मुलुकलाई दुर्लभ प्रधानमन्त्री उपहार-ऋषि धमला

मुलुकलाई दुर्लभ प्रधानमन्त्री उपहार-ऋषि धमला


एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेका छन् । नेपाली इतिहासमा एउटा बौद्धिक, लोकप्रिय, व्यवस्थापकीय क्षमताले भरिपूर्ण अनि मुलुकको समस्यालाई सही र वस्तुगत ढङ्गले बुझेको नेता प्रधानमन्त्री भएको यो दुर्लभ अवसर हो । हेक्का रहोस्, डा. बाबुरामलाई भावी प्रधानमन्त्री भनेर पहिलोपटक घोषणा गर्ने काम पङ्क्तिकारले नै गरेको थियो, जो दश वर्षपछि आएर यथार्थमा परिणत भएको छ ।
सन्दर्भ ०५९ साल असोजको हो । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई ‘अक्षम’ भन्दै बर्खास्त गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे । राजाको प्रत्यक्ष शासनको प्रारम्भिक त्यो क्षणमा मुलुकमा हिंसात्मक विद्रोह झन् चरि्कयो । पछि माओवादीले राजासँग सोझै वार्ता गर्ने निर्णय गरे । जसअनुसार विभिन्न मध्यस्थकर्तामार्फत माओवादीले राजाका प्रतिनिधिसँग वार्ता गर्न पाँच सदस्यीय वार्ताटोलीलाई काठमाडौंमा पहिलोपटक सार्वजनिक गर्‍यो । माओवादी वार्ताटोलीका संयोजक थिए डा. बाबुराम भट्टराई । अन्य सदस्यमा रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देव गुरुङ र अग्नि सापकोटा थिए ।
वार्ताकै क्रममा रिपोर्टर्स क्लब नेपालको पाँचौँ वार्षिकोत्सव मनाउन हामीले अहिले संविधानसभा भवन रहेकै सभाकक्षमा विशेष कार्यक्रमको आयोजना गर्‍यौँ । जुन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र माओवादी जनसरकार प्रमुख डा. बाबुराम भट्टराईलाई प्रमुख अतिथिका रूपमा डाकेका थियौँ । सो कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरू, मुुलुकभरका हरेक तह र तप्काका प्रबुद्ध वर्गको सहभागिता थियो । सोही कार्यक्रममा पहिलोपटक एउटै मञ्चमा उपस्थित भएर राज्य र विद्रोही पक्षका सरकार प्रमुखहरूले हात मिलाए । त्यसको निकै चर्चा भयो । कट्टरपन्थीहरूले विद्रोही नेता र प्रधानमन्त्रीलाई एक ठाउँमा ल्याएर आपत्तिजनक काम गरेको आरोप लगाए भने लोकतन्त्र र शान्तिका पक्षपातिले त्यसलाई शान्तिको पक्षमा कोसेढुङ्गो बताए ।
सोही कार्यक्रममा मन्तव्य प्रकट गर्ने क्रममा पङ्क्तिकारले डा. बाबुराम भट्टराईलाई भावी प्रधानमन्त्रीको संज्ञा दिएको थियो । पङ्क्तिकारले भनेको थियो, ‘हेर्द जानुहोला, आजबाट मुलुकमा नयाँ इतिहास लेखिन प्रारम्भ भएको छ । माओवादी जनसरकार प्रमुख बाबुराम भट्टराई चाँडै नै यो मुुलुकको प्रधानमन्त्री बन्नुहुनेछ ।’ जुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हजारौँ प्रबुद्ध व्यक्तित्वअगाडि जसलाई भावी प्रधानमन्त्रीको रूपमा विश्लेषण पङ्क्तिकारले गरेको थियो, तिनै व्यक्ति डा. बाबुराम भट्टराई आज त्यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सोही सभाकक्ष -जुन अहिले संविधानसभामा परिणत भएको छ)बाट प्रधानमन्त्री निर्वाचित भएका छन् । दश वर्षअघिको पङ्क्तिकारको उद्घोष आज वास्तविकतामा परिणत भएको छ ।
डा. बाबुराम भट्टराई र रिपोर्टर्स क्लब नेपालबीच आत्मीय सम्बन्ध गाँसिएको छ । शान्तिप्रक्रिया सुरु भएपछि पहिलोपटक उहाँलाई साक्षात्कारमा बोलाउँदा उहाँले एउटा सर्त राख्नुभएको थियो, ‘म संविधानसभा निर्वाचन सम्पन्न भई गणतन्त्र घोषणा भएपछि मात्र साक्षात्कारमा आउँछु ।’ नभन्दै गणतन्त्र घोषणालगत्तै उहाँ साक्षात्कारमा आउनुभयो । उहाँ धेरैपटक रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आउनुभएको छ । पछिल्लोपटक साक्षात्कारमा बोलाउँदा उहाँले भन्नुभएको थियो, ‘म अब प्रधानमन्त्री भएपछि मात्र आउँछु ।’ अहिले उहाँ साँच्चै प्रधानमन्त्री बन्नुभएको छ र रिपोर्टर्स क्लब उहाँको प्रतीक्षामा छ ।
