कवि बल र चापागाईं युवा वर्ष मोती पुरस्कारबाट सम्मानित

कवि बल र चापागाईं युवा वर्ष मोती पुरस्कारबाट सम्मानित


नेपाली साहित्यमा श्रृंगारिक धारको आरम्भकर्ता मानिन्छ मोतीराम भट्टलाई । छोटो समय बाँचे पनि नेपाली भाषा र साहित्यको प्रबद्र्धनमा उनको ठूलो योगदान छ । उनै श्रष्टाको सम्मानमा स्थापित युवा वर्ष मोती पुरस्कारबाट यसपटक काभ्रेका स्रष्टा फूलमान बल र धनकुटाका शंकर चापागाई (धनकुटे कान्छा) सम्मानित भए ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औं जयन्तीको अवसरमा गत शुक्रबार संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे । नेपाली शिक्षा परिषद्द्वारा आयोजित समारोहमा कवि बल र चापागाईले संयुक्त रुपमा ५० हजार रुपैँया र स्वर्णपदक पाए ।

राष्ट्रिय युवा सेवा कोषले २०४२ बाट दिँदै आएको पुरस्कार यस वर्ष बल र चापागाईंले पाएका हुन् । कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा साहित्यको प्रवद्र्धनका लागि मोतीरामको जस्तै कार्य गर्ने प्रतिभालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको जानकारी दिए । कोषका महासचिव लक्ष्मण थापाले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जनाए ।

सो अवसरमा यसै वर्ष दिवंगत भएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलन समेत गरिएको थियो ।

स्वर्गीय कवि लेखकहरुको सामूहिक जयन्ती समस्यापूर्ति कविसम्मेलन तथा युवावर्ष मोती पुरस्कार प्रदान समारोह भाद्र १३ गते कुशेऔंसीका दिन सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा भएको थियो । जुरेली चरीको समस्यापूर्ति कविगोष्ठीमा भाग्यशाली अधिकारी, अरुण नदी खत्री, प्रा.डा. गार्गी शर्मा, डा. गोपाल भण्डारी, रमेश खकुरेल, भुवनहरि सिग्देल, शान्ता सापकोटा, डा. भुपहरि पौडेल, प्रमोद स्नेही, विजयराज न्यौपाने, चन्द्रवदना घिमिरे लगायत विभिन्न कवि एवं कवयित्रीहरुले आ–आफ्नो समस्यापूर्ति पढेर सुनाएका थिए । डा. बमबहादुर थापा जितालीले कविगोष्ठी संचालन गर्नु भएको थियो । रमा शर्माको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी हुनुहुन्थ्यो भने कार्यक्रम भीमबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।