लुट…खुब लुट-डा. मानसिंह साथी (बीटी)

लुट…खुब लुट-डा. मानसिंह साथी (बीटी)


लुट ! खुब लुट ! जति सक्छौ लुट ! यो देशलाई लुट !
जनतालाई लुट !!!
लुटको धन, फुपूको श्राद्ध हुनेगरी लुट !
मौका यही हो ! पछि अर्कै हुन्छ !

लगन धर्केपछि बगेको खोला नफर्केपछि !!!
अर्कै हुन्छ ! अर्कै हुन्छ !! अर्कै हुन्छ !!!
लुट ! बजारमा सुनै नपाउने गरी लुट !
आफ्नो घरको छानो सुनले छाउनेगरी लुट !

अहिले मौका पाएका छौ !!
चौका हान्दै लुट… !!!
यो देशको काट्टो खुब खाऊ !
त्रि्रो पनि काट्टो एक दिन यिनैले खानेछन्….

त्यसैले लुट !!
तिमीहरू जुगा हौ !
चुस ! खुब चुस, नेपालको रगत चुस !!
जबसम्म पुटुक्क परी ‘देशको रगतले’ भुइँमा खस्दैनौ !!!
हिँडिरहेको मानव लातले टेकेपछि किचिमिची भई मर्र्छौ !

चुस खुब चुस, नेपाली पानी सबै चुस !
जङ्गल लुट ! उब्जनी लुट !! लुट खुब लुट !!!
घुस भए पनि लुट, भुस भए पनि लुट !
भन्थ्यौ, सामन्तीहरू मेटिसक्यौँ !!

तिमी, आफैं पो नवसामन्ती भई जन्मेछौ !!!
तसर्थ, लुट ! खुब लुट !! जति सक्छौ अहिले नै लुट !
सुनको थालीमा मेवा-मिष्ठान्न, कवाफ खाँदा, खाँदा, खाँदा !!
भुसिलो डकार्द मर्न लुट, खुब लुट !
मलाई लुट, नेपालीलाई लुट, यो देशलाई लुट !!
खुब लुट, खुब लुट, खुब लुट !!!

साथी, दुनियाँमा यस्तो किन हुन्छ –शिरीष रानाभाट

सम्झनाले जब त्रि्रो सताउँछ
भक्कानिन्छ छाती आँखा रसाउँछ
आशारूपी मूल किन सुक्छ –
अनि कटक्क मन यो किन दुख्छ –
मस्तिष्कले प्रश्नको जालो बुन्छ
साथी, दुनियाँमा यस्तो किन हुन्छ –

चोखो मायाको मिलन हुन्छ
तर विछोडको डरले आवास छुन्छ
अनेकौँ आशङ्का मनले गुन्छ
दिलले दिमागको बाटो थुन्छ
प्रेमीको विलाप यहाँ कसले सुन्छ –
साथी, दुनियाँमा यस्तो किन हुन्छ –

दुनियाँमा सदियौँ यस्तै देख्या हो
दुःख-सुख त दैवको लेखा हो
कसैलाई घाम त कसैलाई घृणा त कसैलाई माया
बुझेर पनि मन यो किन रुन्छ
साथी, दुनियाँमा यस्तो किन हुन्छ –

महँगी-तुलसी भण्डारी
तरबारले मानिस के पो मार्छ महँगीले मार्‍यो कति कति !
गरिब त यहाँ यसै मर्छन् तर जिउँदै दार्‍यो कति कति !

लगामबिनाको घोडाजस्तै दिनदिनै बढ्दो महँगीले
एकै ठाउँमा हातमुख जोर्न मुस्किल पार्‍यो कति कति !

जति आउँछन् कानै चिरेका तन्नम् भोका जोगीहरूले
कोपरी कोपरी सबै रित्याए अजीर्ण डकार्‍यो कति कति !

सर्त्कर्मलाई उठ्नै दिन्नन्, लोभी पापी दुर्श्कर्मले
सत्तामा पुग्दै खल्ती भर्द, कालो धन सोर्नु सोर्‍यो कति कति !

गाँस बास कपास ग्यारेन्टी गर्न उरि्लएको मानवसागरमाथि
जाली फटाहा शोषकले लाठीमुङ्ग्री गर्नु गर्‍यो कति कति !

न संयन्त्र छ नियन्त्रणको, न अनुगमन छ नाफाखोरमाथि
लाचार शासक व्यापारी साहु दार्नुदार्‍यो कति कति !

व्यापारीको चास्नीमा डुबी मस्ती मार्ने खन्चुवाहरूले
चटुवालाई पनि केही चर्टाई जनआक्रोश टार्‍यो कति कति !!
– पेप्सीकोला भक्तपुर