लण्डन ग्रीनवीचमा नेपालीबीच स्वास्थ्य सर्वेक्षण

लण्डन ग्रीनवीचमा नेपालीबीच स्वास्थ्य सर्वेक्षण


UKNFS_logoलण्डन / यूके नेपाल मैत्री समाजको पहलमा लण्डनको रोयल बरो अफ ग्रीनवीच क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका स्वास्थ्य समस्याबारे जानकारी लिने उद्देश्यले एउटा सर्वेक्षण गर्न लागिएको छ। यही मे २२ तारिखदेखि ३१ तारिखसम्म प्लमस्टीड, उलवीच र चार्ल्टनका झण्डै तीनसय नेपाली घरपरिवारमा उक्त सर्वेक्षण गरिने आयोजकहरुले जनाएका छन्।
बर्नमाउथ विश्वविद्यालयको स्कुल अफ हेल्थ एण्ड सोसल केयर तथा बिग लटरी फण्डसंगको साझेदारीमा गर्न लागेको उक्त सर्वेक्षणमा १८ वर्ष नाघेका नेपाली जनसमुदाय, सामुदायिक नेता, स्वयमसेवकहरु, स्थानीय जीपी तथा सामाजिक कार्यकर्ताहरुसंग पनि अन्तरवार्ता गरिनेछ। यसबाट लण्डनमा बसोबास गर्ने नेपाली समुदायका स्वास्थ्य समस्याहरुबारे जानकारी प्राप्त हुने तथा त्यस्तो सूचना विश्लेषण गरी प्राप्त जानकारी सम्बन्धित निकायमा पठाइने पनि बताइएको छ।
“बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रमुख स्वास्थ्य समस्या के के हुन् ? यहाँ उपलब्ध स्वास्थ्य सेवा प्राप्त गर्न नेपाली समुदायले के कस्ता समस्या भोग्नुपरिरहेको छ ? उपलब्ध स्वास्थ्य सेवाबारे उनीहरुको ज्ञान र अनुभव कस्तो छ ? भन्ने जस्ता प्रश्नहरु सर्वेक्षणमा गरिनेछन्। यसबाट नेपाली समुदायलाई लक्षित गरी स्वास्थ्य सेवामा पहुँच बढाउन सम्बन्धित निकाय तथा विभागको ध्यानाकर्षण गर्न सजीलो हुनेछ,” सर्वेक्षणको नेतृत्व गरिरहेकी जनस्वास्थ्यविद् डा विभा सिम्खडाले भन्नुभयो।
त्यस्तै सर्वेक्षणका अनुसन्धान सहायक एवम् फिल्ड कोअर्डिनेटर डा राजीव शाहले लण्डनमा पहिलोपटक गर्न लागिएको उक्त सर्वेक्षणमा सकृयरुपमा सहभागी हुन ती क्षेत्रहरुमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई आग्रह गर्नुभयो। “आफै सहभागी भएर तथा आफ्ना छिमेकी तथा साथीहरुलाई पनि सहभागी हुन लगाएर यो अभियानलाई सफल पार्न हामी हार्दिक आह्वान गर्दछौं,” उहाँले भन्नुभयो।
सर्वेक्षणमा प्राप्त जानकारी तथा सूचना ब्रिटेनको डेटा प्रोटेक्शन कानुन अनुसार गोप्य रहने र कुनै पनि व्यक्तिगत सूचना सार्वजनिक नगरिने भएकाले ढुक्क भएर आफ्ना समस्याहरु राख्नक आयोजक युके नेपाल मैत्री समाजले आग्रह गरेको छ। सर्वेक्षणकालागि घरदैलोमा आउने तालीमप्राप्त स्वयमसेवीहरुप्रति राम्रो व्यवहार गर्न र उनीहरुलाई सघाउन पनि समाजले अनुरोध गरेको छ।
यसबारे www.uknfs.org मा गएर थप जानकारी प्राप्त गर्न सकिनेछ।
-नरेश