प्वाँख उम्रिएकै हो त प्रचण्डको ?

प्वाँख उम्रिएकै हो त प्रचण्डको ?


■ यादव शर्मा

गणतन्त्र घोषणा भएको एघार वर्षपछि हाल नेकपाको अध्यक्षसमेत रहेका ‘माओवादी’ नेता प्रचण्डले पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई उनको निजी निवासस्थान नागार्जुनबाट पनि धपाइदिने घोषणा गरे । यसअघि पनि प्रचण्ड र गणतन्त्रका केही ठेकेदारहरूबाट खास अवस्थामा नागरिक राजालाई धम्क्याउने काम भए पनि यसपटकको धम्की पहिलेभन्दा भिन्न देखिएको छ । पूर्व श्री ५ देशदौडाहामा निस्कँदा या कुनै अवसर पारेर उहाँको सार्वजनिक मन्तव्य प्रकट हुँदा प्रतिक्रियास्वरूप राजालाई धम्क्याउने कार्य प्रचण्डहरूबाट हुने गर्दथ्यो । तर, यसपटक चुपचाप रहेका राजाप्रति आक्रोश पोखिएको छ र, यसरी आक्रोश प्रकट हुँदा आममानिस चकित परेका छन् । बुद्धि–विलासीहरूले प्रचण्डको अभिव्यक्तिलाई लिएर अनेकौँ चर्चा–परिचर्चा गर्ने गरेका छन् । उनको अनपेक्षित अभिव्यक्तिको कारण र औचित्यलाई लिएर धेरैबाट कुतूहल पनि प्रकट भएको छ ।

यतिबेला प्रचण्ड कसैसँग हैरान र असन्तुष्ट छन् भने ती केपी शर्मा ओलीसँग छन् । ओलीका कारण नेकपा ‘एमाले’लाई पूरै काबुमा लिने उनको आकाङ्क्षामा अवरोध पैदा भएको छ । केपीले जनअपेक्षाअनुरूप काम गर्न नसकेकोमा प्रचण्ड दुःखी छन् भन्न मिल्दैन र, यस्ता कुराले उनलाई दुःखी या असन्तुष्ट तुल्याउने पनि होइन । केपीको सफलता र लोकप्रियता प्रचण्डका निम्ति खुसीको विषय हुने ठानिँदैन । केपीको असफलताभन्दा सफलतामा उनी दुःखी हुन सक्छन् भन्ने जोकोहीले अनुभूत गरेको कुरा हो ।

आन्तरिक राजनीतिमा केपी ओलीसँग पराजित हुनुपरेकोमा त्यसबाट क्रूद्ध भएका प्रचण्डले आफ्नो आक्रोश राजामाथि पोखेको होइन भने उनी ‘किङफोबिया’ रोगबाट ग्रस्त भएको बुझ्नुपर्छ ।

पछिल्लोपटक केपीलाई पदमुक्त गर्न भएको प्रयास असफल भएपछि विचलित बनेका प्रचण्ड खास प्रयोजनका लागि दुबई पुगेर फर्किएपछि थप अन्यमनस्कताको स्थितिमा पुगेको सङ्केतहरू देखिँदै छ । आन्तरिक राजनीतिमा केपी ओलीसँग पराजित हुनुपरेकोमा त्यसबाट क्रूद्ध भएका प्रचण्डले आफ्नो आक्रोश राजामाथि पोखेको होइन भने उनी ‘किङफोबिया’ रोगबाट ग्रस्त भएको बुझ्नुपर्छ । फोबिया एक मानसिक समस्या हो र, त्यस्तोमा उपचारको अपरिहार्यता रहन्छ । राजगद्दी, राजदण्ड र श्रीपेच थन्क्याएर नागरिक जीवन बाँचिरहेका पूर्व श्री ५ ज्ञानेन्द्रलाई उनको निजी बासस्थानबाट समेत निकाला गर्ने कुरा मानसिक सन्तुलन भएका कुनै पनि राजनीतिकर्मीले गर्न सक्दैनन्, त्यसैले प्रचण्डको अभिव्यक्तिलाई स्वाभाविक मानिएको छैन ।

कुनै नागरिकलाई घरबास निकाला गर्ने सार्वजनिक अभिव्यक्ति दिनु कानुनी दृष्टिले पनि नाजायज र दण्डनीय कार्य हो । दलविशेषको शीर्ष नेता हुँदैमा मन नपरेका नागरिकलाई घरबास निकाला गर्न पाइने प्रावधान प्रचण्डहरूले नै बनाएको संविधानको हरफमा पनि भेटिँदैन । संविधान र कानुनविपरीत नागरिकविरुद्ध अभिव्यक्ति दिनु भनेको फासिष्ट चरित्रको द्योतक हो । कथित शान्तिप्रक्रियामा आएको भनिएको तेह्र वर्ष बितिसक्दा पनि हिंसात्मक र जङ्गली मानसिकतामा सुधार नआएको सङ्केतका रूपमा पनि यसलाई बुझ्न सकिन्छ ।

