कारागारमा हवाई हमला हुँदा ५० भन्दा बढी बन्दी मारिए

कारागारमा हवाई हमला हुँदा ५० भन्दा बढी बन्दी मारिए


यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सातपटक हवाई कारबाही गरिएको जनाएको छ । यसक्रममा ५० जना मारिएका र सयभन्दा बढी घाइते भएका छन् । मन्त्रालयले घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धारको कार्य भइरहेको जनाएको छ । घाइतेको अवस्था अत्यन्त नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

यहीबीच, हुथी समूहद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले धमार प्रान्तस्थित सामुदायिक कलेज परिसरभित्र रहेको युद्ध बन्दीगृहको बीभत्स दृश्य प्रसारण गरेको थियो । यो स्थानमा अन्तर्राष्ट्रिय रेडक्रसका पदाधिकारीले पनि बेलाबखत भ्रमण गरिसकेका थिए ।

रेडक्रसका अनुसार यो युद्ध बन्दीगृहबारे रेडक्रस र साउदी गठबन्धन दुवैलाई राम्रोसँग थाहा थियो । हुथीका अनुसार सरकार पक्षबाट धेरै युद्ध लडिसकेका झन्डै १७० जना सैनिक केही महिनादेखि उक्त अस्थायी कारागारमा बन्दी बनाएर राखिएको थियो ।

साउदी गठबन्धनले भने धमारमा हुथी समूहका केन्द्रहरूलाई लक्षित गरी हवाई कारबाही गरिएको दाबी गरेको छ । साउदीले हुथीले लुकाएर राखेका हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली र ड्रोन भण्डारण केन्द्रहरूमा आक्रमण गरेको बताएको छ ।

धमार राजधानी सानाबाट करिब सय किलोमिटर दक्षिणमा रहेको छ । धमार र सानासहित उत्तरी प्रान्तहरूमा हुथी विद्रोहीले सन् २०१४ देखि नियन्त्रण कायम गरेका छन् । यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडी र उनको सरकारलाई सानाबाट हुथी विद्रोहीले विस्थापित गरेका छन् ।

साउदी अरेबियाले इरानसमर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् ।