गल्ती गऱ्यौ यार रवि !

गल्ती गऱ्यौ यार रवि !


■ डिल्ली अम्माई

आमा स्वास्थ्यलाभको लागि
अस्पतालको शैयामा पल्टेर
झन्डै करोड हुर्केलाहरू सम्झँदै
बररर आँशु झारिरहेको बेला
अनि
अब्यवस्थाको ज्वरोले
सरकार बर्बराइरहेको बेला,

कुहिरेले दिएको कागज च्यातेर
आमा सुस्ताएको शैयामा फर्कियौ
आरामका दिनहरू,
फोहरले ढाकेको कुहिरोमा
लुतो फाल्ने सपना देखेर
देश फर्कियौ,
गल्ती गऱ्यौ यार रवि !

राज्यमा पहुँच बनाएकाहरू
गज्जबको ब्रम्हजाल बुनिरहेको बेला
आफ्नो नेटवर्कमा क्याटवाक गर्दै
भ्रष्टाचारको राष्ट्रिय संजालमा
गोप्य मिटिङमार्फत
राज्यकै दोहन गरेर
माथिल्लो इशारामा
सम्पत्ति जोडीरहँदा
तिम्रा क्यामराले डिस्टर्ब गरे रे !
ठाउँ–ठाउँमा अवरोध पुऱ्याए रे !
तिमी गणतन्त्रको महकमा बाधक
अनि उनीहरूको आनन्दमा घामड भयौ रे !
कस्तो बेलामा तिमी आयौ ?
गल्ती गऱ्यौ यार रवि !

राज्य सबल भैदिएको भए
अफ्रिका र अरबका कुना–कुनामा
बेचिएका चेली खोज्न राज्य पुग्थ्यो
सरकार परोपकारी भैदिएको भए
दुर्गम बस्तीका निरिह नेपालीहरूबीच
बाँच्ने आशाको अगुवा बनेर
अभिभावकत्व दिन राज्य पुग्थ्यो
नक्कली डाक्टरहरूले सुत्केरीको पेट चिरेर
पेटभित्र कैंची बिर्संदा
अनि दुर्गम बस्तीहरूले दबाई नपाई
गणतन्त्र सम्झेर रुँदै गर्दा
गरीव बचाउन राज्य पुग्थ्यो

र,
नागरिक शरीरको मूल्यमा
नागरिक अधिकारको फूलले
तिमीलाई झैँ उनीहरूलाई जेलमा कोच्दै
राष्ट्रिय धुन बजाउँथ्यो
तर विडम्बना !
जहाँ राज्य पुग्न सकेन
त्यहाँ तिमी पुग्यौ
जहाँ भ्रष्टहरूको उन्नतिमा
सम्पूर्ण नेतृत्वले संजाल बनायो
नागरिक लुट्ने म्यानपावरदेखि
देश लुट्ने सिन्डिकेट
कर्मचारीहरूको घुसखोरी
रेमिट्यान्स लुट्ने सुविधा
नियमित कालो धनको धारो
खर्चको आपूर्ति,
तस्करी र दलालहरूको च्यानल
सबै तिर रवि पुगेको देखेर
सरकारको तलमाथि
सबै तिर्मिरायो
उनीहरूको काममा बाधा हाल्न
उतै नबसी फर्कियौ
गल्ती गऱ्यौ यार रवि !

तिम्रा मान्छेहरू
डरमर्दो छेस्को बोकेर पुगे
अँध्यारा छिँडीहरूमा भैरहेका
रकमी बैठकहरूमा
आवाजहरू खिच्यौ अरे
अफ्रिका र अरबमा
रखैल बनाउन पठाएका
सयौं हाम्रा दिदी–बहिनीहरू
बीच बाटोबाटै फर्कायौ अरे !

नाका र एयरपोर्टमा
चलिरहेको गोरे धन्दा
र तस्करीमा तिमीले च्यालेन्ज दियौ
कमान्डरका छोरी–बुहारी
हारेको चुनाव जिताइँदा
मतपत्र च्यातिँदा होस् वा
बेथितिले गरिब न्याकिँदा होस्
सुप्रिमहरूको बेइज्यत गऱ्यौ रे !
ठाउँका ठाउँ लाजमर्दो बनायौ रे !
अधिकारीहरूको बदनियतमाथि
निरन्तर बम बर्सायौ रे !
उपल्लो मार्कामा निर्माण गरिएका
संगठित रकमको कालोबजारीमा
दिनदहाडै माइन बिच्छायौ रे !

शुरुमा तिमीलाई नगर यसो भनेर
सम्झाउन खोजिएको हो रे
भनेको मान्दै मानेनौ रे !
आरोप छ,
‘तिम्रो पत्रकारितामा दम पुगेन रे
तिम्रो खोजीमा गम पुगेन रे
भ्रष्टहरूको खोपीमा
तिम्रा क्यामराका छर्रा
अनि सेफमा बारुद ? ’

सुनिँदै छ भाइ,
‘अब तिमीमाथि खनिने दिन शुरु भो
मानेनौ भने
अर्को काण्ड रचेर भए पनि
तिमीलाई जेलमा कोच्नैपर्ने भो
वा भौतिक सफाया
चितवन त कास्टिङ हो रे !
रकमदेखि देश मिलानसम्मको चाहनामा
तिम्रो हाछ्युं पत्रकारिता
लिलाम गरिदिने नेताको मूल्य
चौपट हुने देखेर
राजनीतिभित्रको फोहरी खेल
यो त सुझाव मात्र हो रे !’
गणतन्त्रविरोधीझैँ देखाएर
पुनरुत्थानवादी जस्तो रङ पोतेर
तिमीमाथि भीषण आक्रमण हुँदैछ
तयार भएर बस
सतीको आशु झरेको मुलुक फर्कियौ
गल्ती गऱ्यौ यार रवि !