बाह्र सय कर तिर्न दश हजार खर्च !

बाह्र सय कर तिर्न दश हजार खर्च !


खुद्रा पसल दर्ता गरेर रु. पाँच लाख पुँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उनले भनिन्, ‘व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु. एक हजार दुई सय कर तिर्न रु. १० हजार खर्च गर्नुपर्छ ।’

स्थायी लेखा नम्बर (पान) लिन र कर तिर्न सुर्खेत जानुपर्ने भएपछि उनीजस्ता सानो व्यवसाय गरी गुजारा चलाउनेका लागि निकै सास्ती भएको छ । यो क्षेत्रको आन्तरिक राजस्व कार्यालय सुर्खेत र जुम्लामा मात्र भएकाले जिल्लाका व्यवसायीलाई कर तिर्न सुर्खेत र जुम्ला जानुपर्छ । रु. २० लाखसम्मको पुँजी राखेर व्यवसाय गर्ने व्यापारीले नगर क्षेत्रभित्र भए रु. दुई हजार पाँच सय र गाउँपालिकाभित्र भए रु. एक हजार दुई सय ५० वार्षिक कर बुझाउनुपर्छ ।

बारेकोट गाउँपालिका–५ का प्रकाश गिरीले खुद्रा पसल सञ्चालन गरेका छन् । उनले रु. एक हजार दुई सय ५० कर बुझाउन सुर्खेत जाँदा रु. १० हजारभन्दा बढी खर्च भएको बताए । बैंकबाट वा जिल्ला सदरमुकाममा शाखा कार्यालय राखेर त्यहीँबाट राजस्व बुझाउने व्यवस्था मिलाउन सबैको आग्रह छ । उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले जिल्लामै कर बुझाउने व्यवस्था मिलाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । जिल्लाका तीन हजार व्यवसायी पानमा दर्ता भएका छन् ।