ट्रम्पद्वारा चिनियाँ सामानमा नयाँ कर लागू

ट्रम्पद्वारा चिनियाँ सामानमा नयाँ कर लागू


विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासबीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्त राज्य अमेरिकाले आइतबारदेखि लागू हुने गरी चिनियाँ सामानको आयातमा नयाँ करहरू लागू भएको घोषणा गरेको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब तीन सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाइ गर्न नसकिने बताएका थिए । उनले संवाददाताहरूलाई भनेका थिए, ‘घोषित करवृद्धि लागू हुन्छ, यो रोकिँदैन ।’

नयाँ करहरू खाद्यसामग्री, खेलकुदका सामान, संगीत सामग्री र फर्निचरसमेतका दैनिक उपभोगका सामानमा करवृद्धि गरिएको छ । वासिंटनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्युटका अर्थशास्त्रीहरूले अमेरिकाको पछिल्लो कदमले करिब ११२ अर्ब अमेरिकी डलरबराबरका सामानमा असर पार्नेछ ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकातर्फ निकासी हुने कुल ५४० अर्बबराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुनेछ ।

ट्रम्पको घोषणापछि यसै महिनाको शुरुमा बेइजिङले पनि अमेरिकी सामानमा करवृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलरबराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।

सयौँ अमेरिकी कम्पनी र व्यावसायिक समूहहरूले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरूको विचारमा करवृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरिद गर्ने सामान महँगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

तर, शुक्रबार राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताए । ‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरूको व्यवस्थापन पनि कमजोर छ,’ उनले भने ।

चिनियाँ सामानमा करवृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले करवृद्धि सँगै चीनसँग वार्ता पनि हुँदै जाने बताए । ‘हामीले चीनसँग कुराकानी गरिरहेका छौँ । वार्ताका लागि मिति तोकिएको छ । एक–अर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ताहरू रद्द भएका छैनन् । हेरौँ के हुन्छ,’ उनले भने ।

राष्ट्रपतिले व्यापारयुद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए । उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन् ।

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । अमेरिकी कुल गार्हस्थ उत्पादनमा उपभोग्य वस्तुले ७५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।