संस्कृतिविद् राई र सितिमीलाई दिलकुमारी पुरस्कार

संस्कृतिविद् राई र सितिमीलाई दिलकुमारी पुरस्कार


गीतकारद्वय दिदीभाइ सरिता चाम्लिङ ‘नाना’ र टीका चाम्लिङसमेतका ममतामयी आमा स्व. दिलकुमारी चाम्लिङ राईको स्मृतिमा परिवारजनद्वारा स्थापित ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’ संस्कृतिविद् तथा लेखक डा. भक्त राई र चाम्लिङ भाषाको मासिक पत्रिका ‘सितिमी’का लागि प्रकाशक तथा सम्पादक तिलक चाम्लिङलाई प्रदान गरिएको छ । डा. राईले संस्कृतिका क्षेत्रमा र चाम्लिङले मातृभाषा साहित्यको जगेर्नामा उल्लेखनीय योगदान दिएवापत पुरस्कृत गरिएको हो ।

बिहीबार (१२ भदौ) बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा आयोजित समारोहमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले राईद्वयलाई जनही पच्चिस हजार नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले दिवंगत भएकी आफ्नी ममतामयी आमाको स्मृतिमा पुरस्कार स्थापना गरेर चाम्लिङ परिवारले उदाहरणीय काम गरेको बताउनुभयो । ‘यस्तो कार्यले दिवंगत भएका आफन्तको आत्माले शान्ति पाउँछ र उहाँहरूको स्मृति अमर रहन्छ ।’

नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा भएको कार्यक्रमा दिलकुमारीका जेठा छोरा टीका चाम्लिङले आफ्नी आमा सिलिमोमाका साथै लोकशिल्प र कलाकी ज्ञाता भएकोले पनि मातृभाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस पटकचाहिँ दुई वर्षको पुरस्कार एकैचोटि प्रदान गरिएको हो ।’

कार्यक्रममा वरिष्ठ कवि जसराज किराती र मुन्दुुमविद् भोगिराज चाम्लिङले पुरस्कृत प्रतिभाका बारेमा प्रकाश पार्नुभएको थियो भने स्व. दिलकुमारीका भाइ चन्द्र चाम्लिङ राई र घनश्याम चाम्लिङ राईले दिलकुमारी चाम्लिङका बारेमा बताउनुभएको थियो । कार्यक्रम कवि मनिषा चाम्लिङले सञ्चालन गर्नुभएको थियो ।