जापानको रक्षा बजेट ५० अर्ब अमेरिकी डलर

जापानको रक्षा बजेट ५० अर्ब अमेरिकी डलर


जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकु विमान र क्षेप्यास्त्र प्रणालीसमेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ ।

जापानको यो प्रतिरक्षा बजेट गत वर्षकोभन्दा करिब १.२ प्रतिशत बढी हो । तर, जापानले विगत आठ वर्षदेखि लगातार रक्षा बजेटमा वृद्धि गरिरहेको छ ।

जापानले अमेरिकासँग ६ वटा अत्याधुनिक एफ३५–बी लडाकु विमानको खरिदका साथै सामरिक महत्वका युद्धपोतको सुदृढीकरणमा खर्च गर्नेछ ।

उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण र आणविक कार्यक्रम अघि सारेको भन्दै प्रधानमन्त्री सिन्जो आबेले जापानको सैन्य क्षमता बढाएका छन् । साथै चीन र रुसले जापानी समुद्र आसपास सैनिक गतिविधि बढाएका कारण पनि जापानले आफ्नो प्रतिरक्षा बजेट वृद्धि गरेको हो ।

प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष जापानको सैनिक क्षमता सुदृढ गर्न पटकपटक प्रस्ताव गरेका छन् । दक्षिण कोरियाले जापानसँग सैनिक गुप्तचर सूचना आदानप्रदान गर्ने पुरानो सम्झौता खारेज गरे पनि यसले जापानी सैन्य सुदृढीकरणलाई कुनै असर नगर्ने जापानी अधिकारीहरूले बताएका छन् ।

जापानको रक्षा मन्त्रालयले पछिल्लो अवस्थामा जापानी सैनिक क्षमतालाई अन्तरिक्ष, साइबर र विद्युत–चुम्बकीय समेतका क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।