बाबुरामको परीक्षा सुरु, पार्टीकै कारण सफल हुनेमा आशङ्का

बाबुरामको परीक्षा सुरु, पार्टीकै कारण सफल हुनेमा आशङ्का


मुलुकले सर्वाधिक आशा राखेका व्यक्ति लोकतन्त्र स्थापनाको पाँच वर्षपछि प्रधानमन्त्री बन्नुभएको छ । माओवादी पार्टीका नेता भए पनि सबै पक्ष र समुदायको आशा र भरोसाको केन्द्र बन्नुभएका डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुलाई देशले लोकतन्त्र स्थापनायताको एउटा उपलब्धिका रूपमा महसुस गरेको छ । तर, प्रधानमन्त्री बन्ने क्रममा उहाँले जे-जस्तो प्रकारको सम्झौता गर्नुपर्‍यो त्यसले भने उहाँको साख घटाउने सम्भावना बढाएको छ । प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवम् नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलसँगको प्रतिस्पर्धामा पृथक विचार धु्रवका मधेसकेन्द्रित दलहरूले बाबुरामलाई सहयोग गर्ने विश्वास गर्न धेरैले सकिरहेका थिएनन् । जनस्तरमा लोकप्रिय मानिएका नेता पौडेलसँग मधेसकेन्द्रित दलहरूको ‘केमेस्ट्री’ मिल्ने भएकोले पनि अन्ततः उनीहरूको समर्थन पौडेललाई प्राप्त हुनसक्ने अनुमान धेरैको थियो । तर, पौडेल स्वयम्लाई भने मधेसकेन्द्रित दलहरूको समर्थन प्राप्त हुनेमा विश्वास थिएन । तथापि उनीहरूको समर्थन पाउन उहाँले निकै परिश्रम भने गर्नुभएको थियो । डा. भट्टराईलाई समर्थन दिन मधेसी दलहरूले केहीअघि नै अठोट गरिसकेका र मतदानको दिन -भदौ ११ गते) भन्दा अगाडि नै मन्त्रिमण्डलको भागवण्डासमेत भइसकेको बताइन्छ ।
डा. भट्टराई मधेसी दलहरूको रोजाइमा पर्नुको केही महत्त्वपूर्ण कारणहरू देखिएका छन् । कतिपयले त्यसको कारण विदेशी शक्तिको इसारा पनि भन्ने गरेका छन् । तर, मधेसकेन्द्रित दलहरूको रोजाइमा बाबुराम पर्नुको कारण कसैको इसारा मात्रभन्दा पनि अन्य पक्षहरू नै महत्त्वपूर्ण देखिएका छन् । मधेसी दलहरूले उठाएका मुद्दाहरूमा काङ्ग्रेसभन्दा माओवादी उदार हुनु तथा माओवादीसँग सहकार्य गर्दा ‘राम्रा’ र धेरै मन्त्रालय आफ्नो भागमा पार्न पाउने कुराले उनीहरूलाई आकर्षित गरेको देखिन्छ । मधेसी नेताहरूमध्ये अधिकांश काङ्ग्रेस र एमाले छोडेर गएकाहरू छन्, जसले काङ्ग्रेस र एमालेसँग भन्दा अन्य पक्षसँगको सहकार्यमा ‘कम्फोर्ट’ महसुस गर्ने गरेका छन् । यिनै कारणले मधेसी दलहरू बाबुराम भट्टराईको पक्षमा गएको निष्कर्ष राजनीतिक विश्लेषकहरूले निकालेका छन् ।
बाबुराम भट्टराई माओवादी पार्टीको मात्र नेता भए पनि उहाँसँग अपेक्षा राख्नेमा माओवादी मात्र पर्दन । क्रान्ति-प्रक्रियामा रहेको माओवादी पार्टीले डा. भट्टराई सरकारप्रमुख हुँदा आफ्नो गन्तव्य यात्रा सजिलो हुने ठानेको अनुमान गरिन्छ । मोहन वैद्य किरण जो पार्टीका ‘हार्डलाइनर’ नेता मानिनुहुन्छ उहाँले भने बाबुरामबाट कम्तिमा छलकपट र कुनै प्रकारको धोखाधडी नहुने ठान्नुभएको बताइन्छ । देशले बाबुरामबाट शान्ति र संविधान निर्माणका पक्षमा परिणाममुखी काम हुने आशा राखेको छ । पार्टीले क्रान्तिको पक्षमा र देशले शान्ति एवम् संविधान निर्माणको पक्षमा राखेको आशा एकैपटकमा पूरा गर्न सम्भव देखिँदैन । दुई पृथक् गन्तव्य र धारको सन्तुलन मिलाउन बाबुराम कसरी समर्थ हुनुहोला उहाँको परीक्षा यसैमा हुने ठानिएको छ । क्रान्ति-प्रक्रियालाई सहयोग पुग्नेगरी काम हुँदा संविधान निर्माण र शान्ति स्थापना प्रक्रिया पूरा नहुने, शान्ति र संविधानको पक्षमा केन्द्रित रहँदा पार्टी नेतृत्व असन्तुष्ट र असहयोगी हुनसक्ने खतराबाट बाबुरामले आफूलाई कसरी जोगाउन सक्नुहोला, यो जिज्ञासा र प्रतीक्षाको विषय बनेको छ ।
