सङ्कटग्रस्त राष्ट्रियता र लोकतन्त्र

सङ्कटग्रस्त राष्ट्रियता र लोकतन्त्र


राष्ट्रियता र प्रजातन्त्र नागरिक एकता र प्रजातन्त्रका प्रतिनिधि संस्था हुन् । यी दुवै विचार व्यवहार र दर्शन हुन् । राष्ट्रियता र प्रजातन्त्र अत्यन्त सुन्दर र संवेदनशील विषय हुन् । जसलाई हरेक व्यक्तिले प्रत्यक्ष रूपमा देशको भूक्षेत्रभित्र रहेर कुनै पनि बेला अनुभव गर्न पाउँछ । प्रजातन्त्र सर्वसुलभ हुनुपर्छ, यदि हुँदैन भने यसलाई प्रजातन्त्ररूपी आडम्बरसिवाय केही भन्न सकिन्न ।
राष्ट्रियता र प्रजातन्त्रलाई जुलुसमा नारा लगाउने, विशाल जनसभामा चर्को स्वरमा भाषण गर्ने, चुनावमा गुलियो नारा दिने र राष्ट्रिय सत्तामा पुग्ने भर्‍याङ मात्र बनाउनुहुन्न । जसलाई आफ्नो विचार र दर्शनको सम्मान दिने र नागरिक जीवनको हरेक क्षणको असल मित्र बनाउने प्रयास गर्नु आजको सर्न्दर्भमा सबै नेपालीको सबैभन्दा ठूलो राष्ट्रिय चुनौती बनेको छ ।
आज मुलुकमा राष्ट्रियता र प्रजातन्त्रको चर्को भाषण र नारा लगाइन्छ तर व्यवहारमा भने राष्ट्रियताविरोधी घोर अलोकतान्त्रिक व्यवहारहरू प्रदर्शन भइरहेका छन् । लोकतन्त्रपछिको अपार जनआस्था हुँदाहुँदै पनि लोकतन्त्र र राष्ट्रिय एकताका विरुद्ध क्रियाकलाप र राष्ट्रियताको खोल ओढ्दै राष्ट्रियताविरोधी गतिविधिहरू तीव्र हुँदै गइरहेका छन् । शाब्दिक परिभाषाभित्र लोकतन्त्रवादी र व्यवहार, चरित्र र आचरणमा निरङ्कुशताका अवशेष र नवनिरङ्कुशहरूको मनोबल बढ्दो छ ।
शदियौंदेखिको हिमाल, पहाड र तराई आज खुम्चिएर अत्यन्त साँघुरो घरभित्र सीमित छ । हिमालबाट दोचा लगाएर पहाड र्झन र पहाडबाट टोपी लगाएर मधेस छिर्न नसक्ने अवस्था आज देशभित्र सिर्जना भएको छ । मेची-महाकालीको राष्ट्रिय सिमाना आज बस्ती-बस्तीमा सरेको छ । सर्वोच्च अदालतको इजलास पुग्दासम्म नेपालको राष्ट्र भाषा नेपाली नै हो भन्ने कुरामा सर्वसम्मत निर्णय र मतैक्यता हुन सकेको छैन । नेपाल ४ जात ३६ वर्णको फूलबारी हो भन्ने प्राचीन कालदेखिको शाश्वत भनाइ अब सर्वपँच्य बन्न छाडिसकेको छ । मुलुकभित्र शदियौंदेखि कायम रहँदै आएको जातीय, क्षेत्रीय, धार्मिक र साम्प्रदायिक सन्तुलनहरू विचलित मात्र नभई विस्थापित नै भइसकेका छन् । उग्र राजनीति र उग्रवादको सर्वत्र हावी छ ।
राष्ट्रियता र प्रजातन्त्रविरोधीहरूको अत्यन्त ठूलो सङ्गठन र सञ्जाल छ । खराब, स्वार्थी, अवसरवादी, अनैतिक र अत्याचारीहरू प्रत्यक्ष, अप्रत्यक्ष, औपचारिक, अनौपचारिक कुनै पनि रूपमा सङ्गठित भई आफ्नो कर्ुकर्महरू फैलाइरहेका छन् । मेची र कालीमा कैयौंपटक सीमास्तम्भहरू सारिएका छन् । देशभित्र वैदेशिक हस्तक्षेप बढ्दो र राष्ट्रिय मनोबल गिर्दो छ । विदेशीको आशीर्वाद लिएर सत्ता प्राप्त गर्ने होड बढ्दो छ । सत्तामा रहुन्जेल सबैतिर ठीक देख्ने, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाललाई आफू व्याख्या गर्ने र पटकपटकका व्यवहारमा अधिनायकवाद प्रस्तुत गर्ने आज राष्ट्रिय संस्कार र चरित्र भइसकेको छ ।
राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका जति ठूला आदर्शका व्याख्या गरिए तापनि आज राष्ट्रिय एकता र लोकतन्त्रमाथि गम्भीर आघात पुगेको छ । आजको मुलुकको यस अवस्थामा मुलुकको राष्ट्रिय अखण्डता, एकता र लोकतन्त्र संरक्षणका लागि आ-आफ्नो भूमिकाको खोजी गर्नु प्रत्येक सचेत नागरिकको दायित्व बन्न पुगेको छ । आमनेपाली नागरिकमा राष्ट्रियता र प्रजातन्त्रप्रतिको विश्वास र व्यवहारलाई कुनै पनि राजनीतिक दलको सत्ता स्वार्थबाट अलग राखी स्थानीयदेखि राष्ट्रियस्तरसम्मका नागरिकलाई सङ्गठित, परिचालित र प्रशिक्षित गर्नु र उनीहरूको प्रभावकारी प्रतिनिधित्व गराउनु हाम्रो सबैभन्दा ठूलो चुनौती रहेको छ । यिनै चुनौती सामनाको उद्देश्यका साथ आफ्नो भूमिका रोज्ने र खोज्ने कार्य गर्नु नै आज प्रत्येक सचेत नागरिकको प्रथम दायित्व बन्न पुगेको छ ।
-बलराम कोइराला, उपाध्यक्ष,जागरण अभियान नेपाल

