका साथै बन्न लागेका पूर्वाधारका विषयमा मकवानपुर जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहालसँग जानकारी लिएका थिए । त्यसअघि सदस्य–सचिव सिलवालले मुख्यमन्त्री पौडेलसँग छुट्टै भेट गरी खेलकुदको विविध पक्षमा कुराकानी गरेका थिए ।

सदस्यसचिव सिलवालले हेटौंडा उप महानगरपालिका मेयर हरिबहादुर महतसँग पनि भेट गरी खेलकुदका विषयमा छलफल गरेका थिए । सिलवालले हेटौंडामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणमा रहेका कुस्ती खेलाडीलाई भेट गरी तयारीका बारेमा जानकारी लिएका थिए ।

साथै मकवानपुर जिल्ला खेलकुद विकास समितिका कर्मचारीसँग पनि भेट गरेका थिए । मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुर जिल्ला कमिटीका पदाधिकारीहरुले सिलवाललाई भेटी कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।