डा. बाबुराम भट्टराईलाई पङ्क्तिकार वस्तुवादी, यथार्थवादी र प्रगतिशील राजनीतिक नेताका रूपमा विश्लेषण गर्छ । अर्थमन्त्रीका रूपमा सर्वाधिक कर सङ्कलन गरेर डा. भट्टराईले आफ्नो क्षमता देखाइसक्नुभएको हो । उहाँको शालीन र शिष्ट व्यवहार, समस्याको चुरोमा पुगेर विश्लेषण गर्ने र समाधान खोज्ने क्षमता, मृदुभाषी अनि सादा जीवन उच्च विचारबाट धेरै प्रभावित छन् । माओवादीइतरका नेता तथा कार्यकर्तामा समेत डा. बाबुरामको क्रेज छ । मत र्सर्वेक्षणहरूले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री भएको हेर्न चाहने प्रतिशत अधिक देखाएको थियो । हुन पनि विरोधी धारमा पनि लोकप्रिय निकै कम नेतामा पर्छन् बाबुराम । उनले कम्युनिस्ट आन्दोलनका असफलताहरूबाट पाठ सिकेर ‘एक्काइसौँ शताब्दीको जनवाद’ नामक विचार अगाडि ल्याएका छन् । उनको मान्यता छ, ‘जनवादी राज्यसत्ता स्थापना नहुन्जेलसम्म लोकतान्त्रिक गणतन्त्रलाई नै संस्थागत गर्नुपर्छ । किनकि, पुँजीको चरम विकास भएपछि मात्र समाजवादतर्फ सङ्क्रमण गर्न सकिन्छ । पुँजीको विकासका लागि बर्ुर्जुवा गणतन्त्रकै विकास गर्नुपर्छ ।’
बाबुरामको अगाडि अहिले धेरै चुनौती र सँगसँगै सम्भावना पनि छन् । काँडाको बीचमा उभिएर आफ्नो यात्रा सुरु गर्न लाग्नुभएका उहाँले पार्टीभित्र र बाहिर खासगरी नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई सरकारमा ल्याउन सक्नुभयो भने उहाँको यात्राले सगरमाथा चुम्न सक्छ । होइन भने उहाँले ३५औँ प्रधानमन्त्रीको रूपमा केवल सिंहदरबारको भित्तोमा तस्बिर झुन्ड्याउने काम मात्रै गर्न सक्नुहुन्छ तर म त्यो कल्पना गर्न पनि सक्दिनँ । बिहानले दिनको सङ्केत गर्छ भनेजस्तै उहाँले सुरुवात नै राम्रो गर्नुभएको छ । उहाँले नेपालमै निर्माण भएको मुस्ताङ गाडी चढेर, नेपाली कम्युनिस्ट आन्दोलनको मर्ूधन्य व्यक्तित्व पुष्पलालको सालिकमा माल्यार्पण गरी सीधै सिंहदरबार पुगेर पहिलाकै सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई स्वीकार गरेर सहमतिको आफ्नो अभियानलाई प्रस्ट बनाउनुभएको छ । साथै उहाँले पहिलो मन्त्रिपरिषद्को बैठकबाटै सबै राजनीतिक दललाई सहमतिका लागि सरकारमा आउन आह्वान गर्नुभएको छ । यो नेपाली राजनीति र उहाँको कार्यकालको आशलाग्दो सुरुवात हो । नेपाली जनताले उहाँबाट धेरै अपेक्षा गरेका छैनन् केवल दिगो शान्ति, लोकतान्त्रिक संविधान, सहमतिको राष्ट्रिय सरकार र आर्थिक क्रान्तिको अपेक्षा गरेका छन् । विषय उहाँमा उहाँको सार्वजनिक प्रतिबद्धतासमेत आइसकेको छ । अब हेर्न बाँकी छ उहाँले आफ्नो यो प्रतिबद्धतालाई कसरी पूरा गर्नुहुन्छ –
व्यक्तिगत स्वार्थ नभएको र इच्छाशक्ति भएको व्यक्तिले चाह्यो भने मुलुकमा जे पनि गर्न सक्छ- त्यो व्यक्ति डा. भट्टराई हुनुहुन्छ । जीवनमा सधैं पहिलो बन्दै आउनुभएका उहाँ यो तीन महिनाको अवधिको अग्निपरीक्षामा खरो रूपमा उत्रनुभयो भने मुलुकको कार्यकारी भूमिकाको परीक्षामा पनि उहाँ पहिलो नै हुनुभयो भने नेपाली जनताले सफल प्रधानमन्त्रीको रूपमा उहाँलाई सदासदा सम्भिmरहनेछन् ।
वैचारिक रूपमा डा. बाबुराम जति स्पष्ट छन्, आर्थिक रूपान्तरणमा पनि उनको भिजन प्रशंसालायक छ । पूर्व-पश्चिम र उत्तर-दक्षिण रेलमार्गको सुन्दर कल्पना गर्ने बाबुरामको आर्थिक भिजन लागू हुने हो भने मुलुकले चाँडै कायापलट गर्न सक्छ । तर, प्रधानमन्त्रीका रूपमा बाबुरामलाई बाहिर कतैबाट होइन, भित्रैबाट अप्ठ्यारा सिर्जना हुन सक्छन् । यदि माओवादी पार्टीभित्र बाबुरामको कार्यकाल सफल बनाउने इमानदार प्रयास भएमा मुलुकले बाबुरामका रूपमा दुर्लभ र बहुमूल्य प्रधानमन्त्री पाएकै मान्नुपर्छ । तर, राजनीति सरल रेखाबाट कहिल्यै अघि बढ्दैन । भर्खर कार्यकाल प्रारम्भ भएकाले बाबुरामलाई कालोबादलमा चाँदीको घेरा मान्न सकिन्छ । एउटा लोकतान्त्रिक, उदार, इमानदार, देशभक्त र सक्षम प्रधानमन्त्रीका रूपमा डा. बाबुरामको कार्यकाल सफल होस्, शुभकामना ।