युवाशक्तिको परिचालन
नेपालका गाउँगाउँमा अन्तर्राष्ट्रिय संस्थाहरू प्रतिनिधि खर्टाई हाम्रो देशको विकास गर्न अघि बढेका छन् । उनीहरूबाट सकारात्मक मात्र नभई के-कस्ता नकारात्मक प्रभाव हाम्रो युवाशक्तिमा पर्न गइरहेका छन् आर्थिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा ? यो संवेदनशील विषय भइरहेको छ । किनभने नेपाली मानवशक्ति (युवाहरू) बाध्यतावश विदेशमा खिचिने अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूचाहिँ नेपालको गाउँघर पुगी विभिन्न आयोजनाका माध्यमबाट जातीय भेदभाव चर्काई समस्या चर्काइदिने । धर्म-संस्कृतिबारे अनावश्यक हस्तक्षेप गरी आफ्नो विचार लाद्ने प्रपच्च भइरहेको गुनासो जनतामा नरहेको छैन ।
नेपाली सीप र जाँगर नबुझे नेपालको रहनसहन, परम्परा, रीतिस्थिति नबुझेकाहरूबाट के-कस्तो विचार वा प्रविधि हाम्रा लागि उपयुक्त होलान् र । वस्तुत: नेपालको विकास नेपाली विचारबाटै हुने हो । एकथरीले डलरलाई नै विकास सम्झेको होला त्यो अर्कै कुरा हो । एउटा प्रसङ्ग यहाँ उल्लेख गर्न आवश्यक छ । राणाशासनकालको कुरा हो, हाम्रा युवा कृषकलाई कृषि प्रविधि सिकाउन भनी जापानबाट एक कृषि विशेषज्ञ काठमाडौं आएछन् र उनले ठिमीका किसानलाई प्रशिक्षण दिने अठोट गरेछन् । निज विशेषज्ञ सँगै ठिमीका किसानले ब्याड (चकला) बनाई खेती सुरु गर्दा उही बिउ, उही मलले उति नै जग्गामा बढी फलाई स्तरीय (गुणात्मक) देखाइदिएकोबाट जापानी विशेषज्ञ प्रभावित भई भनेछन्, ‘नेपालका किसानलाई सिकाउनुपर्दो रहेनछ’ भनी आफ्नो देश फर्केको कुरा लेखकले पूर्वजबाट सुनेको हो । के विदेश स्याउभन्दा स्वदेशी नास्पाती झन् मीठो हुँदैन र नपत्याउनु ?
०६७।१।१० को कान्तिपुर पत्रिकामा प्रकाशितअनुसार पनि कर्णाली भेगहरूमा फल्ने आलु, कोदो, फापर, सिमीजस्ता सुरक्षित स्थानीय खानेकुरालाई कसरी फलाउने ? भन्ने नसिकाएको डा. अरुण उप्रेतीको विश्व खाद्य सङ्गठनलाई त नेपाल बस्नु छ, त्यसैले उसले नभएको समस्यालाई पनि छ भनी देखाउँछन् भन्ने गुनासोसमेतको प्रतिक्रिया पढियो । उनको भनाइ यो पनि रहेछ, उनीहरू (आईएनजीओका प्रतिनिधिहरू) त ‘तपाईंहरू कर्णालीवासीको हालको सीप, जाँगर खानेकुरालाई विस्थापित गर्दै छन्’ भन्ने पनि रहेछ ।
आईएनजीओको अगुवाइभन्दा हामै्र राष्ट्रिय शिक्षा सेवाजस्ता कुरा नै जारी राख्न सकेको भए त्यो नै नेपालको माटो सुहाउँदो र व्यावहारिक पनि हुन्थ्यो होला । यसविपरीत युवाहरूलाई बिदेसिन बाध्य पारिँदा देशको स्वाभिमान कायम राखी अस्मिता जोगाउने कसरी – प्रश्न संवेदनशील छ । के हाम्रा जिम्मेवारहरूले उत्तर दिन सक्नुपर्ने होइन ?
-दामोदर पौड्याल झम्सीखेल-२, ललितपुर