पूर्व श्री ५ ज्ञानेन्द्र र प्रचण्डमध्ये एकलाई निकाला गर्नैपर्ने ठानियो भने यतिबेला नेपाली जनता कसका विपक्ष या पक्षमा खडा होलान्, यो अब नबुझिने विषय रहेन । आफ्नो निजी महत्वाकाङ्क्षामा बसीभूत भएर शारीरिक सुखसयलका निम्ति कसले कतिसम्म गऱ्यो र गर्दै छ भन्ने विषयमा पनि जनता आफैँ जानकार भइसकेका छन् । सैद्धान्तिक एवम् वैचारिक दृष्टिले कम्युनिस्टहरू राष्ट्रवादी र देशभक्त हुन सक्दैनन्, त्यसैले प्रचण्डका नीति र व्यवहार राष्ट्र र राष्ट्रहितविरुद्ध हुनुलाई अस्वाभाविक मान्नु नपर्ला । कम्युनिस्टहरू प्रचलित धर्म, संस्कृति र परम्पराका विरोधी हुन्छन्, त्यसर्थमा प्रचण्डको धर्मनिरपेक्ष व्यवहारलाई पनि स्वाभाविक नै मानिदिउँला ।

तीन तोला सुन र एक कठ्ठा जमिन देखाएर साउदी अरबका राजकुमारको जस्तो जीवन बाँच्ने प्रचण्डले ‘निरीह नागरिक’विरुद्ध प्रकट गरेको धम्कीपूर्ण अभिव्यक्तिका निम्ति उनी सजायको भागीदार बनेका छन् ।

सुँगुरले फोहोर नखाँदा आश्चर्य मान्नुपर्छ भनेझैँ कम्युनिस्ट भएर पनि कोही राष्ट्र, धर्म, संस्कृति र देशहितका पक्षमा रहन्छन् भने त्योचाहिँ आश्चर्यको विषय हुन्छ । तर, कम्युनिस्ट भएर पनि कोही निजी सम्पत्ति सङ्ग्रह र देहसुखमा केन्द्रित रहन्छन् भने त्योचाहिँ आश्चर्यको मात्र नभई खेदको विषय हो । सत्र हजार निर्दोष नागरिकको हत्या र देश पचासौँ वर्ष पछि धकेलिने अपराध गरेर पनि जनता प्रचण्डलाई पटक–पटक देशको कार्यकारी प्रमुख स्वीकार गर्न राजी भए । एउटा बीभत्स पृष्ठभूमि खडा गरेर प्रधानमन्त्री बनेका प्रचण्डबाट शेरबहादुर देउवा र माधव नेपालहरूबाट भन्दा ज्यादा मात्र होइन चामत्कारिक कार्य हुने अपेक्षा थियो । दुईपटक प्रधानमन्त्री बनेका बेला प्रचण्डबाट रंगनाथ पौडेल र नगेन्द्रप्रसाद रिजालले भन्दा बढी केचाहिँ काम भयो भन्ने प्रश्नको जवाफ कुनै पनि ‘अरिँगाल’बाट आउन सक्ने अवस्था छैन ।

अस्तव्यस्त र अनुशासनहीन समाज, रुग्ण राष्ट्रियता, अतिक्रमिक धर्म–संस्कृति, दुर्बल अर्थतन्त्र र बलवान भ्रष्टाचार तथा देशको बर्बादीको स्रोत खोजियो भने अन्तिम किनारामा गिरिजाको नजिकै प्रचण्डलाई नै भेटिन्छ । देशलाई अनिश्चय र अन्धकारको भुमरीमा फसाउने दुष्कार्यका निम्ति प्रचण्डबाहेक अरू कसैलाई जिम्मेवार ठहर गर्नुपर्छ भने गिरिजाप्रसाद कोइराला र बाबुराम भट्टराईसम्म पुगिएला । बेथिति र विकृतिका एकलौटी स्वामी प्रचण्डले नागरिक राजालाई घरबासविहीन बनाइदिने भनी दिएको धम्की प्रचण्डको स्वभाव र चरित्रअनुरूप भए पनि विद्यमान कानुन, संविधान र जनमानसिकताअनुकूल यो हुँदै होइन ।

तीन तोला सुन र एक कठ्ठा जमिन देखाएर साउदी अरबका राजकुमारको जस्तो जीवन बाँच्ने प्रचण्डले ‘निरीह नागरिक’विरुद्ध प्रकट गरेको धम्कीपूर्ण अभिव्यक्तिका निम्ति उनी सजायको भागीदार बनेका छन् । दानवराजमा मानवीयता र दैवी व्यवहार उपेक्षित तथा आसुरी चरित्र पुजित हुने भएकोले दानवीय अभिव्यक्तिका निम्ति प्रचण्ड कानुनी कारबाहीको दायरामा पर्ने आशा यो समयमा गर्न सकिँदैन । तथापि अन्त्य नजिकिएपछि कमिलाको पनि प्वाँख पलाउने कुरालाई चाहिँ प्रचण्डले स्मरण गराइदिएका छन् ।