मधेसकेन्द्रित दलहरूको डा. भट्टराईसँग बेग्लै अपेक्षा छन् । ‘राम्रा’ र धेरै मन्त्रालय प्राप्त गर्ने मधेसी चाहना त उहाँबाट एकप्रकारले पूरा भइनै सकेको छ, तर आत्मनिर्णयको अधिकारसहितको प्रदेश र राष्ट्रिय सेनामा मधेसीको बेग्लै जत्था प्रवेशको कुरा भने निकै जटिल मानिएको छ । प्रधानमन्त्री भट्टराई या माओवादी पार्टीले मात्र गरेको सम्झौताका आधारमा ती विषयको कार्यान्वयन हुन सम्भव छैन । काङ्ग्रेस र एमालेलगायतका दलहरू आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेश निर्माणको विपक्षमा रहिआएका छन् । त्यसैले मधेसीहरूको आकाङ्क्षा पूरा गर्न असम्भवप्रायः देखिन्छ । मधेसीहरूसँगको सहबासमा बाबुराम भट्टराई कस्तो पात्र ठहरिनुहुने हो यो पनि परीक्षा र प्रतीक्षाको विषय बनेको छ ।
सर्वसाधारण जनताको बाबुराम भट्टराईसँगको आशा दलहरूको भन्दा केही भिन्न छन् । उनीहरू बाबुरामलाई राजनीतिको ‘रामवाण औषधि’ ठान्छन् । शान्ति र संविधानबाहेक जनधनको सुरक्षा, विकास, उन्नति, प्रगति, भ्रष्टाचार नियन्त्रण, चुस्त जनमुखी प्रशासन र सरल एवम् सहज दैनिक जीवन बनाउन बाबुराम भट्टराईले योगदान दिनुहुने विश्वास जनसाधारणले गरेका छन् । समग्रमा बाबुरामसँग मधेसकेन्द्रित दलहरू, माओवादी पार्टी र सर्वसाधारण जनताका अपेक्षा नितान्त बेग्लाबेग्लै देखिन्छन् । यी सबैको आकाङ्क्षा पूरा गर्नु भट्टराईका निम्ति फलामको च्युरा चपाउनुसरह हुने ठानिएको छ । विद्यमान परिस्थितिमा डा. बाबुराम प्रधानमन्त्री नभइदिए हुन्थ्यो भन्ने चाहना भट्टराईका शुभचिन्तकहरूको थियो । धेरै शुभेच्छुकले उहाँलाई भेटेर पनि
अहिले प्रधानमन्त्री नबन्न सुझाव दिएका थिए । देशमा केही गरेर देखाउन सक्ने अवस्था नरहेको र माओवादी अध्यक्ष प्रचण्डबाट पनि असफल पार्ने षड्यन्त्र हुनसक्ने भन्दै शुभेच्छुकहरूले भट्टराईलाई त्यस किसिमको सुझाव दिएको बताइन्छ । भट्टराईले सरकारको नेतृत्व सम्हाल्नुभएपछि प्रचण्डले कुनै न कुनै किसिमले मोहन वैद्य किरणलाई आफ्नो कित्तामा तान्नुहुने अनुमान विश्लेषकहरूको छ । नारायणकाजी श्रेष्ठ पनि लामो समय ‘धोबीघाट अभियान’मा रहनुहुने विश्वास गरिएको छैन । रामबहादुर थापा बादल, सीपी गजुरेल र देव गुरुङजस्ता नेताहरू त बाबुराम भट्टराईसँग त्यसै पनि कहिल्यै नजिक रहेका होइनन् । त्यसैले अन्ततः बाबुरामलाई सहयोग गर्ने पक्षमा पार्टीका केही युवा नेताहरू मात्र रहने हुन् कि भन्ने देखिएको छ । माओवादी पार्टीले संविधानसभाको कार्यकाल कम्तीमा ६ महिना थप गर्ने भनी लिएको निर्णयविपरीत डा. भट्टराईले झलनाथको प्रस्तावअनुरूप तीन महिना मात्र थप गराएको भन्दै एक थरीले पार्टीभित्र बाबुरामको निन्दा गर्न थालिसकेका छन् । यसर्थ बाबुराम असफल हुनुभयो भने उहाँकै पार्टी माओवादीका कारणले हुने सम्भावना ज्यादा देखिएको छ ।