विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने चार जना पक्राउ

विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने चार जना पक्राउ


वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ४७ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–१ निवासी २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका–५ निवासी ५३ वर्षीय भगवतप्रसाद थारु, चितवन भरतपुर महानगरपालिका–४ निवासी ४० वर्षीया सरस्वती बारघरे तथा काठमाडौं महानगरपालिका–२९ निवासी ३७ वर्षीय विकास दाहाल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चौधरीले पोल्याण्ड पठाउने भन्दै रु २३ लाख, थारुले मकाउ पठाउने भन्दै रु पाँच लाख, बारघरेले क्यानडा पठाउने भन्दै रु तीन लाख ९२ हजार तथा दाहालले क्यानडा पठाउने भन्दै रु १६ लाख रकम असुलेका थिए ।

उनका अनुसार रकम लिएपछि उनीहरूले वैदेशिक रोजगारीका लागि विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका र सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा चारै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार (११ असार) वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।