१३औँ ‘साग’को आयोजनाप्रति शङ्का गर्न सकिन्न : जीवनराम

१३औँ ‘साग’को आयोजनाप्रति शङ्का गर्न सकिन्न : जीवनराम


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजनाप्रति शंका गर्ने ठाउँ नभएको बताएका छन् । जुन स्पीडले अहिले कार्य भैरहेको छ त्यसलाई मध्यनजर गर्दा १३औँ ‘साग’ निर्धारित समयमा हुन्छ, त्यसमा दुईमत छैन । यतिबेला ‘साग’ मुलुकको मान, सम्मान र प्रतिष्ठा बनेको भन्दै उनले यसको लागि हरेक पक्षको सहयोगको आवश्यकता भएको पनि बताए ।

‘सम्पूर्ण तयारी युद्धस्तरमा भैरहेको छ, खेलाडीहरु बन्द प्रशिक्षणमा छन्, सरकार सकारात्मक रुपमा लागेको छ यस्तो अवस्थामा पनि ‘साग’ नभए कहिले हुन्छ त ?’ श्रेष्ठले भने– अहिले पनि समय छ, यदि युद्धस्तरमा कार्य भयो भने तोकिएकै समयमा १३औँ ‘साग’ सफलतापूर्वक आयोजना गर्न सकिन्छ । तर चुनौती थुप्रै छन्, आफूले सोचेको या चाहेको जस्तो कहिल्यै हुँदैन । अहिले १३ औँ ‘साग’ पनि यही मोडमा आएर खडा भएको श्रेष्ठले खुलासा गरेका छन् ।

अहिलेको चुनौती भनेको भौतिक पूर्वाधारको पूर्णता हो, जुन रुपमा कार्य भैरहेको छ, त्यसमा म सन्तुष्ट छु । मुख्य भेन्यू भनेको अन्तर्राष्ट्रिय रङ्गशाला ‘दशरथ रंगशाला’ हो, त्यो पनि समयमै पूरा हुने श्रेष्ठले बताए । दशरथ रंगशालाको भिआईपी प्यारापीटले मात्रै पूर्णता पाउन बाँकी रहेको खुलासा गर्दै चाँडै त्यसले पनि पूर्णता पाउने दाबी गरे । स्मरण छ, १३औँ सागको उद्घाटन र समापन समारोहको आयोजना दशरथ रंगशालामा हुने कार्यक्रम रहेको छ ।

दशरथ रंगशाला र पोखरा रंगशालाको निर्माण समयमै पुरा हुने बताउनुभयो, निर्माणस्थलको अवलोकन गर्दा त त्यस्तो देखिँदैन नि भन्दा श्रेष्ठले भने– ‘राज्य लागेपछि के हुँदैन ? असम्भव कुरा पनि सम्भव हुन्छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उदारहण दिँदै के त्यो सम्भव थियो ? तर सम्भव भयो नि । रातारात गरेर पनि प्यारापीटको निर्माण गरियो । उद्घाटन र समापन कार्यक्रम सफलताका साथ आयोजना गरियो । समग्रमा आठौं राष्ट्रिय ऐतिहासिक रुपमा सम्पन्न भयो ।’

१३औं ‘साग’प्रति सरकारको सक्रियता त्यति नदेखिनुको कारण के होला नि भन्ने प्रश्नमा श्रेष्ठले भने– सरकारको सक्रियता नभएको भए कसरी सागको मिति तोकिन्छ ? अहिले मिति समेत तोकेर कार्य अगाडि बढिरहेको अवस्था छ । हो, केही कार्यमा ढिलासुस्ती भएका होलान् त्यसलाई अजरअन्दाज गर्ने नभई तीव्रता दिन आवश्यक छ । तीव्रता दिने प्रयास सम्बन्धित निकायले जारी राखेको छ । जसको परिणाम सकारात्मक आउने कुरामा विश्वस्त छु ।’

अहिलेसम्म कार्यविधि नै आएको छैन, कसरी आयोजना हुन्छ त साग भन्ने प्रश्नमा श्रेष्ठले भने– ‘यो गम्भीर विषय हो, कार्यविधि चाहिन्छ, कार्यविधि विना कार्य गर्न गाह्रो हुन्छ । तर सरकारले १३औँ ‘साग’ गर्न चाह्यो भने कार्यविधि रोकाओट बन्दैन । सरकारले विशेष निर्णयमार्फत पनि कार्य अगाडि बढाउन सक्छ । अहिलेको अवस्था हेर्दा पनि यस्तै परिस्थिति खडा नहोला भन्न सकिँदैन । तर जसरी भएपनि १३औँ ‘साग’ हुन्छ, यसमा म विश्वस्त छु ।’

लामो कसरतपछि नेपाललाई यो अन्तिम मौका प्राप्त भएको हो । यसलाई कदापि गुमाउनु हुँदैन श्रेष्ठले भने । तीनपटक सागको मिति सारेर यो अन्तिम मिति तोकिएको हो । यो नै अन्तिम मिति भनेर सार्कका सदस्य राष्ट्र मनाइएको हो । अब मिति सार्ने अवस्था छैन, यदि नेपालले तोकिएको मितिमा साग गर्न सकेन भने त्यो नेपालको लागि दुर्भाग्य हुनेछ । नेपालले आफुले पाएको अवसरबाट हात धुनुपर्ने छ ।